१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नवीन अर्याल काठमाडाैं
तस्बिर : अमुल थापा
२०७७ फाल्गुण २ आइतबार ०७:२६:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

सौरभको सोखले बन्यो नेपालको पहिलो बाइक संग्रहालय

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
तस्बिर : अमुल थापा
२०७७ फाल्गुण २ आइतबार ०७:२६:००

बाइकका सौखिन युवा उद्यमी सौरभ ज्योतिले आफ्नो सोखलाई संग्रहालयमा परिणत गरेका छन् । कान्तिपथस्थित ज्योति भवनमा उनले मुलुककै पहिलो मोटरसाइकल संग्रहालय ‘एसजे मोटो’ खोलेका हुन् । अढाई दशकदेखि विभिन्न ब्रान्डका मोटरसाइकलहरू कलेक्सन गरिरहेका ज्योतिले त्यसैलाई ग्यालरीको रूप दिएका हुन् । ग्यालरीमा २५ वर्षदेखिका मोटरसाइकल संकलन गरिएका छन् ।

शुक्रबार एसजे मोटो ग्यालरी उद्घाटन कार्यक्रममा उत्साहित हुँदै ज्योतिले भने, ‘मोटरसाइकल ग्यालरी खोल्ने वर्षौँदेखिको सपना बल्ल पूरा भएको छ, सपना देखेपछि साकार हुने रहेछ ।’ मोटरसाइकलका पारखीहरूलाई आफ्नो चाहना पूरा गर्न तथा नयाँ–पुराना मोडलहरूको विषयमा जानकारी पाउन ज्यालरी महत्वपूर्ण हुने उनको भनाइ छ । ग्यालरीमा विश्वकै चर्चित ब्रान्डका दशौँ लाख मूल्य पर्ने सुपर बाइकहरू पनि अवलोकन गर्न सकिन्छ । 

त्यसो त उनी आफैँ नेपालमा होन्डा बाइक बिक्री गर्ने एक मात्र आधिकारिक विक्रेता स्याकर ट्रेडिङका सञ्चालक हुन् । तर, उनको संकलन केन्द्रमा होन्डा बाइक मात्र छैनन् । ग्यालरीमा होन्डा, यामाहा डुकाटी, एमभी अगस्टा, सुजुकी, हार्ले डेभिडसनलगायत थुप्रै चर्चित ब्रान्डहरू छन् । उनी भन्छन्, ‘यो मल्टिब्रान्ड ग्यालरी हो, हामीले ग्यालरीमा मोटरसाइकल कल्चर प्रमोट गर्ने हो, ब्रान्ड होइन ।’ नेपालमा सुरुवाती दिनमा भित्रिएका मोटरसाइकलदेखि पछिल्लो समय विश्व बजारमा सर्वाधिक चर्चा कमाएका सुपर बाइक ग्यालरीमा छन् । उनी थप्छन्, ‘यो ग्यालरीमा सन् १९६५ देखिका मोटरसाइकल हेर्न सकिनेछ ।’

उनले सुरुमा चलाएको बाइक ड्यास ७० हो, जुन उनका बुबा पद्म ज्योतिले चलाउँथे । सन् १९६९ को मोडल सौरभलाई निकै मन परेको थियो । उनी विदेशमा कलेज पढ्न गएपछि बुबाले ७० सिसीको उक्त बाइक अक्सिन प्लान्टका म्यानेजरलाई बिक्री गरेका थिए । पढाइ सकेर स्वदेश फर्किएपछि आफ्ना बुबाको त्यही बाइक खोजेर आफैँले किनेका थिए । उनी भन्छन्, ‘यो बाइक अहिलेसम्म पनि राम्रो कन्डिसनमा छ, जुन ग्यालरीको सबैभन्दा महत्वपूर्ण आकर्षण हुन सक्छ ।’ 

पुराना तथा नयाँ बाइकको राम्रै कलेक्सन रहेको जानकारी पाउनेहरू उनका घरमा पुगेर अवलोकन गर्न चाहेको बताउँथे । ‘धेरै साथीभाइ र बाइकप्रेमीले घरमै आएर मोटरसाइकल हेर्ने इच्छा जाहेर गर्नुभयो, तर सबैलाई घरमा बोलाएर देखाउन सम्भव थिएन,’ उनले विगत सम्झँदै भने, ‘अब मोटरसाइकल पारखीहरूले ग्यालरीमा आएर ढुक्कसँग समय बिताएर हेर्न सक्नुहुन्छ ।’ ग्यालरी हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला हुनेछ । ग्यालरी प्रवेश गर्न कुनै शुल्क लाग्दैन । जोकोहीले विभिन्न मोडल र ब्रान्डका मोटरसाइकल निःशुल्क हेरेर आनन्द लिन सक्नेछन् । उनी थप्छन्, ‘जिन्दगी छोटो छ, खुसी सबैलाई बाँड्नुपर्छ ।’

उनी जन्मिँदै ज्योति परिवारको मोटरसाइकल बिक्री गर्ने व्यवसाय थियो । ज्योति परिवारले होन्डा मोटरसाइकल बिक्री सुरु गरेकै ५० वर्ष नाघिसकेको छ । त्यसैले उनको बालककालदेखिको दैनिकी मोटरसाइकलसँग प्रत्यक्ष जोडिन पायो । उनी थप्छन्, ‘यसले पनि मलाई मोटरसाइकलको पारखी बनाएको होला ।’

नेपालमा सन् १९६० को दशकदेखि मोटरसाइकल भित्रिएको भए पनि उनीसँग १९६९ देखिका बाइक कलेक्सन छन् । ड्यास ७०, १९७७ को बेनेली एस ११०, १९७८ को सिटी ९० स्ट्रिट बाइक ग्यालरीमा देख्न सकिन्छ । यस्तै, होन्डाको १००० सिबिआर रेसिङ, सिबिआर १००० आरआरलगायत सुपर बाइक पनि देख्न सकिन्छ । यस्तै, धेरै पुरानो पिसी ५० मोटरसाइकल पनि मर्मत गरेर राखेका छन् । उनले यस्ता थुप्रै पुराना बाइकहरू किनेर रि–स्टोर गरेर बर्सेनि लाखौँ राजस्व बुझाउँछन् । ‘अहिले मोटरसाइकल आवश्यकता भइसकेको छ, नेपाली अर्थतन्त्रको विकासमा पनि मोटरसाइकलको योगदान धेरै छ,’ उनी भन्छन्, ‘मोटरसाइकलप्रति मोह र माया जारी राख्नका लागि पनि ग्यालरी खोलेको हुँ ।’ 

ग्यालरीमा आएपछि बाइक पारखीले पुराना बाइकको इतिहास र नयाँ बाइकको इनोभेटिभ टेक्नोलोजीबारे जानकारी लिन पाउँछन् । ‘सुपर बाइक अत्यन्तै महँगो हुन्छ, धेरैले नयाँ बाइक किनेर चढ्न नसक्ने अवस्था छ, हामी रिकन्डिसनल बाइक पनि बिक्री गर्छौँ,’ उनी भन्छन्, ‘सेफ्टी गियर र बच्चाका खेलौना पनि बिक्री गर्छौँ ।’ नेपालमा चर्को कर लगाइएका कारण ठूला सिसीका बाइकहरू धेरैको पहुँचमा छैनन् । नेपालमा प्रिमियम सुपर बाइकको मूल्य राम्रै चारपांग्रे गाडीकै सरह पर्न आउँछ । ग्यालरी अवलोकनका लागि स्वदेशी तथा विदेशी मोटरसाइकल पारखीहरू आउने अपेक्षा गरिएको छ । ग्यालरीको उद्देश्य सेफ राइडिङ कल्चर बढाउने रहेको बताउँदै उनले भने, ‘हामी सेफ्टी गियर प्रमोट गर्छौँ, मोटरसाइकल आफू सेफ भएर चलाउने हो ।’

ग्यालरीभित्र क्याफे पनि

एसजे मोटो ग्यालरीभित्र एसजे मोटो क्याफे पनि सञ्चालन गरिएको छ । क्याफेमा कफी, लाखमरीलगायत नेपाली उत्पादनको स्वाद लिन पाइनेछ । विदेशी मोटरसाइकलको ग्यालरीलाई नेपाली उत्पादनसँग जोड्न कफी सप सञ्चालनमा ल्याइएको ज्योतिले बताए । उनले भने, ‘मेरा हजुरबुबाले जहिल्यै हरेक बिजनेसमा आफ्नो उत्पादन पनि हुनुपर्छ भन्ने गर्नुहुन्थ्यो, त्यसैले विदेशी ग्यालरीमा हामीले आफ्नै देशको उत्पादन कफीलाई जोडेका हौँ ।’ 

क्याफेमा नेपालका विभिन्न ठाउँमा फलेको कफी, नेवारी लाखमरीलगायत मौलिक परिकारको स्वाद लिन पाइनेछ । ग्यालरी अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी मोटरसाइकलप्रेमीहरूले स्वदेशी उत्पादनको स्वाद लिन सक्ने उनले सुनाए ।