मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०६:५७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा वर्षको खर्च ८ अर्ब ९ करोड

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०६:५७:००

पोखरा र भैरहवा विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्दा अन्य गौरवको आयोजनाको तुलनामा सन्तोषजनक प्रगति, पोखरा विमानस्थलमा सबैभन्दा धेरै खर्च 

निर्माणाधीन तीन अन्तर्राष्ट्रिय विमानस्थलमा चालू आर्थिक वर्ष ०७७/७८ को ६ महिनामा ८ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत सबैभन्दा बढी खर्च पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ । पोखरामा विनियोजित १० अर्ब ७५ करोडमध्ये ६ महिनामा ५ अर्ब ६ करोड खर्च भएको हो ।

गत वर्ष पनि पोखरा विमानस्थलमा १० अर्ब ३४ करोड खर्च भएको थियो । विमानस्थल निर्माणको प्रगति सन्तोषजनक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका राष्ट्रिय गौरवको आयोजना निर्देशनालयका निर्देशक प्रदीप अधिकारीले बताए । ‘भैरहवा र पोखरा विमानस्थल निर्माणले गति लिँदै अन्तिम चरणमा पुगेको छ,’ अधिकारीले भने । 

आयोजनाका लागि अनुमानित २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यता भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चालू आर्थिक वर्ष ०७७/७८ को पछिल्लो ६ महिनामा २ अर्ब ९८ करोड खर्च भएको छ । गत वर्ष ४ अर्ब ७२ करोड खर्च गरिएको थियो । आयोजनाको अनुमानित लागत ६ अर्ब ८२ करोड रहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगे पनि अझै सञ्चालन मोडालिटी भने टुंगो लागेको छैन । 

त्यसैगरी, बारामा निर्माणको चरणमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा भने खासै प्रगति भएको छैन । चालू आर्थिक वर्षमा तारबार तथा सडक निर्माणका लागि ५० करोड विनियोजन गरिएकोमा ६ महिनामा ५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । 

सन् २०१८ मै सम्पन्न गरेर सञ्चालन गर्ने गरी सन् २०१६ मै भैरहवा विमानस्थल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको थियो । चिनियाँ ठेकेदार कम्पनीले भौतिक निर्माणको काम सम्पन्न गरिसके पनि बत्ती जडान, सेन्ट्रल एसीलगायत केही काम अझै सम्पन्न हुन सकेको छैन । ‘केही प्राविधिक काम सम्पन्न गर्न कोभिड–१९ को असरले कामदारहरू ल्याउन सकिएको छैन,’ अधिकारीले भने । चिनियाँ ठेकेदारको म्याद गत डिसेम्बरमा सकिएको छ । गत वर्ष नै धावनमार्गको कालोपत्रेको काम सम्पन्न भइसकेको छ । टर्मिनल भवनसमेत निर्माणको अन्तिम चरणमा पुगेको छ । बाँकी इक्युपमेन्ट रेडार, बत्ती तथा प्राविधिक जडानको काम भने अझै हुन सकेको छैन । 

चिनियाँ कम्पनीले सन् २०१४ मा निर्माणको ठेक्का पाएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । २०१८ मा सञ्चालनमा ल्याउने घोषणा गर्दै निर्माण सुरु भए तापनि हालसम्म पनि सम्पन्न हुन सकेको छैन । विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे थियो । विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइ रहेको छ ।  

यता पोखरामा निर्माणको चरणमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अधिकांश भौतिक निर्माण सम्पन्न गरेर प्राविधिक काम सुरुवात भइसकेको छ । ०७१ मा सुरु भएको भैरहवा विमानस्थल निर्माण ०७४ मै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यता पोखरा विमानस्थल भने ०७४ मा सुरु भएको थियो । 

०७७ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना समयमै सम्पन्न गरिसक्ने योजनामा आयोजना रहेको छ । ‘भैरहवामा बीचमा केही समस्या आउँदा चार वर्षपछि सुरु भएको आयोजना पनि सँगै सम्पन्न हुने चरणमा पुगेको छ,’ निर्देशक अधिकारीले भने । दुवै विमानस्थल प्राधिकरण आफैँले सञ्चालन गर्ने गरी काम अगाडि बढाएको छ । 

प्राधिकरणका अनुसार भैरहवाको काम ९३ प्रतिशत सम्पन्न भएको छ भने पोखराको काम ६५ प्रतिशत सकिएको छ । भैरहवा आगामी फागुनसम्ममा निर्माण सम्पन्न हुँदै छ भने पोखरा चैतसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भैरहवा विमानस्थल सम्पन्न हुने म्याद पटक–पटक थपिएको छ । पोखरा र भैरहवा विमानस्थल एकै दिन उद्घाटन गर्ने गरी छलफल चलाइएको छ, सम्भव भएसम्म एकैसाथ विमानस्थल सञ्चालनमा ल्याउने योजनाअनुसार कामलाई तीव्रता दिइएको निर्देशक अधिकारीले बताए ।