Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
टिम वु
२०७५ फाल्गुण १ बुधबार ०९:०९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

अमेरिकी व्यापारमा चीनको अनलाइन सेन्सरसिप

चीनसँगको व्यापारमा ट्रम्प प्रशासन कठोर बन्न चाहन्छ भने चिनियाँ इन्टरनेट बजारमा अमेरिकाको प्रवेशको अर्थपूर्ण माग राख्न सक्नुपर्छ

Read Time : > 3 मिनेट
टिम वु
२०७५ फाल्गुण १ बुधबार ०९:०९:००

यतिवेला चीन र अमेरिका व्यापार युद्ध टुंग्याउन उच्चस्तरीय वार्तामा होमिएका छन् । तर, यस वार्ताको टेबलमा चिनियाँ इन्टरनेट बजारको विषय परेको छैन । चीनले गुगल, फेसबुक, विकिपेडियाजस्ता प्रमुख विदेशी प्रतिस्पर्धी अनलाइन कम्पनी, पिन्टरेस्ट र लाइनजस्ता प्रमुख जापानी मेसेजिङ कम्पनी तथा रेडिट र द न्युयोर्क टाइम्सजस्ता अमेरिकी समाचार संस्थाजस्ता हरेक ठूला संस्थालाई चीनले पूर्णतयाः प्रतिबन्ध लगाएको छ । बेलायती कार्टुन क्यारेक्टर ‘पेपा पिग’ तथा इन्टरनेट भिडियोमाथि पनि पटक–पटक सेन्सरसिप लगाउँदै आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक दैनिक पिपुल्स डेलीले एक अंकमा कार्टुनकी पेपा पिग पात्रले चिनियाँ बालबालिकालाई बर्बाद गर्ने खतरालाई औल्याउँदै चेतावनीपूर्ण सम्पादकीय नै छापेको थियो । 

आफूले लगाएको सेन्सरसिपलाई चीनले लामो समदेखि राजनीतिक मुद्दासँग जोडेर बचाउ गर्दै आएको छ । अस्वस्थ्यकर जीवनशैली तथा ‘पप कल्चर’ समाहित भएका हानिकारक सूचनाबाट चिनियाँ नागरिकलाई जोगाउन तथा उनीहरूको रक्षा गर्न वैधानिक कदमको रूपमा सेन्सरसिप प्रयोग गरिएको तर्क चिनियाँ सरकारको छ । तर, अन्तर्राष्ट्रिय व्यपारमाथि अत्यन्तै ठूलो अवरोध खडा गर्ने एउटा साधन सेन्सरसिप पनि हो भनी बुझ्न मुस्किल नहोला ।

विश्वको इन्टरनेट अर्थतन्त्र कम्तीमा पनि ८० खर्ब अमेरिकी डलरको छ, जुन निरन्तर बढ्दो छ । यद्यपि, चीनसँगको व्यापार वार्तामा ट्रम्प प्रशासनले मूलतः उत्पादन, प्रविधि हस्तान्तरण र कृषिजस्ता मुद्दालाई मात्र प्राथमिकताका साथ उठाएको छ । यिनै मुद्दामा मात्र केन्द्रित भएर चीनसँग सहमति खोज्ने प्रयास गरिरहँदा ट्रम्प प्रशासनले इन्टरनेट अर्थतन्त्रको पाटोमा आफ्नो दृष्टि पु-याउन सकेको छैन । 

देशभित्र अमेरिकी, जापानी तथा युरोपेली प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नु नपर्ने भएकाले विगतको दशकयता चिनियाँ इन्टरनेट बिजनेस व्यापक रूपमा मौलाएको छ । बजार मूल्यका आधारमा विश्वका सबैभन्दा ठूला २० इन्टरनेट कम्पनीमध्ये ९ वटा चिनियाँ कम्पनी छन् । चिनियाँ कम्पनीको यस्तो वृद्धिले चिनियाँ इन्जिनियरको सीप र सिर्जनालाई पनि प्रतिविम्बित गरेको छ, जुन ‘स्टार्टअफ कल्चर’मा आधारित छ । स्थानीय आवश्यकतालाई ध्यानमा राखेर सिर्जना गर्दा चिनियाँ बिजनेसले सफलता पाएका छन् । तर, यसो भनिरहँदा विदेशी कम्पनीमाथि चीनले लगाएको सेन्सरसिपले पनि चिनियाँ इन्टरनेट कम्पनीको वृद्धि–विकासमा मद्दत गरेको छ । 

वास्तवमा, विदेशी प्रतिस्पर्धामाथि रोक लगाउनुले आर्थिक परिणाम मात्र ल्याउँदैन, यसले अझ धेरै असर निम्त्याउँछ । अर्को अझ राम्रो विकल्प नहुँदा चिनियाँ प्रयोगकर्ताहरूले निजी मेसेजिङका लागि विच्याट एपको स्वामित्व लिएको टेन्सेन्ट कम्पनी र अनलाइन पेमेन्टका लागि एन्ट फाइनान्सियल कम्पनीलाई रोज्नैपर्ने बाध्यता छ । अनि, प्रयोगकर्ताको गोपनीयता र व्यक्तिगत विवरण दुरुपयोग गर्ने मामिलामा यी कम्पनी फेसबुक र क्याम्ब्रिज एनालिटिका (एनालिटिकाले झन्डै ९ करोड फेसबुक प्रयोकर्ताको व्यक्तिगत विवरण दुरुपयोग गरेको थियो) भन्दा पनि धेरै खतरनाक छन् । यसरी चिनियाँ सेन्सरसिपलाई अमेरिकाले सहँदा अन्य देशले त्यस्तै गर्नुपर्ने स्थिति छ ।

सन् २००१ विश्व व्यापार संगठनको सदस्य बन्दै गर्दा डाटा प्रोसेसिङदेखि दूरसञ्चार सेवासहितका व्यापार सेवालाई बृहत्तर उदारीकरण गर्न चीन सहमत भएको थियो । तर, चीनले अपनाएको इन्टरनेट नीतिले उसले व्यपार संगठनसँग गरेको प्रतिबद्धताको उल्लंघन गरेको छ । सार्वजनिक नैतिकता संरक्षण गर्न तथा सार्वजनिक सन्तुलन कायम राख्न यस्ता नीति आवश्यक रहेको तर्क पक्कै पनि चीनले गर्नेछ । जसलाई व्यापार संगठनको नियमको अपवादका रूपमा उसले व्याख्या गर्नेछ । जुवाडे इन्टरनेट साइट तथा पेपा पिगमाथि प्रतिबन्ध लागउने सन्दर्भमा चीनले भनेको अपवादको औचित्य प्रमाणित गर्न सकिएला, तर चीनले इन्टरनेटमा लगाएका अधिकांश रोकावटको वास्तविक उद्देश्य घरेलु व्यवसायिक स्वार्थको संरक्षण गर्नु हो । 

तर, अमेरिकाले परिवर्तनको किन माग गरिरहेको छैन भन्ने प्रश्न निकै चासोको विषय बनेको छ । अमेरिकाले यस्तो माग नगर्नुको अर्थ अमेरिकाको प्रभाव छैन भन्न भन्ने होइन । टेन्सेन्ट तथा अनलाइन रिटेलर जेडी डटकमजस्ता चिनियाँ कम्पनी आक्रामक रूपमा अमेरिका प्रवेश पनि गरे, त्यो पनि अमेरिकी खुला इन्टरनेट तथा बजारको फाइदा उठाउन ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सन् २०१६ मै चिनियाँ इन्टरनेट व्यापार बाधक बनेको वास्तविकतालाई बहसमा ल्याएको थियो । यसकारण, चीनमा अमेरिकी कम्पनीलाई व्यापार गर्न नदिने चिनियाँ कम्पनीलाई अमेरिकामा व्यापार गर्ने सुविधा किन दिने ? व्यापार नीतिको सिद्धान्त दुवै पक्षको पारस्परिक हितमा हुनुपर्छ । यसर्थ, चीनले व्यापार अवरोध जति कम गर्छ, अमेरिकाले पनि सोही मात्रामा चिनियाँ व्यापारका लागि अवरोध खुकुलो बनाउनुपर्छ । इन्टरनेट अर्थतन्त्रको मामिलामा अमेरिका एकतर्फी रूपमा नांगिएको छ भने यो मूर्खताको फाइदा चिनियाँ कम्पनीले उठाएका छन् । 

मुख्य अमेरिकी इन्टरनेट कम्पनीको प्रवृत्ति पनि बुझिनसक्नुको छ, जुन चिनियाँ इन्टरनेट व्यापार नीतिबाट पीडित भएको छ । सन् २०१० मा चिनियाँ सेन्सरसिप तथा जासुसीको भयले गुगल अमेरिकी बजारमा प्रवेश गर्नै सकेन । तर, केही समयसम्म चिनियाँ अवरोधबारे गुगलले केही प्रतिक्रिया दिएन पनि । गत वर्ष भने चिनियाँ मार्केटलाई इन्टरनेटमा सर्च गर्न आफूमाथि प्रतिबन्ध लगाइएका कारण चिनियाँ बजार प्रवेशका लागि हारगुहार गरेको पाइयो । यसैगरी, फेसबुकको अवस्था पनि सन्तोषजनक छैन । वर्षौंदेखि चीनमा फेसबुक प्रतिबन्धित भए पनि फेसबुकका प्रमुख मार्क जुकरबर्गले चिनियाँ बजारमा प्रवेशको मनसाय राखेर चिनियाँ राष्ट्रपतिको बारम्बार प्रशंसा गरेर आफैँलाई लज्जित बनाएका छन् । 

यसर्थ, कसैलाई खुसी बनाउने हिसाबले बनाइएको विदेश नीति वा व्यापार नीति प्रभावकारी हुन सक्दैन । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र तथा महत्वपूर्ण इन्टरनेट क्षेत्र भएको अमेरिकाले आफ्नो क्षमता र हैसियतका आधारमा वार्तामा बस्नुपर्छ । चीनसँगको व्यापारमा ट्रम्प प्रशासन कठोर बन्न चाहन्छ भने चिनियाँ इन्टरनेट बजारमा अमेरिकाको प्रवेशको अर्थपूर्ण माग राख्न सक्नुपर्छ । यसर्थ, चीनसँग भइरहेको व्यापार वार्तामा इन्टरनेटलाई अपवादको रूपमा हेरिनु र बुझिनु हुँदैन । यस्तो हुन नसके अमेरिकाले भविष्यमा व्यापार युद्ध हार्ने खतरा छ ।

लेखक अमेरिकाको कोलम्बिया विश्वविद्यालयको कानुन विषयका प्राध्यापक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य