१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७७ फाल्गुण ३ सोमबार ०८:५५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सशस्त्र प्रहरीले चार महिनापछि विद्यालय भवन छाड्यो

विद्यालयबाट सुरक्षाकर्मी र काँडेतार हटेपछि एक सय ६३ विद्यार्थीले विद्यालय टेके

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ फाल्गुण ३ सोमबार ०८:५५:००

गैरकानुनी रूपमा विद्यालयमा पोस्ट खडा गरेर बसेका सशस्त्र प्रहरीले करिब चार महिनापछि विद्यालय परिसर छाडेका छन् । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ मा रहेको प्राथमिक विद्यालयबाट सशस्त्र प्रहरी बाहिरिएको हो । 

विद्यालयमा सशस्त्र सुरक्षाकर्मी पस्नु नै कानुनी रूपमा गलत भए पनि गत ६ कात्तिकमा सो विद्यालय रहेको भवनमा काँडेतार लगाएर सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) खडा गरिएको थियो । दसैँबिदामा बन्द भएको विद्यालयमा एक्कासि सशस्त्र प्रहरी बसेपछि विद्यार्थीहरू सडकमा बसेर पढ्न बाध्य भएका थिए । गाउँपालिका कार्यालयले निर्णय नै गरेर दिएपछि स्कुलको भवनमा सुरक्षाकर्मी आएर बसेका थिए । 

बालबालिका पढ्ने मैदानमा सशस्त्र फौजले परेड खेल्न थालेको विषयमा नयाँ पत्रिकाले समाचार प्रकाशन गरेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि सशस्त्रले विद्यालय भवन छाडेको हो । विद्यालयका प्रधानाध्यापक शेष सविर अहमदले आफूहरूले पटक–पटक ताकेता गर्दा पनि विद्यालय छाड्न नमानेका सुरक्षाकर्मीले सञ्चारमाध्यममा समाचार आएपछि दबाबमा परेर छाडेको बताए । उनले भने, ‘हामीले बालबालिका पढ्ने स्कुल छाड्दिनुस् भनेर पटक–पटक भन्दा नमानेका उनीहरूले समाचार आएपछि स्कुल छाडेर गए ।’

झन्डै चार महिना विद्यालयविहीन भएका एक सय ६३ छात्रछात्रा पुनः विद्यालय फर्किएका छन् । विद्यालयलाई नै भवन जिम्मा लगाएको सशस्त्रको बिओपी सोही गाउँपालिकामा विद्यालय भवनभन्दा केही पर खाली रहेको जमिनमा एकतले भवन बनाएर बसेको छ ।

नयाँ पत्रिकाकर्मी विद्यालय पुग्दा विद्यार्थीहरू विद्यालयको चौरमा बसेर पढिरहेका भेटिए । चार महिनाअघि गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले केही स्थानीयसँगको रिसइबीका कारण जबरजस्ती विद्यालय भवनमा सुरक्षाकर्मी ल्याएर राखेको स्थानीयले आरोप लगाएका थिए । तर, गाउँपालिकाका अध्यक्ष साहले भने विद्यालयको भवन जीर्ण भइसकेकाले केही समयपछि धर्मशालामा सुविधासम्पन्न भवन बनाई पढाउने योजनासहित त्यहाँबाट बालबालिकालाई बाहिर निकालेको दाबी गरेका थिए । तर, उनले त्यसपछि नयाँ ठाउँमा विद्यालय भवन निर्माणमा चासो देखाएका थिएनन् । 

स्थानीय अभिभावक राजेन्द्र रामले विद्यालय भवन जीर्ण बनेको भन्दै निकाले पनि यसबीच गाउँपालिकाले सुविधासम्पन्न भवन बनाउन चासो नदिएको बताए । बरु, हिजो जीर्ण भनिएको भवनमा पुनः विद्यार्थीलाई पढाउन थालिएकोमा चिन्ता व्यक्त गरे । ‘विद्यालय भवन सञ्चालनयोग्य थियो भने किन हाम्रा केटाकेटी निकालेर सशस्त्र प्रहरीलाई दिइयो ? जीर्ण थियो भने अहिले फेरि त्यही भवनमा किन पढाउन थालियो ?’ उनले आशंका गरे, ‘यस्ता गतिविधिले हामी अभिभावकको चिन्ता बढाएको छ ।’

०४५ सालमा स्थापना भएकोे उक्त विद्यालयमा नजिकैको सखुवा गाउँका बालबालिका पढ्दै आएका छन् । विद्यालयमा अधिकांश विपन्न, मुसहर र दलित समुदायका बालबालिका अध्ययनरत रहेको विद्यालयका सहायक प्रधानाध्यापक पुकार राय यादवले बताए । सशस्त्र प्रहरीले भवन छाडेलगत्तै विद्यालयमा अध्यापन नियमित भइरहेको प्रधानाध्यापक अहमदले जानकारी दिए । 

सशस्त्र प्रहरी १० नम्बर गणका प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले अहिले आफूहरू नजिकै सामान्य भवन निर्माण गरेर बसेको बताए । हिजो पनि आफूहरूले विद्यालय भवन कब्जा गरेको नभई गाउँपालिकाले निर्णय गरेर दिएपछि सशस्त्र मुख्यालयले सदर गरेपछि मात्र आफूहरू त्यहाँ बस्न गएको बताए । 

‘कुनै पनि विद्यालय सञ्चालन भइरहेको स्थानमा गएर हामी बस्ने भन्ने कुरै हुँदैन,’ एसपी श्रेष्ठले भने, ‘गाउँपालिकाले निर्णय गरेर दिएको भवन हेडक्वाटरले सदर गरेपछि सीमा सुरक्षाको कार्यालय स्थापना गरिएको थियो । तत्काल भवन निर्माण गरेर हामी सरिसकेका छौँ ।’