मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना
शुरोजंग पाण्डे काठमाडाैं
दिपेश शाही काठमाडाैं
२०७७ माघ २९ बिहीबार ०५:५४:००
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जननिर्वाचित संसद् पुनर्स्थापनाको पक्षमा प्रदर्शन

Read Time : > 7 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७७ माघ २९ बिहीबार ०५:५४:००

जननिर्वाचित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेपकाको प्रचण्ड–नेपाल समूहले राजधानीमा प्रदर्शन गरेको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले संविधान र कानुनअनुसार निर्णय लिन सर्वोच्च अदालत र निर्वाचन आयोगलाई सन्देश पनि दिएको छ । 

बुधबार सभाअगाडि विभिन्न स्थानबाट निकालिएका र्‍यालीमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरू सहभागी भएका थिए । मूल जुलुस सुन्धाराबाट र सहायक जुलुसहरू पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केसरमहल र जमलबाट निस्केका थिए । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत र नेकपा विवादमा निर्वाचन आयोगले संविधानअनुसार निर्णय लिनुपर्ने मत दोहोर्‍याएका छन् । उनले ओलीको निरंकुशता कायम रहे १० लाख जनता सडकमा उतारेर बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी पनि दिएका छन् । 

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा छिटो निर्णय दिन निर्वाचन आयोगलाई खुट्टा नकमाउन अनुरोध गर्दै उनले सर्वोच्च अदालतलाई पनि कुनै व्यक्तिको सनक होइन, जनताको लोकतान्त्रिक आवाज र अनुहार हेरेर निर्णय गर्न अनुरोध गरे । 

‘लाखौँ जनता उपस्थित यो सभा सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरूले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, जनभावना के छ ? म के विश्वास गर्छु भने उहाँहरूले ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा निर्णय दिनुहुनेछ,’ प्रचण्डले भने, ‘संविधान र जनताको भावनाविपरीत भयो भने जनताको शान्तिपूर्ण आन्दोलन विद्रोहमा गए के हुन्छ ? प्रत्येकले बुझ्न जरुरी छ ।’ 

उनले अबको क्रान्ति शान्तिपूर्ण हुने प्रतिबद्धता पनि व्यक्त गरे । ‘संविधान र लोकतन्त्रको पक्षमा फैसला भएन भने आँधीहुरी आउँछ, कसैले थेग्न सक्दैन नेपालमा । हिजो एउटा सानो समूहले विद्रोह गर्दा देशमा के भयो ? यो लाखौँ विशाल जनता भएको पार्टी, दुई अध्यक्ष छौँ, त्यसको नेतृत्वमा शान्तिपूर्ण क्रान्ति हुन्छ, त्यसलाई मैले ग्रिन रिभुलुसन भनेको छु ।’ 

निरंकुशताको पछि नलाग्न निर्वाचन आयोगसँग आग्रह
प्रचण्डले निर्वाचन आयोगलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीको डर, धाक र धम्कीका सामु निरीह बनेर आधिकारिकतासम्बन्धी विवादमा अन्यथा निर्णय नलिन चेतावनी दिए । ‘मैले आज सुनेँ, निर्वाचन आयोगमा गएर केपीजीले ३० दिन कट्यो, अब म्याद गयो भन्दै धम्क्याउनुभएछ । अलि बढी नभनौँ, तर लक्षण आयोगले गतिलो देखाएको छैन है,’ प्रचण्डले भने, ‘निर्वाचन आयोग ७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै, ३० दिन त के हामीले १० दिनभित्रै लखित जानकारी दिएका थियौँ, अनि त्यसलाई हिसाब नगर्ने ? अहिले केपीले गएर धम्क्याउनेबित्तिकै हिसाब गर्नुभो भने तपाईंको खुट्टी पनि देखिनेछ ।’ 

उनले ओलीको निरंकुशताको पछि लागेर देश र जनतालाई घात नगर्न आयोगलाई सचेत पनि गराए । ‘कसैले सजिलो नठाने हुन्छ, नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ । २१औँ शताब्दीको जनताले सामन्ती शासन ढाल्यो । त्यो शासन ढाल्ने केपी ओली होइन, माधव, झलनाथ, प्रचण्डको टिमले ढालेको हो । अब फेरि देशलाई दुःख दिने गल्ती कसैले गर्नुहुँदैन,’ प्रचण्डले भने, ‘निर्वाचन आयोग खुट्टा नकमाऊ भनेका छौँ, ओलीको ठगी धन्दाको पछि लाग्ने ? निरंकुशताको पछि लाग्ने ? ७० वर्षदेखिको संघर्षले स्थापित लोकतन्त्रमा घात गर्दा जनताले सहन्छ ? यस्तो भूल कसैले नगरोस् ।’ 

कांग्रेसलाई आग्रह– संयुक्त आन्दोलनको अवसर नगुमाओस्
प्रचण्डले शान्ति–सम्झौताको हस्ताक्षरकर्ता, संविधान निर्माणको अगुवाइ गरेको कांग्रेसले संयुक्त आन्दोलनको नेतृत्वको अवसर नगुमाओस् भन्ने आफ्नो चाहना रहेको पनि प्रस्ट्याए । ‘शान्ति–सम्झौतामा सात दलका तर्फबाट गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभएको हो । संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गर्नुभएको हो । कांग्रेसका सबै नेता–कार्यकर्ताले सम्झिनुभएको होला । विशेषाधिकार प्रधानमन्त्रीलाई दिनुहुँदैन भन्ने संविधान बनाउँदा पनि प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । अहिले गिरिजाप्रसाद र सुशील कोइराला हुनुहुन्न, शेरबहादुरजी हुनुहुन्छ,’ प्रचण्डले भने, ‘शान्ति–सम्झौता गर्ने, संविधान बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने तपाईं पनि नेता हो । म कांग्रेसका नेता–कार्यकर्तालाई अपिल गर्छु, यो अवसर गुम्न नदिनुस्, हामी हातेमालो गर्न तयार छौँ ।’

ओलीलाई जवाफ– प्रदर्शन कस्तो हुन्छ देख्नुभो ?
प्रचण्डले बुधबारको प्रदर्शनमा पाँच लाख सहभागी भएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रदर्शन र जनसभा कस्तो हुन्छ देख्नुभो भन्दै जवाफ फर्काएका छन् । ‘यहाँ बस्दाबस्दै केहीले मोबाइलमा मेसेज गरेर पाँच लाख उपस्थित छन् भनेका छन् । यो लाखौँ उपस्थितिपछि म केपीजीलाई भन्न चाहन्छु, देख्नुभयो, सभा कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ? तपाईं आफैँले लाखौँ जनताको उपस्थिति र यो विरोध, आवेग र पीडालाई देख्नुभएन भने चुनौती दिन्छु, हेर्नुहोला फेरि १० लाख जनता सडकमा उतारेर बालुवाटार र सिंहदरबार पनि घेर्नुपर्ने हुन्छ । यो चेतावनी हो ।’ 

त्यसो त ओली समूहतिर गएका फर्किने मान्छेहरूको लाम लागेको भन्दै पछिल्ला दिनमा दुई मन्त्री वार्ताको क्रममा रहेको पनि जानकारी गराए । ‘अरू त अरू, उहाँले बनाएका दुईजना मन्त्री पनि मसँग फर्किन वार्ता गर्दै छन् । केपीजी तपाईं भ्रममा कति दिन बाँच्ने हो ? राष्ट्र र जनताका विरुद्ध ठूलो अपराध गर्नुभयो, अलिकति आफूलाई ठाउँ राख्ने हो भने अब पश्चात्ताप गरेर राजीनामा दिनुस् । तर, तपाईं अझै निरंकुशतातिर जाँदै हुनुहुन्छ मलाई थाहा छ,’ प्रचण्डले भने ।

अयोध्याबारे अन्वेषण गर्न आग्रह 

अलोकप्रिय हुँदै गएपछि ओलीले धर्मको सहारा लिन लागेको टिप्पणी गर्दै प्रचण्डले चितवनको माडीमा अयोध्या पर्छ भनेर अन्वेषण गराउन आग्रह गरे । ‘केपीजीले अस्ति सभामा मैले राममन्दिर बनाउँदै छु, प्रचण्ड बोल्दै बोल्दैन भनेका छन् । मेरै निर्वाचन क्षेत्रमा मूर्ति पनि बनाइसक्नुभो रे ! मेरो चुनौती छ– तपाईंले साँच्चै चितवनको माडीमा, मेरो निर्वाचन क्षेत्रमा राममन्दिर र अयोध्या स्थापित गर्न खोजेको हो भने पहिला पुरातात्विक अन्वेषण गरेर प्रमाणित गर्नुस्, मभन्दा खुसी अरू कोही हुनेछैन । आफ्नो निर्वाचन क्षेत्रको जीवनस्तर मन्दिर बनाएर उठ्छ भने म विरोधमा जान्छु त ? तर, तपाईंजस्तो ठग, तपाईंको नाटक मैले तीन वर्षमा चिनेको छु,’ प्रचण्डले भने ।

म माधवजीको कार्यकर्ता 

प्रचण्डले आफू र माधव नेपालबीच फाटो ल्याउन ओलीले अनेक भ्रम फिँजाएको पनि बताए । ‘माधवजीलाई, झलनाथजीलाई, ५०औँ वर्ष सँगै काम गरेका नेता–कार्यकर्तालाई अपमानित गरेर तपाईंले ब्लन्डर गर्नुभएको छ । हेर्नुस्, मैले हिजो माधवजीलाई पनि भनेँ, हामी सबै शान्तिपूर्ण प्रतिस्पर्धा गर्ने भनेर आएका छौँ । तर, माधव र झलनाथजीलाई प्रचण्डको कार्यकर्ता भए भन्दिएका छन् । मैले प्रचण्ड माधवको कार्यकर्ता भएको भन्दिनुस् न भनेको छु । किनभने युद्धबाट त शान्तिमा प्रचण्ड आएको हो नि ! अनि केपी ओलीको ठगी धन्दा कस्तो छ भने १५ वर्ष नेतृत्व गरेको माधवजी र १२–१५ नेतृत्व गरेको झलनाथजीलाई कार्यकर्ता भन्दिने, पत्याउने मान्छे देखेर पो छक्क परेको छु,’ उनले भने । अहिलेको आन्दोलन फोहोर र धुलोमैलो पखाल्ने आन्दोलन भएको भन्दै माधवकुमार नेपाल, झलनाथ खनालसहित आफूलाई प्रधानमन्त्री बन्नुपर्ने आवश्यकता नरहेको पनि प्रस्ट्याए ।

बादललाई व्यंग्य : नराम्रो दिमाग भएकालाई धन्यवाद 
बेस्ट ब्रेन भएका सबैले अहिलेको आन्दोलनलाई समर्थन गरेको भन्दै प्रचण्डले बादललाई व्यंग्य गरे । ‘मैले भन्ने गरेको छु, सबै बेस्ट ब्रेन हाम्रो पक्षमा छन् । नराम्रा दिमाग भएकाहरू, म एक–दुईजनाको नाम लिन पनि चाहन्थेँ, अहिले लिन्नँ । कति नराम्रो दिमाग भएका छन्, जसले लोकतन्त्र र संविधानको पक्षमा लड्नेलाई चिडियाखानामा लाने भन्छन् । त्यस्ता मात्र त्यता छन् ।’ 

नेपालले भने– अब पशुपतिनाथले पनि ओलीलाई माफ गर्दैनन्

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अलोकप्रिय हुँदै गएपछि ओलीले धर्मको नाममा पशुपतिनाथको सहारा लिन खोजेको भन्दै असत्य र पाप कर्म गर्नेलाई देउताले पनि माफ नगर्ने टिप्पणी गरे । ‘केपीजी तपाईं मदन भण्डारीको नाम लिनुहुन्थ्यो, बिर्सिएर अब पशुपतिनाथको नाम जप्न थाल्नुभएछ । तर, पशुपतिनाथले पाप गर्नेलाई माफ गर्दैनन् चेतना भया । संविधान मिच्ने, जनअधिकार खोस्नेलाई । केपीको शासनमा सात हजार एक सय ७० चेलीबेटी बलात्कृत भएका छन्, उनीहरूको आत्माले भनिरहेको छ, तिम्रो असंवेदनशीलता देख्दा लाज लागेको छ, पशुपतिनाथले पनि धिक्कार्नेछन्,’ नेपालले भने । 

राज्य स्रोत दोहन गरेर, भाडामा मान्छे ल्याउँदा पनि २३ माघको आमसभामा उल्लेख्य जनसहभागिता नदेखिएपछि सिंगो ओली समूह निराश र हदप्रद भएको नेपालले दाबी थियो । 

खबरदार फर्मान तुरुन्त फिर्ता लिऊन्, हामी आयोगको साथमा छौँ 
नेपालले प्रधानमन्त्री ओलीले निर्वाचन आयोग पुगेर आधिकारिकताका विषयमा धम्क्याएको भन्दै निष्पक्ष निर्णयका लागि खबरदारी गरेका छन् । ‘निर्वाचन आयोगमा पुगेर केपी ओलीले धम्क्याएका छन्, उनी कहाँको प्रथम अध्यक्ष हुन्, नेकपाको हो कि ओली गुटको ? कि बालकोटको ?’ नेपालले भने, ‘विधानमा, निर्णयमा, सर्कुलरमा कतै लेखिएको छैन, ताज पहिरिएर आफैँ राजा भएका छन्, शंका छ भने चार सय ४१ को टाउको गने हुन्छ, हामी मार्चपास्ट पनि गराइदिन्छौँ ।’ 

आयोगले दफा ४४ अनुसार आधिकारिकतासम्बन्धी विवाद छिनोफानो गर्न खोज्दा ओलीले हस्तक्षेप गर्न खोजेको भन्दै नेपालले खबरदारी गरे । ‘निर्वाचन आयोगले दफा ४४ अनुसार प्रक्रिया अगाडि बढाउँदा केपी ओलीले हस्तक्षेप गर्न खोजेका छन्, खबरदार निर्वाचन आयोगको काममा केपी ओलीले कुनै हस्तक्षेप गर्न पाउने छैनन्, उनले त्यस्तो फर्मान तुरुन्त फिर्ता लिऊन्,’ नेपालले भने, ‘केपीजीलाई रहर छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ, अझै रहर भए ओली फाउन्डेसनको भने हुन्छ ।’ उनले अगाडि थपे, ‘संवैधानिक अंगका पदाधिकारीहरू आत्तिनुपर्ने अवस्था छैन, हामी साथमै छौँ, यो देशको संविधान र लोकतन्त्र कसैले समाप्त पार्न सक्दैन, हामी जीवित छौँ ।’

ओलीलाई कम्युनिस्ट पार्टीको नाम, लाल सलाम, अन्तर्राष्ट्रिय गीत मन नपर्ने, पार्टी विधान र बैठक भन्नेबित्तिकै रिँगटा चल्ने गरेकाले त्यस्तो मान्छे कम्युनिस्ट पार्टीको नेता हुनै नसक्ने नेपालले जिकिर गरे । निर्वाचन आयोगसँगै सर्वोच्च अदालतले पनि संसद् विघटनको विरुद्ध फैसला आउने विश्वास व्यक्त गर्दै नेपालले सूर्य चिह्नको सट्टा ओलीले मनपर्ने बयलगाडा चुनाव चिह्न रोज्न सक्ने विकल्प खुला रहेको बताए । 

ओलीले प्रचण्ड र आफूबीच फाटो ल्याउन भरमग्दुर प्रयास गरिरहेको भन्दै अहिलेको एकता र समझदारी पदका लागि नभएर विधि, पद्धति र असल कम्युनिस्ट पार्टी निर्माणका लागि भएका कारण भत्काउन नसक्ने दाबी गरे । उनले नयाँ पुस्ता पार्टी नेतृत्वका लागि तयार हुँदै गएकाले अब बिस्तारै उनीहरूको काँधमा नेतृत्व हस्तान्तरणको वातावरण बनाउँदै जाने पनि प्रस्ट्याए । 

ओलीले पूर्वएमाले एक हुनुपर्ने भन्दै भ्रम फिँजाएर सेन्टिमेन्ट क्यास गर्न खोजेकोप्रति कटाक्ष गर्दै उनी एमालेको सट्टा बिमाले भइसकेकाले मूल घरबारे कुनै भ्रम नराख्न कार्यकर्ताको ध्यानाकर्षण पनि गराए । ‘केपी ओलीले पूर्वएमाले एक हुनुपर्छ भनेर भ्रम फिँजाउँदै आएका छन्, उनी बिमाले भइसके, त्यो समूह ओली फाउन्डेसनमा परिणत भइसक्यो, जोसँग कुनै सिर्जनात्मक सोच र क्षमता छैन त्यसकारण मूल घर यही (नेकपा) हो, कसैले भ्रम राख्न जरुरी छैन,’ नेपालले भने ।

अब ओलीको १६५ क्षेत्रमै जमानत जफत हुन्छ : खनाल 
वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहले गरेको प्रदर्शनमा सहभागी जनसमूह नै आधिकारिक पार्टीको प्रमाण भएको भन्दै अलमलमा परेर निर्णयमा ढिलाइ नगर्न निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराए । ‘निर्वाचन आयोगका आयुक्तहरू अलमलिनुपर्दैन, आधिकारिक पार्टी कुन हो, प्रदर्शनलाई हेर्नुस्, यो उपस्थितिले प्रमाण दिइसकेको छ,’ खनालले भने, ‘ऐन, कानुन कहाँ के मिलाउनुपर्ने हो, प्रक्रिया के मिलाउनुपर्ने हो मिलाउनुस्, तर ढिलो नगर्नुस्, ढिलो गर्दा अप्ठ्यारो पर्न सक्छ ।’ 

अहिलेको आन्दोलन प्रधानमन्त्रीका लागि नभएर संविधान र लोकतन्त्रको रक्षा, समाजवादको लक्ष्य प्राप्ति तथा स्थिरताका पक्षमा भएको प्रस्ट्याउँदै खनालले आन्दोलनले प्रतिक्रान्तिविरुद्ध क्रान्तिको रूप लिँदै गएको पनि दाबी गरे । 

ओली गुट सैद्धान्तिक, वैचारिक र राजनीतिक रूपले पराजित भएर पशुपतिनाथको शरणमा पुगेको भन्दै खनालले ओलीमा माक्र्सवाद र विज्ञानसँग कुनै विश्वास नरहेको पनि बताए । ओली गुट सैद्धान्तिक, वैचारिक र राजनीतिक रूपले पराजित भएर पशुपतिनाथको शरणमा पुगेको भन्दै खनालले ओलीमा माक्र्सवाद र विज्ञानसँग कुनै विश्वास नरहेको पनि बताए । ‘केपी ओलीलाई अब माक्र्सवादमा कुनै विश्वास छैन । उनी पशुपतिमा गएर संकल्प पूरा गर्ने अवस्थामा पुगे,’ खनालले भने, ‘उनलाई माक्र्सवाद र भविष्यमाथि विश्वास छैन । ओलीलाई अब पशुपतिनाथको मूर्तिमाथि विश्वास छ ।’ 

अबको चुनावमा दुईतिहाइ बहुमत ल्याउने प्रधानमन्त्री केपी ओलीले गर्दै आएको दाबीप्रति कटाक्ष गर्दै एक सय ६५ वटै निर्वाचन क्षेत्रमा उनको समूहको दुई वर्षपछिको चुनावमा जमानत जफत हुने दाबी गरे । ‘मिस्टर केपी ओली तपाईंको खुट्टी हेर्दै पत्यायौँ, अब तपाईंले दुईतिहाइ पाउने होइन, तपाईंकै जमानत जफत हुनेछ । अब दुई वर्षपछि चुनाव हुन्छ, हेर्नुहोला– मेचीदेखि महाकालीसम्म एक सय ६५ वटै निर्वाचन क्षेत्रमा तपाईंको जमानत जफत हुनेछ, हामी आजकै सभाबाट यो घोषणा गर्छौँ ।’

लोकतन्त्रको हत्या गर्ने, संविधानलाई घात गर्ने चुनाव चाहिएको छैन : श्रेष्ठ
प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतन्त्रको हत्या र संविधानलाई घात गरेर केपी ओलीले सबै लोकतन्त्रवादी चुनावको पक्षमा रहेको स्यालहुइयाँ मच्चाएको दाबी गरे । ‘हामी चुनावको पक्षमा छौँ, सारा लोकतन्त्रवादी चुनावकै पक्षमा छन्, तर कुन चुनाव ? तर लोकतन्त्रको हत्या गर्ने, संविधानलाई घात गर्ने चुनाव हामीलाई चाहिएको छैन,’ श्रेष्ठले भने, ‘त्यो चुनाव गर्नका लागि घोषणा गरिएको होइन, त्यसैले त्यस्तो चुनाव हामी खारेज गर्छौँ ।’

संसारभरि दुई तरिकाले फासीवादीहरूले निरंकुशता लाद्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै श्रेष्ठले ओलीले गरेको त्यस्तो प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने उद्घोष पनि गरे । संसारमा एउटाले संविधान च्यातेर र अर्कोले विकासको नारा दिएर संविधान र लोकतन्त्रलाई बिस्तारै हत्या गरेर फासीवाद विकास हुने गरेको भन्दै ओलीले पनि दोस्रो तरिकाबाट लोकतन्त्रको हत्या गर्न खोजेको उनको भनाइ थियो ।

श्रेष्ठले कांग्रेस र जनता समाजवादी पार्टीलगायतसँग संयुक्त आन्दोलनका लागि वार्ता चलिरहे पनि सहमति नजुटेसम्मका लागि भिन्नभिन्नै रूपबाट सरकारविरुद्ध प्रहार केन्द्रित भइरहेको बताए । विगतका कमजोरीप्रति समीक्षा गरेर आत्मालोचित हुने, मुलुकलाई आर्थिक र सामाजिक रूपान्तरण गर्दै समाजवादतिर लैजाने, विधि स्थापित गर्दै योग्य र क्षमतावान्लाई उपयुक्त ठाउँमा उपयुक्त जिम्मेवारी दिने, भ्रष्टाचारमुक्त देश बनाउने गरी आन्दोलनलाई केन्द्रित गर्न खोजेको भन्दै सोहीअनुसार आफ्नो समूहले श्वेतपत्रको तयारी गरिरहेको संकेत गरे ।