१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार १६:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकतन्त्रको हत्या गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् : माधव नेपाल (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार १६:०९:००

नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संविधान र लोकतन्त्रको हत्या गर्ने प्रधानमन्त्री केपी ओलीलाई पशुपतिनाथले पनि माफी नदिने बताएका छन् । ‘ओलीजी, तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुभएको थियो, अब त्यो नाम पनि बिर्सिसक्नुभएको छ, अब पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ, तर पशुपतिनाथले पनि कसलाई माया गर्छन् थाहा छ ?’ काठमाडौंमा भएको विरोध सभालाई सम्बोधन गर्ने क्रममा प्रश्न गर्दै नेपालले भने, ‘जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ, उसलाई मात्रै माया गर्छन् । पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ।’ उनले अघि भने, ‘चेतना भया,  केपी ओलीलाई, संविधान मिच्ने मिचाहालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, जनाधिकार कुल्चिनेहरूलाई, पाप गर्नेलाई पशुपतिनाथले पनि माफी गर्दैनन् ।’ 

अध्यक्ष नेपालले ओलीको शासन देखेर उनको शासनकालमा बलात्कृत सात हजार एक सय ७० नेपाली चेलीको आत्माले पनि लाज मानिरहेको बताए । ‘ती बलात्कृत चेलीहरूको आत्माले भनिरहेको छ, ‘ए प्रधानमन्त्री ओली,  तिमीले कति जना अपराधीलाई जेलमा कोचेका छौ ? तिम्रो संवेदनहीनतालाई देख्दाखेरि, तिम्रो असंवेदताशीलतालाई देख्दाखेरि हामीलाई लाज लागिरहेको छ, तिमीजस्ता मान्छे नेपाली आमाले जन्माइन्, त्यो पार्टीले तिमीलाई प्रधानमन्त्री पदमा पुऱ्यायो, आज त्यही पार्टी तिमी सिध्याउन लागेका छौ, त्यही लोकतन्त्र समाप्त पार्न लागेका छौ, तिमीलाई धिक्कार छ,’ नेपालले भने, ‘अब पशुपतिनाथले पनि त्यही भन्लान्, केपी ओलीलाई धिक्कार छ ।’ 

उनले संविधान र लोकतन्त्रमाथि गरेको पाप त्यति सजिलै कसैले पनि धोइपखाली गर्न नसक्ने बताए । उनले मदन भण्डारीले तत्कालीन अन्य पार्टीका सभालाई तुलना गरेर भनेको सम्झिँदै भने, ‘हामीले आयोजना गरेको सभालाई धरहराबाट हेर्नुपर्ने हुन्छ, केपी ओलीसँग केही हजार मान्छेबाहेक यत्रो सरकारी साधन खर्च गर्दा पनि सारा भ्रष्टाचार गर्दा पनि, मान्छेलाई भाडामा ल्याउँदा पनि बिचराहरूको सभा यति सानो भएछ, सिंगै ओली समूह निराश भएको छ ।’ 

उनले आफ्नो पक्षमा जनता नदेखिएपछि ओली समूहले धम्की र अधिनायकको बाटो रोजेको बताए । ‘ओली समूह अहिले तर्कमा होइन, धम्कीमा । ऊ छलफलमा होइन, आदेश दिने कुरामा । ऊ बहुमतमा होइन, आफ्नो अधिनायकवादी प्रवृत्तिमा, उसलाई विश्वास हुन थालेको छ,’ नेपालले भने, ‘यदि जनमतमा विश्वास हुँदो हो भने त्यो व्यक्तिले पार्टीको निर्णयलाई मान्न तयार हुनुपर्थ्याे ।’