मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार ०६:०३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२० लाख डोज कोभिसिल्ड खोप खरिद गर्दै सरकार

९३ करोड ६० लाख अग्रिम भुक्तानीको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ५ बुधबार ०६:०३:००

सरकारले भारतको कोरोना भाइरसविरुद्धको खोप उत्पादक कम्पनीको सर्तअनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको छ । भारतीय खोप उत्पादन गर्ने कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड खोप खरिदका लागि अग्रिम भुक्तानीको सर्त राखेको थियो । 

खोप खरिदका लागि करिब २० दिनअगाडि प्रक्रिया अघि बढे पनि अग्रिम भुक्तानीको विषयमा सहमति नबन्दा रोकिएको थियो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीको प्रस्तावबमोजिम नै खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । सेरमको सर्तअनुसार २० लाख डोज खोप खरिदका लागि करिब ९३ करोड ६० लाख रुपैयाँ खोप आउनुपूर्व नै पठाउनुपर्नेछ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले तत्काल सेरमसँग २० लाख डोज खोप खरिद गर्न लागेको बताए । खोप खरिदका लागि दुई अर्ब विनियोजन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सुरुमा प्रतिडोज साढे चार डलर मूल्य गरेको सेरमले नेपालको आग्रहलाई स्वीकार गर्दै चार डलरमा दिने निर्णय गरेको हो । 

तर, स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले औषधिजन्य सामग्री खरिद गर्दा ती सामान नेपाल आइपुगेपछि मात्र लागत रकम भुक्तानी गर्ने व्यवस्था रहेको बताए । उनले भने, ‘सेरमले अन्तिम समयमा आएर अग्रिम भुक्तानी माग गरेको थियो । नेपालको खरिद ऐनअनुसार कुनै पनि खोप, औषधिजन्य सामग्री खरिद गर्दा ती सामान नेपाल आइपुगेपछि मात्र लागत रकम भुक्तानी गर्ने व्यवस्था छ ।’ 

कोरोना भाइरसविरुद्ध प्रयोग गर्न अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेकोे कोभिसिल्ड खोप हाल भारतमा उत्पादन भइरहेको छ । कम्पनीले भुक्तानी गरेको दुई हप्ताभित्र खोप पठाउने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोभिसिल्डको प्रभावकारिता राम्रो पाएपछि सरकारले सोही खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्णयले अब स्वास्थ्य मन्त्रालयलाई खोप खरिद गर्न बाटो खुलेको छ ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप गत ८ माघमा भारतले १० लाख डोज नेपाललाई अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोपसेवा सञ्चालन भइरहेको छ । कोभ्याक्स सुविधाअन्तर्गतको २२ लाख डोज खोप तत्काल नआएका कारण पनि सरकारलाई खोप खरिदमा दबाब बढेको हो ।

सरकारले तीन चरणमा गरी ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । जसमध्ये २० प्रतिशतको जिम्मा कोभ्याक्स सुविधाले लिएको छ । अहिले कोभ्याक्स सुविधामार्फत पनि पहिलो चरणमा २२ लाख डोज खोप आउने सुनिश्चितता भएको छ । सेरमको खोप नेपालमा भण्डारण, ढुवानी सहज भएकाले सोही खोप उपलब्ध गराउने भएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपत्कालीन प्रयोगका लागि अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेकोे कोभिसिल्ड खोप सोमबार प्रयोगका लागि अनुमति दिएको छ । डब्ल्युएचओको स्वीकृतिसँगै कोभिसिल्डको खोप कोभ्याक्स सुविधामार्फत नेपाल ल्याउने बाटो खुलेको छ ।