मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार ०८:४३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार ०८:४३:००

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उत्पादनमूलक उद्योगहरूको क्षमता वृद्धि र प्रतिस्पर्धी बनाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । मंगलबार मुख्यसचिव शंकरदास वैरागीसँगको भेटवार्तामा उनले युवाशक्ति बिदेसिनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै स्वदेशमै अवसर प्रदान गर्न सरकार र निजी क्षेत्र एकैसाथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । 

परिसंघका पदाधिकारीले सिंहदरबारमा मुख्यसचिव वैरागीसँग भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने विषयमा छलफल गरेका थिए । परिसंघको अनुसन्धान एकाइले अध्ययन गरेर तयार पारेको नेपालमा उद्योग दर्ताको स्थिति र रोजगारी सिर्जनाका विषयमा पनि छलफल भयो । भेटवार्तामा नेपालको अर्थतन्त्रलाई माथि उठाउन आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भरतर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो । 

मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सिर्जना गर्न सक्ने धारणा व्यक्त गरे । उनले भने, ‘अहिले सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकाले यसतर्फ निजी क्षेत्रको ध्यान जानुपर्छ ।’ 

भेटवार्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोयानारायण ज्ञवाली, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष अनुज अग्रवालको उपस्थिति थियो ।