१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ माघ ३० शुक्रबार ०९:०१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बंगलादेशबाट ५० हजार  मेट्रिकटन मल ल्याउन जहाज छुट्यो

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ माघ ३० शुक्रबार ०९:०१:००

बंगलादेशबाट ल्याउने भनिएको ५० हजार मेट्रिकटन युरिया लिन जहाज निस्केको छ । कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार २५ माघमा जहाजको टुंगो लागेसँगै बंगलादेशको चटगाउँ पोर्टमा मल लिन जहाज हिँडिसकेको हो । ३ फागुनसम्म चटगाउँ पोर्ट पुग्ने जहाजले पहिलो खेपमा २० हजार टन ब्लक युरिया लोडिङ गरी आयात सुरु गर्नेछ । मल आयात गर्ने सबै प्रक्रिया टुंगिएर आयात सुरु हुन लागेको कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए । ‘विविध कारणले भनेकै समयमा बंगलादेशबाट मल ल्याउन सकिएन । अहिले सबै प्रक्रिया सकाएर मल आयात सुरु हुन लागेको छ,’ उनले भने ।

बंगलादेशबाट मल ल्याउन गत भदौदेखि नै प्रक्रिया अघि बढेको थियो । तर, दुई देशको मन्त्रिपरिषद् बैठकबाट निर्णय हुँदै भर्खर कार्यान्वयनको चरणमा आइपुगेको हो । ‘२५ माघदेखि ९० दिनभित्रै सबै परिमाण नेपाल आइपुग्ने गरी ढुवानी गर्नुपर्ने सम्झौता छ । बिहीबारसम्म चार दिन बितिसकेको छ,’ भण्डारीले भने ।

५० हजार टन तीन खेपमा आइपुग्ने
बंगलादेशबाट ५० हजार टन युरिया आयात हुँदै छ । कृषि सामग्रीका प्रवक्ता विष्णु पोखरेलका अनुसार पहिलो खेप ३ फागुनमा २० हजार टन लोडिङ हुनेछ । बंगलादेशको मल उत्पादक कर्णाफुली फर्टिलाइजर कम्पनी लिमिटेड (काफ्को) ले उत्पादन गरेको मल नेपाल आउन लागेको हो । त्यहाँ मलको कारोबार गर्ने सरकारी कम्पनी बंगलादेश केमिकल इन्डस्ट्रिज प्रालि (सिआइसी)ले काफ्कोबाट चटगाउँसम्म मल ढुवानी गर्नेछ ।

बिसिआइसीले काफ्कोबाट मल खरिद गर्ने र नेपाललाई बेच्ने सम्बन्धमा यसअघि नै कृषि सामग्रीसँग सम्झौता भइसकेको छ । काफ्कोमा निजी क्षेत्रको समेत लगानी छ । त्यसैले सो कम्पनीसँग सोझै सम्झौता हुन नसकेको कम्पनीले जनाएको छ । 

सम्झौताअनुसार दोस्रो खेपमा १० हजार टन युरिया आउनेछ । यसपटक भने कृषि सामग्रीले काफ्कोलाई नै मल प्याक गर्ने बोरा उपलब्ध गराउनेछ । सो बोरामा हालिएको मल सिसिआइसीले चटगाउँसम्म ल्याइदिनेछ । तेस्रो खेपमा २० हजार टन युरिया आउनेछ । यो मल भने बल्कमा आउनेछ र भारतको पोर्टमा आएपछि कृषि सामग्रीको बोरामा प्याक भई नेपालतर्फ ढुवानी हुनेछ ।

६ महिनाको प्रयासपछि बल्ल आउने निश्चित
यो वर्ष जेठ–असारमा किसानले धान रोप्ने वेलामा रासायनिक मलको चर्को अभाव खेपेका थिए । किसानलाई समयमै मल दिन नसकेको सरकारले बंगलादेशबाट मल ल्याएर धान गोड्ने समयमा उपलब्ध गराउने आश्वासन दिएको थियो । तत्कालीन कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पहल थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १६ भदौमा बंगलादेशी समकक्षी सेख हसिनासँग टेलिफोन वार्ता गरी मल उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

दुवै देशका प्रधानमन्त्रीको वार्तापछि मल आयातको औपचारिक प्रक्रिया अघि बढेको थियो । त्यसपछि १ असोजमा सरकारले बंगलादेशबाट पैँचोमा ५० हजार टन युरिया ल्याउने निर्णय गरेको थियो । बंगलादेशले पैँचोमा दिन नमानेपछि सरकारले २४ कात्तिकमा पैँचो वा खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

मन्त्रिपरिषद्को निर्णयले अलमल भएको भन्दै अर्को निर्णयका लागि प्रस्ताव लगेपछि १८ मंसिरमा मन्त्रिपरिषद्ले निर्णय गर्दै बंगलादेशबाट खरिद गरेर ल्याउन सैद्धान्तिक स्वीकृति दिएको छ । त्यसपछि कृषि सामग्री र बंगलादेशको बिसिआइसीबीच ढाकामा २ पुसमा मल खरिद–बिक्रीको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।सोही सम्झौताअनुसार मल ल्याउन २५ फागुनमा जहान बंगलादेशका लागि प्रस्थान गरेको छ । सम्झौताअनुसार ढुवानी सुरु भएको तीन महिनाभित्र मल ल्याइसक्नुपर्नेछ ।

टाइमलाइन

१६ फागुन : प्रधानमन्त्री केपी ओली र बंगालदेशी समकक्षी सेख हसिनाबीच टेलिफोन वार्तामा मल पैँचोमा दिन छलफल

१ असोज : मन्त्रिपरिषद्बाट ५० हजार टन युरिया पैँचोमा ल्याउन स्वीकृति

२४ कात्तिक : बंगलादेशबाट ५० हजार टन युरिया जिटुजी वा प्रतिस्पर्धामध्ये एक विकल्पबाट खरिद गर्न स्वीकृति

१८ मंसिर : बंगलादेशसँग ५० हजार मेट्रिकटन युरिया मल सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न स्वीकृति

२ पुस : कृषि सामग्री र बंगलादेशी कम्पनी बिसिआइसीबीच ढाकामा मल खरिद–बिक्रीसम्बधी पत्रमा हस्ताक्षर