‘नाटकका सामान खोस्नु एकदमै मूर्ख कदम हो । त्यसो गर्नुको कुनै कारण थिएन । यहाँ कवि, कलाकार, बौद्धिक व्यक्तित्व थिए । यो दमनकारी
कदम हो ।’ - सञ्जीव उप्रेती प्राध्यापक तथा लेखक
‘माफिया’ लेखिएको बक्स ‘माफिया’ नै लेखिएको पम्प्लेटको टोपी लगाएका विद्यार्र्थीले कीर्तिपुरको पाँगा दोबाटोबाट घिसार्दै त्रिभुवन विश्वविद्यालय छिराए । शिक्षामा भएको निजीकरणको विरोधमा विद्यार्थी र नागरिक आन्दोलनका अभियन्ताले निजीकरणले शिक्षाबाट वञ्चित बनेका समुदायको पक्षमा नारा लगाउँदै थिए । आन्दोलनकर्मी पाँगा दोबाटो, कीर्तिपुर गेट, तिनकुने हुँदै टियूका उपकुलपति धर्मकान्त बाँस्कोटाको च्याम्बरमा पुग्दा सुरक्षाकर्मी तैनाथ भइसकेका थिए । उनीहरूले त्यहीँ नारा लगाए । तर, सुरक्षाकर्मी तैनाथ मात्रै थिएनन्, नाट्यकर्मी घिमिरे युवराजको टोलीले नाटक देखाउन तयार पारेको बुख्याचा खोसिसकेका थिए ।
नाटकका लागि तयार ‘बुख्याचा’ प्रहरीले लुकाएको विरोधमा नागरिक आन्दोलनकर्मीले चर्को नाराबाजी सुरु गरे । नाराबाजीकै बीचमा सुरक्षाकर्मीको गाडी आयो । गाडीबाट दर्जनभन्दा बढी सुरक्षाकर्मी हतियार र लाठीसहित थपिए । उपकुलपतिको अफिसअघि धर्ना दिन निस्केका आन्दोलनकर्मी सडकमै नाराबाजी गरिरहेका थिए । सुरक्षाकर्मीलाई प्रश्न गरिरहेका थिए, ‘अभिव्यक्ति स्वतन्त्रता र मौलक हकले के भनेको छ ? कुन अधिकार प्रयोग गरेर बुख्याचा लुकाउनुभयो ?’ सुरक्षाकर्मी भनिरहेका थिए, ‘त्यस्तो गरेको होइन ।’ टियूमै प्राध्यापन गराइरहेका प्राध्यापक बालकृष्ण माबुहाङले भने, ‘त्यो सामान के हो थाहा नपाउने कस्ता सुरक्षाकर्मी हुन्छन्?’
पछि ‘पुत्ला’ नजलाउने सर्तमा सुरक्षाकर्मीले ‘बुख्याचा’ फिर्ता दिए । तर, सुरक्षाकर्मी भनिरहेका थिए, ‘पुत्लाचाहिँ जलाउन पाइन्न ।’ सुरक्षाकर्मीको कदमबाट आक्रोशित बनेका प्राध्यापक तथा लेखक सञ्जीव उप्रेतीले भने, ‘नाटकका सामान खोस्नु एकदमै मूर्ख कदम हो । त्यसो गर्नुको कुनै कारण थिएन । यहाँ कवि, कलाकार, बौद्धिक व्यक्तित्व थिए । यो दमनकारी कदम हो ।’ सञ्जीव उनै व्यक्ति हुन्, जसले झन्डै तीन दशकसम्म त्यही टियूमा प्राध्यापन गराएका थिए ।
टियूमै प्राध्यापन गराइरहेका प्राध्यापक तथा अभियन्ता विजयकान्त कर्णले विश्वविद्यालयले के उत्पादन गरिरहेको छ, समीक्षा हुनुपर्ने बताए । भने, ‘दश वर्ष जनयुद्ध भयो, तर यहाँ केही भएन । हाम्रो विश्वविद्यालयको गलत पढाइकै कारण आज प्रहरीले गलत काम गरे । प्रहरी कानुनबाट निर्मित हो, कानुनबाटै निर्देशित हुनुपर्छ ।’
साथै ओलीलाई संविधानप्रति विश्वास नभएको कारण अहिलेको अवस्था निम्तिएको विजयकान्तको भनाइ थियो । टियूका विद्यार्थी संघर्ष दाहालले प्रहरीलाई लक्षित गर्दै भने, ‘विद्यालय शान्तिक्षेत्र हो । यो हाम्रो घर, आँगन हो । यहाँ तिम्रो केही चल्दैन । यो विश्वविद्यालयलाई ब्यारेक बनाउने कोसिस नगर्नु ।’
यसकारण प्रश्न उठ्छ टियूमाथि
चलचित्र निर्देशक नवीन सुब्बाले केहीअघि नयाँ पत्रिकालाई भनेका थिए, ‘त्रिभुवन विश्वविद्यालयका एकजना प्राध्यापकले भन्नुभयो, ‘म त मद्रासी फिल्म हेर्छु ।’ टियूको प्रोफेसरलाई समेत मद्रासी फिल्म मनपर्छ भने हाम्रो सौन्दर्य–चेतना कहाँ छ ? हाम्रो सौन्दर्य–चेतनामा कति ठूलो क्राइसिस छ भन्ने यहीँबाट प्रस्ट हुन्छ ।’
०१६ सालमा स्थापित त्रिभुवन विश्वविद्यालयबारे त्यहीँ पढिरहेका विद्यार्थी आलोचना गर्ने गर्छन् । पाठ्यक्रमदेखि पठन परम्परामाथि पनि प्रश्न उब्जने गरेको छ । सोमबार त टियूमै पढाएका र पढाइरहेका प्राध्यापक नै टियूविरुद्ध सडकमा उत्रिएका थिए ।
सोमबार टियूकै विद्यार्थी निर्घराज जैसीले हाकाहाकी भनिदिए, ‘विश्वविद्यालय राजाको मण्डलेहरूको भर्तीकेन्द्र बन्यो । अलिपछि दलका कार्यकर्ताहरूको भर्तीकेन्द्र बन्यो । कहिले बल्खु, कहिले सानेपा त कहिले पेरिसडाँडाको झोले कार्यकर्ता ल्याएर विश्वविद्यालयको पदाधिकारी बनाइयो ।’
टियूकै विद्यार्थी एलिजा ढकालले पनि नेपालको शिक्षा पद्धतिले बुख्याचा मात्र उत्पादन गर्ने बताइन् । एलिजा उनै हुन्, जसले स्कुल पढ्दाताका उनका महिला साथीहरू घटिसकेका थिए । झनै विश्वविद्यालय आइपुग्दा उनका दौँतरी कोही थिएनन्, एक्लै थिइन् । उनले भनिन्, ‘तर, आज विश्वविद्यालयमा मास्टर्सको डबल सर्टिफिकेट बोकेर म बेरोजगार भएर विश्वविद्यालयलाई नै प्रश्न गरिरहेकी छु । निजीकरणलाई पक्षपोषण गरिरहेको छ । मलाई यो विश्वविद्यालय लाग्दैन, कारखाना मात्र लाग्छ ।’
टियू प्रश्नैप्रश्नको चंगुलमा फसेको संघर्षको भनाइ थियो । हुने राजनीतिक भागबन्डा, आफन्त, नातागोताको नियुक्ति, प्रोफेसहरूमाथि प्रश्न तेस्र्याए । उनले भने, ‘टियूको होस्टेल भागबन्डामा राखेको छ । दश वर्षदेखि होस्टेलमा बसेका छन् । उनीहरूविरुद्ध उठेका प्रश्नको गुञ्जायस कतै छैन ।’ जसलाई आवश्यक थियो होस्टेल, उनीहरूले नपाएर केही सीमित व्यक्तिहरूले राजनीतिक लाभ लिएको संघर्षको भनाइ थियो ।प्रहरीले बुख्याचा फिर्ता दिएपछि घिमिरे युवराजको टोलीले सडकमै नाटक देखाए । नेपालको शिक्षा पद्धतिमाथि प्रश्न गर्दै नाट्यकर्मीले ‘ए फर अरब’ लेखिएको पम्प्लेट देखाएका थिए ।