१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २८ बुधबार ०८:५६:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

हिमताल विस्फोटको जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २८ बुधबार ०८:५६:००

आइतबार भारतको उत्तराखण्डको हिमालय क्षेत्रमा एउटा हिमताल विस्फोट हुँदा ठूलो संख्यामा मानिसको ज्यान गएको छ । नन्दादेवीमा हिमताल विस्फोट हुँदा धौलीगंगा नदीमा आएको बाढीले उक्त नदीको उपल्लो खोंचमा जलविद्युत्को बाँध बनाउने काममा संलग्न दुई सयजनाजति मजदुर बेपत्ता भएका थिए । हिजोसम्म २६ जनाको शव भेटिएको र अझै बेपत्ता रहेको बताइएको छ । नदीकिनारका भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ । यो पछिल्लो समय ग्ल्यासियर भनिने हिमताल फुट्दा या ठूलो मात्रामा हिउँका ढिक्काको पहिरो जाँदा त्यसको पानीढलोको इलाकामा आउने बाढी शृंखलाको पछिल्लो समाचार मात्र हो । 

नेपालमा पनि ०६९ वैशाखमा माछापुच्छ्रेको फेदीतिर यस्तै हिमताल भत्केर सेतीनदीमा बाढी आउँदा दर्जनौँ मानिसको ज्यान गएको, कैयन् परिवार आफ्नो वासस्थानबाट विस्थापित भएका र ठूलो मात्रामा भौतिक संरचनाको विनाश भएको थियो । त्यसको केही वर्षपहिले कास्कीकै मादीनदीमा कफुचे तालबाट एक्कासि बाढी झर्दा मादीकिनारका बस्तीमा क्षति पुगेको थियो । नेपालमा धेरै संख्यामा यस्ता हिमताल रहेको र कतिपय विस्फोटको अवस्थामा रहेको भनेर लामो समयदेखि चर्चा गरिएको छ । कतिपय ठाउँमा सरकारले आवश्यक सतर्कताका लागि बन्दोबस्त गरेको भए पनि हिमालको काखमा रहेका कतिपय ग्लेसियरको अवस्था अझै पनि अध्ययन भइसकेको छैन । यस्ता ग्लेसियर पछिल्लो समय पर्यटक तान्ने प्राकृतिक सौन्दर्यका साधन बन्ने गरेका छन् । 

हिमालय क्षेत्रमा जलवायु परिवर्तनका जुन तीव्र प्रभावहरू छन्, तिनलाई हेर्दा यससम्बन्धी जोखिमको समयमै आकलन गर्दै न्यूनीकरणका लागि आवश्यक तयारी गर्नुपर्ने देखिन्छ

पछिल्लो सयम जलवायु परिवर्तनका कारण भएको विश्वव्यापी तापक्रम वृद्धिको सबैभन्दा ठूलो प्रभाव व्यहोर्ने पनि यही हिमाल क्षेत्र भएको छ । हिमालमा थुप्रिएको हिउँ बर्सेनि एकमिटरका दरले घटिरहेको जनाइन्छ । यसको अर्थ यसरी पग्लेको हिउँ कतिपय हिमतालमा जम्मा हुन्छ, कतिपय खोंचमा नयाँ हिमताल बन्छन् । त्यस्ता तालमा एक्कासि हिउँका ढिक्का खसे भने त्यहाँको पानी ह्वात्तै बाहिँरिदा पनि त्यहाँबाट पानी जाने नदीहरूमा बाढी आउने गरेको छ । अन्नपूर्णको फेदीमा बनेको कफुचे ताल र त्यहाँ दिनहुँजसो ताङतिङबाट देखिने हिउँपहिरोको दृश्य हेर्दा पनि यसको जोखिम र प्रभाव आकलन गर्न सकिन्छ । पछिल्लो समय नेपालमा जलविद्युत्को क्षेत्रमा ठूलो लगानी भइरहेको छ । 

अधिकांश यस्ता जलविद्युत् परियोजना बग्ने पानीमा आधारित हिमनदीमा बनेका छन् । नेपालको विद्युत् आपूर्तिको मुख्य स्रोत पनि यही हो । नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश र चीनको मुख्य जलाधार पनि यही हिमालय क्षेत्र हो । हिमालय क्षेत्रमा जलवायु परिवर्तनका जुन तीव्र प्रभावहरू छन् र तिनले खासगरी हिमनदीको अवस्थिति या गतिशीलतामा जे प्रभाव पारिरहेका छन्, तिनलाई हेर्दा यससम्बन्धी जोखिमको समयमै आकलन गर्दै न्यूनीकरणका लागि आवश्यक तयारी गर्नुपर्ने देखिन्छ । सम्भवतः यसको जोखिममा हाम्रा छिमेकीको तुलनामा हामी नै अगाडि छौँ । सरकारले यसको जोखिम न्यूनीकरणमा आवश्यक तयारी गर्नु आवश्यक छ । अब यस्ता काममा स्थानीय र प्रदेश सरकारलाई पनि जिम्मेवारी वितरण गर्नु जरुरी छ ।