मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २ आइतबार ०१:२९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीले भने– संसद् पुनर्स्थापना भए लोकतन्त्रको हुर्मत लिने काम हुन्छ

बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण २ आइतबार ०१:२९:००

संसद् विघटनपछि राजनीतिक एवं संवैधानिक दबाब खेपिरहेका प्रधानमन्त्री केपी ओलीले जननिर्वाचित संसद् पुनस्र्थापना भए लोकतन्त्रको हुर्मत लिने काम हुने बताएका छन् । ६४ प्रतिशत बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकाले अब पुनस्र्थापनाको सम्भावना नरहेको पनि उनले दाबी गरेका छन् । 

दलभित्रबाटै सरकारलाई काम गर्न नदिने अवस्था आएपछि विघटनमा जानुपरेको उनको तर्क छ । ‘६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि अर्को कुनै विकल्प रहँदैन । प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर विघटन गरिएको हो, त्यसकारण यो संविधानसम्मत छैन भन्ने कुरा निरर्थक छ,’ बुटवलमा नेकपाको ओली समूहले गरेको शक्ति प्रदर्शनपछिको सभामा प्रधानमन्त्री ओलीले भने, ‘अब अदालतलाई दबाब दिन अनेक प्रकारका काम भएका छन् । देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने विश्वास मैले लिएको छु । अस्थिरतातर्फ देशलाई फर्कन दिनुहुँदैन । अब कुनै पार्टीको बहुमत रहँदैन । संसद् पुनस्र्थापना हुने हो भने कुनै पार्टीको बहुमत रहन्छ ? नरहेपछि किनबेच सुरु हुने, अनुचित मोलतोल सुरु हुने, अनुचित समीकरण सुरु हुने हुन्छ । डेढ वर्षमा लोकत्रन्तकोे हुर्मत लिने काम हुन्छ ।’ 

प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा चुनाव हुने र आफ्नो समूहले समानुपातिकमा ५० लाख मत ल्याउने दाबी गरे । तर, संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको तथा राजनीतिक रूपमा विभाजित नेकपा विवाद निर्वाचन आयोगले हेरिरहेको कारण वैशाखको निर्वाचन अनिश्चित रहेको पूर्वनिर्वाचन आयुक्तहरूले बताउँदै आएका छन् । पार्टी नफुटेको र केही तत्व बाहिरिएको तर्क गर्दै उनले भने, ‘कसैले चुनाव रोक्न सक्दैन । हामीले समानुपातिकमा ५० लाख मत ल्याउँछौँ र प्रत्यक्षमा बहुमत सिट ल्याउँछौँ ।’

ओलीले जनतामा जानै हुँदैन, ताजा जनादेश लिनै हुँदैन भन्ने तपाईंहरूले कस्तो व्यवस्था खोजेको भन्दै प्रचण्ड–नेपाल समूहलाई प्रश्न गरे । उनले समृद्धि ल्याउन खोज्दा सरकार ढाल्ने प्रयत्न भएको दाबी गरे । ‘समृद्धि कसरी हासिल गर्न सकिन्छ, जनतालाई कसरी सुख दिन सकिन्छ भनेर लागेको सरकार ढाल्न लगातार प्रयास भयो । वैशाखमा एकैचोटि राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो । मैले प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छु, केका लागि भनेँ । राजीनामा किन भन्ने जवाफ छैन । देश बनाउने कुरा उहाँहरूलाई छैन, तर उहाँहरूलाई प्रधानमन्त्री हुन मन लाग्यो,’ ओलीले भने ।

ओलीले पार्टी विभाजन नभएको बरु केही मानिस बाहिरिएको तर्क गरे । ‘पार्टीमा मनपरी गर्ने र खुट्टा तान्ने प्रवृत्तिकाहरू आज बाहिर गएका छन् । पार्टीले सुदृढीकरण खोजेको थियो, अहिले पार्टी गतिशील भएको छ, जनतामा उत्साह छाएको छ,’ ओलीले भने, ‘एउटै विचारमा पार्टी अगाडि बढेको छ, सुदृढ ढंगले अगाडि बढेको छ, निराश हुनुपर्ने अवस्था छैन ।’ प्रधानमन्त्री ओलीले केही मानिस पार्टीबाट बाहिरिएपछि तीन वर्षदेखि रोकिएको संवैधानिक आयोगमा नियुक्ति भएको र कामले गति लिएको धारणा राखे । तर, अध्यादेश ल्याएर संवैधानिक निकायमा भएको नियुक्तिको वैधतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा चलेको छ । 

प्रधानमन्त्रीले आफ्नो दल आधिकारिक हुने कुरामा कुनै विवाद नरहेको पनि दाबी गरे र आफू अहिलेसम्म सूर्य चिह्नबाहेक अरूबाट चुनाव नलडेको तर पार्टीबाट बाहिरिएका प्रचण्ड कहिल्यै सूर्य चिह्नबाट चुनाव नलडेको भन्दै चुनाव चिह्न पनि आफ्नै नेतृत्वको पार्टीले पाउने ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले मुलुकमा विकास निर्माणका ठूला आयोजना अघि बढेको, मुलुक सुरुङ युगमा प्रवेश गरेको तथा लुम्बिनी प्रदेशमा विकासका विभिन्न आयोजना अगाडि बढेको चर्चा गरे । 

जनसभालाई सम्बोधन गर्दै पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशका बहुसंख्यक स्थानमा आफ्नो दलले चुनाव जित्ने दाबी गरे । पार्टी नफुटेको तर विकास र समृद्धि नचाहने केही स्वार्थी तत्व पार्टीबाट बाहिरिएको तर्क उनले गरे । उनले चुनाव कुनै तागतले रोक्न नसक्ने भन्दै गाउँमा फर्केपछि चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले विकास र समृद्धिको दिशामा मुलुक अघि बढिरहेको वेलामा सडकमा जानुपर्ने आवश्यकता नभएको धारणा राखे । उनले ओलीकै नेतृत्वमा विकास र समृद्धिको यात्रा अघि बढ्ने दाबी गरे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा समेत आउँदो निर्वाचनमा ओली नेतृत्वको नेकपाले नै विजय हासिल गर्ने जिकिर गरे । सभालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र पार्टी स्थायी समिति सदस्य छविलाल विश्वकर्माले पनि सम्बोधन गरेका थिए । 

ओली समूहले गर्‍याे बुटवलमा पूर्वलडाकुको भेला

नेकपाको ओली समूहले शनिबार बुटवलमा पूर्वलडाकुको राष्ट्रिय भेला गरेको छ । २६औँ जनयुद्ध दिवसका दिन ओली समूहले पूर्वलडाकुको भेला गरेको हो । नेकपा विभाजनपछि ओली समूहले पूर्वलडाकुलाई संगठन गराउने प्रयासस्वरूप लडाकुको राष्ट्रिय भेला आयोजना गरेको हो । 

भेलामा उपस्थित पूर्वलडाकुले आफूहरूका समस्याबारे धारणा राखेका थिए । त्यसपछि ओली समूहमा लागेका पूर्वमाओवादी पक्षका दुई नेता र एक पूर्वएमालेका नेताले लडाकुका समस्या समाधानबारे बोलेका थिए । भेलामा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लडाकुका लागि राज्यले दिएको रकम कल्याणकारी कोष बनाएर राखेको भए अहिले उनीहरूको हितमा प्रयोग हुन सक्ने थियो भन्ने मत राखे । पुष्पकमल दाहाल प्रचण्डले बलिदानको मूल्यलाई बुझ्न नसकेको आरोप पनि उनले लगाए । 

भेलामा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अवसरवादीको घेरामा नेतृत्व पर्दा युद्ध लडेका र त्याग गरेका पछाडि परेको बताए । अब उनीहरूको सम्मान र व्यवस्थापन गरिने उनले बताए । उनले लडाकुका नाममा रकम हिनामिना भएको बताए । ‘क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर ३४ हजार भत्ता बुझ्यौँ, करिब सात अर्ब घोटाला भएको छ, त्यो पैसा कहाँ गयो ? त्यसको हिसाबकिताब हुनुपर्छ,’ मन्त्री रायमाझीले भने । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रचण्ड आफ्नो वर्ग छाडेर अर्को वर्गसँग टाँसिन पुगेकाले आफूहरूले साथ छोडेको बताए । माओवादी जनयुद्धका समयमा पूर्वलडाकुका विभिन्न डिभिजनमा झन्डै ६० करोड अनियमितता भएको भट्टले दाबी गरे । कार्यक्रममा पूर्वलडाकुहरूले सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन माग गरेका थिए । पूर्वलडाकुहरूले अहिले पनि गाँस, वास र कपासका लागि भौँतारिरहेको भन्दै राहत प्याकेज ल्याउन माग गरे ।