मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३० शुक्रबार ०७:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर धितोमा कर्जा लगानी अनुपात घटाइने हल्लाले बजार प्रभावित

राजनीतिक मुठभेडको त्रासले कमजोर बुलिस प्रवृत्तिमा धक्का

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३० शुक्रबार ०७:३३:००

सर्वाधिक उचाइमा रहेको नेप्सेको बुलिस प्रवृत्ति कमजोर भइरहँदा राजनीतिक मुठभेडको सम्भावनासमेत थपिएपछि बिहीबार बजार घटेको छ । यस दिन घट्दै बढ्ने प्रयासमा देखिएको नेप्से करिब १ बजेर ३० मिनेट गएपछि एकोहोरो घटेको हो ।

संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा समूहकी नेतृ रामकुमारी झाँक्री १ बजेतिर पक्राउ परेसँगै राजनीतिक मुठभेड हुन सक्ने त्रासमा बजार घटेको हो । नेप्से परिसूचक १६ दशमलव ११ अंकले घटेर २ हजार ५ सय २६ बिन्दुमा आइपुगेको छ । 

बजार उच्च बिन्दुमा रहँदा बुलिस प्रवृत्ति कमजोर भइरहेको थियो भने लगानीकर्तामा बुधबारदेखि अन्योल देखिएको थियो । बिहीबारको गिरावटलाई करेक्सनका रूपमा पनि लिन सकिन्छ । राजनीतिक घटनाक्रम मुठभेडतर्फ गएन भने बजार पुनः सुधारिने सम्भावना छ । बजार बन्द हुने समयमा १८ अंकसम्म घटेको बजार वृद्धिको प्रयासमा देखिएको छ । 

हल्लाले बजार  प्रभावित

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा सेयर धितोमा कर्जा लगानी अनुपात घटाउन सक्ने हल्लाले पनि बजारलाई प्रभाव पारेको छ । हाल सेयर धितोमा कर्जा लगानी अनुपात ७० प्रतिशत छ । यसपटकको मौद्रिक नीतिले नै यो अनुपात ६५ बाट वृद्धि गरिएको थियो । 

बजारलाई हाल बैंक तथा वित्तीय संस्थामा रहेको पर्याप्त तरलताले नै सहयोग पुगिरहेको हो । बजारको कारोबार रकमले भने अहिले पनि साथ दिइरहेको छ । यस दिन कारोबार रकम केही बढेर ८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । कारोबारमा आएकामध्ये रकमका आधारमा डिप्रक्स लघुवित्तको सेयर कारोबार सर्वाधिक भएको छ । लाभांश दरमा लगानीकर्ताको अपेक्षा मेल नखाएपछि मूल्यसमेत घटेको छ । करिब १० प्रतिशतले मूल्य घटेर १ हजार ९ सय ७३ मा कारोबार भएको डिप्रक्सको ५६ करोड ६३ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको हो । कम्पनीले बुधबार १५ प्रतिशत बोनस र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । 

बिहीबार कारोबारमा आएकामध्ये बैंक, विकास बैंक र सामूहिक लगानी कोषको समूहगत परिसूचक मात्र वृद्धिकै अवस्थामा रहँदा बजार बन्द भएको छ । सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य सबैभन्दा धेरै ५ दशमलव ०३ प्रतिशतले बढेर १ सय ८८ रुपैयाँ पुगेको छ । 

यस दिन सानिमा इक्विटी फन्डका इकाइ र चन्द्रागिरिको सेयरको बजारमा अत्यधिक माग रहेको थियो भने कुमारी, मेगा बैंकलगायतको आपूर्ति उच्च थियो ।  नेप्सेले इन्फ्रास्ट्रक्चर बैंकको पहिलोपटक सेयर कारोबारका लागि १ सय १३ रुपैयाँ ६२ पैसादेखि ३ सय ४० रुपैयाँ ८६ पैसा मूल्य रेन्ज तोकेको छ । २० अर्ब अर्थात् २० करोड कित्ता सेयर चुक्ता पुँजी रहेको बैंकको आइतबारबाट दोस्रो बजारमा सेयर किनबेच गर्न सकिनेछ ।