१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण ४ मंगलबार १५:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डको दाबी– ओलीसँग भएकामध्ये ९० प्रतिशत सांसद पनि विघटनको विपक्षमा (भिडियोसहित)

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ४ मंगलबार १५:५५:००

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वका लागि पार्टी एकता गरे पनि प्रधानमन्त्री केपी ओलीका कारण उपलब्धि नै खतरामा पर्न लागेको बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारहरूसँगको अन्तक्रियामा प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेको औँल्याएका हुन् । 

‘हामीले विडम्बनापूर्ण स्थितिको सामना गरिरहेका छौँ, यो दुर्भाग्य हो । जसले गणतन्त्रको आन्दोलनमा यो हुनै सक्दैन भन्यो, त्यसको हातमा गणतन्त्रको नेतृत्व गयो । समावेशिता, समानुपातिक हुनुहुँदैन भन्ने मानिस नेतृत्वमा हुँदा जनतासँग गरिएको प्रतिबद्धता धरापमा परेको छ,’ प्रचण्डले भने, ‘ओली सुध्रिए होलान् भनेर एकता गरिएको थियो, तर उनी उस्तै रहेछन् ।’

सबै लोकतन्त्रवादी, संविधानका पक्षधर प्रतिनिधिसभा विघटनको विरुद्धमा रहेको उनले बताए । उनले भने ‘केपीको समूह बाहेक सबै दल, नागरिक समाज, मिडिया प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा एकमत छन् । जो नेपाल ट्रस्ट र नेपालीको हित चाहन्छन्, उनीहरू सबै प्रतिनिधिसभा विघटन सच्याउनुपर्छ भन्नेमा छन् ।’

ओलीसँग भएकामध्ये ९० प्रतिशत प्रतिनिधिसभा सदस्य पनि विघटनको विपक्षमा रहेको प्रचण्डको दाबी छ । ‘उहाँहरूलाई बोल्न गाह्रो भएको छ । गुटमा भएपछि अप्ठ्यारो हुँदोरहेछ । यद्यपि उहाँहरूलाई बर्बाद भयो, खत्तम पार्नुभयो, केपी ओलीले देश डुबाउनुभयो भन्ने चै भएको छ । घात भएको छ भन्ने सबैलाई नै लागेको छ ।’

अदालतले जनभावना र संविधानको मर्म बुझेर प्रतिनिधिसभा पुनर्स्थापना गर्ने प्रचण्डको विश्वास छ । 

बहुमतलाई सूर्य चिह्न 
प्रचण्डले आफू प्रधानमन्त्री हुनका लागि अहिलेको संघर्ष नभएको स्पष्ट पारेका छन् । ‘म प्रधानमन्त्रीको दाबा गरेर लडेको हाेइन । राष्ट्र र जनता, संविधान र लोकतन्त्रको निम्ति, धेरै लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति लडेको हो ।’ उनले संकट समाधान गर्ने विषयमा विपक्षी दलहरूसँग पनि कुरा गरिरहेको बताए । ‘मैले शेरबहादुरजी, रामचन्द्रजी र जसपाका नेताहरूसँग कुरा गरिराखेकै छु । केही समयभित्र संयुक्त आन्दोलन हुनेछ । असंवैधानिक र अलोकतान्त्रिक कदममार्फत अहिलेकै स्थितिमा चुनाव भए त्यो पनि अलोकतान्त्रिक र असंवैधानिक नै हुन्छ ।’ 

अहिलेको समस्यालाई चुनावले समाधान नगर्ने उनको दाबी छ । उनले भने, ‘अहिलेको समस्यालाई चुनावले समाधान गर्दैन । यदि चुनाव भएमा देश अराजकताको भुमरीमा फस्छ । दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुन्छ । संविधान मिच्ने, लोकतन्त्र मिच्ने काममा नेपाली चुप लागेर बस्दैनन् । कतै न कतैबाट आन्दोलनमा जान्छ ।’ यद्यपि आफू शान्तिपूर्ण आन्दोलनमा नै रहने उनले स्पष्ट पारे । 

उनले निर्वाचन आयोगले सूर्य चिह्न कसैलाई नदिने गरेर ‘फ्रिज’ गर्न नपाउनेसमेत बताए । ‘निर्वाचन आयोग आफैले ४ सय ४१ नै केन्द्रीय कमिटी हो भनेको छ । निर्वाचन आयोग कसैको गोटी हुँदैन । त्यसकारण आयोगले पार्टीको बहुमतलाई मान्यता दिनुपर्छ । र त्यही हुन्छ ।’