मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ २७ मंगलबार १४:३७:००
Read Time : > 1 मिनेट
फिचर

ट्रम्पविरुद्ध महाअभियोगको ट्रायल आज 

Read Time : > 1 मिनेट
२०७७ माघ २७ मंगलबार १४:३७:००

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने क्रममा सिनेटले मंगलबार राति (११ः४५ नेपाली समय) ‘ट्रायल’ गर्दैै छ । अमेरिकाको दुई सय ३१ वर्षको इतिहासमा दोस्रोपटक महाअभियोग सामना र पदबाट हटेपछि पनि महाअभियोग झेल्ने ट्रम्प पहिलो राष्ट्रपति हुनेछन् । महाअभियोग सुनुवाइमा डेमोक्रेटिक पार्टीले दुईतिहाइ मत जुटाउनुपर्छ । अहिले संसदमा रिपब्लिकन तथा डेमोक्रेटिकका समान ५० सदस्य छन् । 

ट्रम्पमाथि महाअभियोग पारित गर्न डेमोक्रेटिकले रिपब्लिकनका कम्तीमा १७ संसद्लाई आफ्नो पक्षमा लिनुपर्ने हुन्छ । गत ६ जुलाईमा क्यापिटल हिलमा भएको हिंसात्मक गतिविधि हुनुको पछाडि निवर्तमान राष्ट्रपति ट्रम्पलाई मुख्य जिम्मेवार ठानिएको छ । डेमोक्रेटिक पार्टीले ट्रम्पलाई ‘उत्तेजित तथा विद्रोही’ व्यक्तिको संज्ञा दिएको छ । यता रिपब्लिकन पार्टीले ट्रायल प्रक्रियालाई असंवैधानिक बताएको छ ।

आजै छिनोफानोको सम्भावना कम 
दुई पक्षबीच वादविवाद चलिरहे पनि मंगलबार राति नै यसको छिनोफानो हुने सम्भवना भने कम छ । ट्रम्पका वकिलले आफ्ना सेवाग्राही सामान्य नागरिकका रूपमा जीवन बिताइरहेका कारण महाअभियोग लगाउन नमिल्ने तर्क राखेका छन् । ‘यो असंवैधानिक हो किनेभने ट्रम्प अहिले अमेरिकाका राष्ट्रपति होइनन्, उनी एक आमनागरिक बनिसकेका छन्, यस्तो अवस्थामा महाअभियोगविरुद्ध ट्रायल गर्ने प्रक्रिया गलत हो,’ ट्रम्पका वकिलले भने । 

संसदमा दुवै पक्षलाई आ–आफनो दाबी प्रस्तुत गर्न चार घन्टाको समय दिइएको छ । यसबाट कुनै समाधान नआउँदा मतदान हुने बिबिसीले जनाएको छ । डेमोक्रेटिक पार्टीले ट्रायलका लागि सबै तयारी पूरा भएको जनाएको छ । सिनेटबाट नेतृत्व गरिरहेका चक स्चुमेरले सबैको अनुमति र सहमतिमै ट्रायल हुन लागेको जानकारी दिएका छन् । ‘यो सबै पार्टीकै सहमति र संविधानअनुरूप नै ट्रायल प्रक्रिया अगाडि बढाउन लागेको हो,’ स्चुमेरले भने । 

मंगलबार महाअभियोग पारित भएपछि बुधबार खुला बसहमा दुवै पक्षलाई १६ घन्टाको प्रस्तुतीकरण समय दिइएको छ । दुवै पक्षबीच बहस लम्बिँदा यसको अन्तिम नतिजा आउन एक साता लाग्ने बिबिसीले जनाएको छ । दुवै पक्षका वकिलले छिट्टै समाधान निकाल्नुपर्ने बताइरहेका छन् । ट्रम्पले आफूमाथि लगाइएको सबै आरोप झुटो भएको बारम्बार बताइरहेका छन् ।

आरोप–प्रत्यारोप
डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच गत नोभेम्बरमा सम्पन्न ४६औँ अमेरिकी राष्ट्रपतीय निर्वाचनदेखि नै वाकयुद्ध चलेको थियो । निर्वाचनको नतिजा आएपछि ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप लगाए । डेमोक्रेटिकहरूले ट्रम्पले हार सामना गर्न नसक्दा अनावश्यक रूपमा आफ्ना समर्थकलाई उत्तेजित पारेको तथा हिंसात्मक गतिविधि गर्न प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । 

६ जनवरीमा ट्रम्पकै भड्किलो भाषणका कारण क्यापिटल हिलमा भएको हिंसामा पाँचजना व्यक्तिको निधन भएको डेमोक्रेटिकको आरोप छ । उनीहरूले निर्वाचनमा कुनै पनि धाँधली नभएको दाबी गरेका छन् । डेमोक्रेटिकले ट्रम्पले आफ्नो कार्यकालमा पदीय दुरुपयोग गरेको आरोप पनि लगाएको छ । ‘ट्रम्पले अमेरिकाको नियम–कानुन पालना नगरेकाले अमेरिकामा शान्ति कायम गर्न सकेनन,’ डेमोक्रेटिक पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिका रूपमा ट्रम्पले असंवैधानिक काम गरेका छन् ।’

यसैबीच संसद् व्यवस्थापन गर्नेहरूले ट्रम्पको भिडियो बारम्बार प्रसारित हुँदा समर्थकहरू उत्तेजित भइरहेको बताएका छन् । ट्रम्पका वकिलहरूले आफ्नो क्लाइन्टले एक आमनागरिकको हैसियतमा स्वतन्त्र अभिव्यक्ति दिएको र कसैलाई हानि वा उत्तेजना पु¥याउने उद्देश्यका साथ भाषण नदिएको दाबी गरेका छन् । 
–एजेन्सीको सहयोगमा