मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ मङ्सिर २६ बुधबार ०१:१५:००
Read Time : > 5 मिनेट
फिचर

आठ महिनामा ५ दर्जन फिल्म : यो वर्ष आउँदै छन् यी फिल्म

Read Time : > 5 मिनेट
२०७५ मङ्सिर २६ बुधबार ०१:१५:००

फिल्म निर्माण र प्रदर्शन हुने क्रममा तीव्रता छाइरहेको छ । यो वर्ष अर्थात् ०७५ वैशाखदेखि आठौँ महिना अर्थात् मंसिर तेस्रो सातासम्म ६० वटा नेपाली फिल्म प्रदर्शन भइसकेका छन् । ०७५ को वैशाख ७ गते स्वर्ग मेरो गाउँबाट फिल्म प्रदर्शनको सुरुवात भएको हो । सो मितिमा अरू फिल्म यसकारण प्रदर्शन गरिएन कि, ०७४ को चैत ३० मा लिलिबिली र नेप्टे प्रदर्शन भएका थिए । ती दुई फिल्मलाई पनि चैत ९ गते प्रदर्शन भएको शत्रु गतेले ‘टेन्सन’ दिइरहेको थियो ।

स्वर्ग मेरो गाउँदेखि सुरु भएको ०७५ को फिल्म रिलिजको संख्या मंसिर २१ मा प्रसाद र झिल्केसम्म आइपुग्दा ६० पुगेको छ । आठ महिनामा ६० फिल्म रिलिज भए । तर, व्यावसायिक रूपमा भने आधा दर्जन फिल्मले मात्रै मुनाफा कमाउन सफल भएको देखिन्छ । फिल्म हुन्, नाइँ नभन्नू ल–५, रामकहानी, इन्टु मिन्टु लन्डनमा, छक्का पन्जा–३, जय भोले र चंगा चेट । तर, अधिकांश निर्माताले आफ्नो फिल्मले लगानी उठाएको, नाफा कमाएको गफ दिन भने छाडेका छैनन् ।

मंंसिर चौथो साता अर्थात् अबको शुक्रबार एकसाथ तीन नेपाली फिल्म प्रदर्शन हुँदै छन्– सुश्री सम्पत्ति, डोली र कथा ७२ । सुव्रतराज आचार्य निर्देशित सुश्री सम्पत्ति कमेडी जनराको फिल्म हो भने राजबहादुर साने निर्देशित डोलीलाई सामाजिक कथानक फिल्म भनिएको छ । त्यसैगरी, भूकम्पको कथामा प्रवीण स्याङ्वाले कथा ७२ निर्देशन गरेका हुन् ।

अरू वेला एकसाथ पाँचवटासम्म फिल्म भिडाउने गरे पनि निर्माताहरू विशेषगरी बलिउडका ठूला फिल्म प्रदर्शन हुने मितिमा भने पछि हट्ने गरेका छन् । जस्तो, मंसिर दोस्रो साता कुनै पनि नेपाली फिल्म रिलिज गरिएन । कारण थियो, रजनीकान्त र अक्षयकुमार अभिनीत २.० । त्यो मितिमा कसैले पनि फिल्म रिलिज गर्ने हिम्मत गरेनन् ।

यद्यपि, त्यो मितिमा पहिला कतै नाम नसुनिएको शान्ति नामक फिल्म रिलिज गरिएको थियो । शान्ति कतिपय हलमा एक सो नचली उत्रियो । अब पुस पहिलो साता पनि कुनै नेपाली फिल्मले मिति तोकेका छैनन् । कारण हो, शाहरुख खानको जिरो । साथमा हलिउडको एक्वाम्यान । नेपाली निर्मातालाई हलिउडका भन्दा पनि बलिउडका ठूला ब्यानरका फिल्मले ‘टेन्सन’ दिने गरेको छ । आफ्नै नेपाली फिल्मसँग भने कोही डराउने देखिन्न ।

पुसमा प्रदर्शन हुने नेपाली फिल्मको चर्चा गर्दा पहिलो साता अर्थात् ६ गते जिरोका कारण अहिलेसम्म कुनै नेपाली फिल्मको प्रदर्शन मिति तोकिएको छैन । दोस्रो साता अर्थात् १३ पुसमा भने दुईटा नेपाली फिल्मले मिति तोकेका छन् । फिल्म हुन्– बादशाह जुट र घनचक्कर । जोनी सिंह राणाको निर्देशनमा बनेको बादशाह जुटमा सुशील श्रेष्ठ, आमिर गौतम, रविन श्रेष्ठ, रोशी खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।

दीपेन्द्र राजोपाध्यायको निर्देशनमा हरि भट्टले निर्माण गरेको घनचक्करमा भने सौगात मल्ल, सलोन बस्नेत र काश्मिरा लामा मुख्य भूमिकामा छन् । प्रदर्शन मिति तोकिएको भए पनि प्रचारप्रसारमा नतातेकाले सो मितिमा यी फिल्म प्रदर्शन हुनेमा सन्देह देखिन्छ ।

पुस तेस्रो साता अर्थात् २० गते जयश्री दाम, गोल र जेसुकै होस्, तीन फिल्म प्रदर्शन हुँदै छन् । विप्लव उप्रेतीको निर्देशनमा बनेको जयश्री दाम कमेडी जनराको फिल्म हो । जेबिका कार्की, अमृत ढुंगाना र राजन खतिवडा मुख्य भूमिकामा रहेको जयश्री दामले प्रचारप्रसार सुरु गरिसकेको छ ।

त्यसैगरी, किशोर खतिवडा र सबिना कार्की मुख्य भूमिकामा रहेको गोल पहिला मंसिर २८ मा प्रदर्शन हुने तय थियो । तर, झन्डै तीन साता पर सरेर पुस २० मा पुगेको हो । हालै ट्रेलर सार्वजनिक गरिएको जेसुकै होस्ले भने दर्शकबाट तालीभन्दा गाली नै बढी पाइरहेको छ । ट्रेलरमा समावेश दोहोरो अर्थ लाग्ने संवाद र दृश्यका कारण युट्युबमा गाली पाइरहेको छ ।

माघे संक्रान्ति खाने दाउमा लागेका छन् तीन फिल्म– द ब्रेक अप, चौका दाउ र भिलेन । पुस २७ गते प्रदर्शन हुने तयारीमा रहेका यी फिल्म आ–आफ्नै शैलीका छन् । हेमराज बिसी निर्देशित द ब्रेकअप नामैले प्रेम विछोडको कथायुक्त फिल्म हो, जसमा आशिरमान देशराज र सिल्पा मास्के मुख्य भूमिकामा छन् ।

चौका दाउचाहिँ कमेडी जनराको फिल्म हो । पूर्णेन्द्र झाको निर्देशनमा संगीतकार शम्भुजीत बास्कोटाले निर्माण गरेको यो फिल्ममा सन्तोष पन्त, वर्षा राउत, विल्सनविक्रम राईलगायत कलाकारले अभिनय गरेका छन् । भिलेनचाहिँ एक्सन फिल्म हो । निखिल उप्रेतीका साथमा शिल्पा पोखरेल र निशा अधिकारी मुख्य भूमिकामा रहेको यो फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।

०७५ वैशाखदेखि मंसिर तेस्रो सातासम्म ६० वटा फिल्म प्रदर्शन भइसकेका छन् । बाँकी चार
महिनामा करिब दुई दर्जन फिल्म हलमा आउने तयारीमा छन् ।

माघ पहिलो साता अर्थात् ४ गते अहिलेसम्म दुईटा फिल्मले मिति तोकेका छन् । फिल्म हुन्, गरुड पुराण र दी कर्मा । सुवास कोइराला निर्देशित कमेडी जनराको गरुड पुराणमा कर्मा, नाजिर हुसेन, कामेश्वर चौरसिया, लुभिना तुलाधरलगायत कलाकारले अभिनय गरेका छन् ।

दी कर्मा भने एक्सन फिल्म हो । देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा बुद्धि तामाङ, परमिता राणा, अनुप सक्सेनालगायत कलाकारले अभिनय गरेका छन् ।

माघ दोस्रो साता भने अहिलेसम्म एउटा मात्रै फिल्म– आरोपले मिति तोकेको छ । अमर ओलीको निर्देशनमा बनेको आरोपमा किशोर खतिवडा र सञ्चिता लुइँटेल मुख्य भूमिकामा छन् ।

माघ तेस्रो साता अर्थात् १८ गते भने एकसाथ तीन फिल्म मैदानमा उत्रिँदै छन् । फिल्म हुन्– गोपी, रणवीर र सय कडा दश । दीपेन्द्र लामाको निर्देशनमा बनेको गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्त मुख्य भूमिकामा छन् । त्यसैगरी, एक्सन लभस्टोरी रणवीरलाई दीपेन्द्र रेग्मी र गोमा विष्टले निर्माण गरेका हुन् ।

गोविन्द सिंह भण्डारीले निर्देशन गरेको रणवीरमा सुशील सिटौला र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् । रामशरण पाठक निर्देशित सय कडा दशमा भने हास्यकलाकार मनोज गजुरेल, अमृत ढुंगानालगायत कलाकारले अभिनय गरेका छन् ।

सुविन भट्टराईको चर्चित उपन्यास समर लभमा निर्माण गरिएको फिल्म समर लभका साथमा प्रेमलीला र न यता न उता गरी तीन फिल्म दर्शकले एकसाथ हेर्न पाउने भएका छन् । यी फिल्म माघ २५ मा रिलिज हुँदै छन् ।

फागुन पहिलो साता अर्थात् ३ गते स्वस्तिमा खड्का मुख्य भूमिकामा अभिनीत बुलबुल प्रदर्शन हुँदै छ भने सोही मितिमा योगेश घिमिरेको प्रेम दिवस पनि प्रदर्शन हुने चर्चा छ । तर, अहिलेसम्म पक्का खबर बाहिरिएको छैन । फागुन दोस्रो साता कुनै फिल्मले मिति तोकेका छैनन् । तेस्रो साता अर्थात् १७ गते भने भुवन केसीको क्याप्टेन र प्रदीप भट्टराई निर्देशित जात्रैजात्रा प्रदर्शन हुनेछन् ।

विपिन कार्कीको दुर्घटनामा परेकाले केही दिन सुटिङ प्रभावित भएको जात्रैजात्राले सुटिङ सुचारु गरिसकेको छ भने क्याप्टेनले गीत पोस्टर सार्वजनिकसँगै प्रचारप्रसारलाई तीव्रता दिएको छ । मुहूर्त कार्यक्रममा फागुन २४ लाई प्रदर्शन मिति तोकिएको लभ स्टेसनको सुटिङ सकिएको छ । उज्ज्वल घिमिरेको निर्देशनमा गोविन्द शाहीले निर्देशन गरेको लभ स्टेसनमा प्रदीप खड्का र जसिता गुरुङ मुख्य भूमिकामा छन् ।

चैत १ गते तीनवटा नेपाली फिल्म जानी नजानी, जोकर र पुरानो बुलेटले प्रदर्शन मिति तोकेका छन् । वसन्त अधिकारीको निर्देशनमा अभिनेत्री रोशनी केसीले निर्माण गरेको जानी नजानीमा मनीषसुन्दर श्रेष्ठ, इरिसा बस्नेतलगायत कलाकारले अभिनय गरेका छन् । प्रेमकथानक फिल्मको केही दिनअघि फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

त्यसैगरी, भीषण राईको निर्देशनमा बनेको पुरानो बुलेट पनि सोही मितिमा दर्शकमाझ आउने तयारीमा छ । फिल्ममा अनुपविक्रम शाही र वर्षा राउत मुख्य भूमिकामा छन् । चैत दोस्रो साता अर्थात् ८ गते अहिलेसम्म कुनै फिल्मले मिति तोकेका छैनन् ।

तेस्रो साता अर्थात् १५ गते भने दुई फिल्म शुभलभ र साइँली प्रदर्शन हुनेछन् । शुभलभ सन्तोष लोहनीको निर्देशनमा बनेको हो भने साइँली रामबाबु गुरुङले निर्देशन गरेका हुन् । शुभलभमा ज्योतिषी हरिहर अधिकारी र सूर्या थापा मुख्य भूमिकामा छन् । साइँलीमा भने दयाहाङ राई र मेनुका प्रमुख छन् ।

चैत २२ गते पनि कुनै फिल्मले मिति तोकेका छैनन् । अन्तिम साता अर्थात् चैत २९ मा भने झरना थापाको ए मेरो हजुर–३ र केशव भट्टराईको यात्रा प्रदर्शन हुने भएका छन् । नयाँ वर्षको अवसर पारेर प्रदर्शन हुने लागेका यी दुई फिल्म आपसमा भिड्लान भन्नेमा चाहिँ सन्देह नै छ ।

ए मेरो हजुर–३ मा अनमोल केसीका साथमा झरनापुत्री सुहानी थापा मुख्य भूमिकामा छिन् । त्यसैगरी, यात्रामा झरनाले ए मेरो हजुर–२ बाट डेब्यु गराएका हिरो सलिनमान बनिया मुख्य भूमिकामा छन् ।

कतिपय फिल्मले सुटिङ नहुँदै प्रदर्शन मिति तोक्ने गरेका छन् । पहिले नै ‘डेट’ ओगट्ने र पछि मैदान छाडेर भाग्नेहरू पनि थुप्रै छन् । दसैँैको छेकोमा सञ्चारकर्मी प्रकाश सुवेदीले ०७६ को फुलपातीमा आफ्नो फिल्म बकम्फुसे राजा प्रदर्शन हुने मिति तोकेका छन् ।

सोही मितिमै अशोक शर्माले रातो टीका निधारमा नामक नयाँ फिल्म प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् । कुन फिल्म बन्छन्, कुन पूरा हुन्छन्, कुन पूर्वघोषित मितिमा हलमा आउँछन्, त्यो भने ठोकुवा गर्न सकिँदैन ।