मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार १५:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीलाई एक मिनेट पनि सरकारमा बस्ने अधिकार छैन : नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार १५:३७:००

नेकपाका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई सरकारमा बसिरहने आधार समाप्त भइसकेको बताएका छन् । ‘उहाँ आफैँले असंवैधानिक ढंगले प्रतिनिधिसभाको विघटन गर्नुभयो, त्यसैले केपी ओली अहिले संसद्को सदस्य छैनन्, अब राष्ट्रपतिले कामचलाउ सरकारको घोषणा पनि नगरेको अवस्थामा यो अवैधानिक सरकार हो, असंवैधानिक काम गर्ने सरकार अवैधानिक हो,’ उनले भने, ‘अब केपी ओलीलाई एक मिनेट पनि सरकारमा बस्ने अधिकार छैन ।’ 

प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको विरोध सभामा श्रेष्ठले अवैधानिक सरकारको प्रतिगामी कदम, अवैधानिक नियुक्तिहरू, बलमिच्याइँपूर्ण र ज्यादतीपूर्ण कामहरूको अन्त्य गर्नका लागि संघर्ष थालिएको बताए । 

उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई असफल बनाएर संसदलाई सुचारु बनाउने यो संघर्षको पहिलो उद्देश्य भएको बताए । 

उनले  अवैधानिक र असंवैधानिक ढंगबाट संवैधानिक परिषद्का पदाधिकारीहरूको नियुक्ति भएको भन्दै त्यसको खारेजीका लागि संघर्षमा उत्रिन आग्रह गरे । 

प्रवक्ता श्रेष्ठले सरकारी गुटले चुनावको घोषणा गरेर आफूलाई सबैभन्दा लोकतन्त्रवादी दाबी गरिरहेको भन्दै संविधान मास्ने गरी हुने चुनावको अर्थ नरहेको बताए । ‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरू छन्, तर कुन चुनाव ? संविधानअन्तर्गतको चुनाव ? संविधानलाई लागू गर्ने चुनाव ?’ उनले प्रश्न गर्दै भने, ‘कि संविधानलाई ध्वस्त गर्ने ? संविधानलाई घात गर्ने चुनाव ? कि संविधानलाई अपहरण गरेर संविधानलाई घात गर्ने संविधानविरोधी चुनाव ? हामीलाई त्यस्तो चुनाव चाहिएको होइन, त्यो लोकतन्त्रअन्तर्गतको चुनाव होइन, चुनाव लोकतन्त्रलाई कार्यकारी बनाउनका लागि हुन्छ, लोकतन्त्रको हत्या गर्न होइन ।’ 

उनले प्रतिगमनविरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै आन्दोलनले त्यसलाई असफल बनाउने बताए । 

उनले वाम गठबन्धन बनाउँदा निश्चित कामहरू गर्ने योजना बनाए पनि सरकारको नेतृत्वमा निरंकुश र स्वेच्छाचारी व्यक्तिलाई जिम्मा लगाएका कारण जनताले दिएको जिम्मेवारी पूरा गर्न नसकेको बताए । ‘हामीले समयमै सच्याउने काम चाल्न सकेनौँ, हामीले प्रतिबद्धता व्यक्त गरेका काम गर्न सकेनौँ, हामी क्षमाप्रार्थी हुँदै आगामी दिनहरूमा अघि बढ्नेछौँ,’ उनले भने । 

‘संविधान र कानुनले भनेका काम भनसुन र घुसखोरीविनै गर्ने पद्धतिको सुरुवात गर्न सकेनौँ, नयाँ युगको सुरुवात भयो भनेर हामीले जनतालाई सन्देश दिन सकेनौँ,’ उनले थपे, ‘तर, अब हामी त्यसलाई सुधारेर अघि बढ्ने योजनासहित प्रस्तुत भएका छौँ ।’