• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

प्रशासन सुधारमा नाैलाे सिद्धान्त : के हाे ब्रान्डिङ पञ्चकाेण ?

२०७५ माघ २९ मंगलबार १७:०१:०० | काठमाडाैं

संस्था र त्यसलाई डो-याउने रणनीतिलाई नै ब्रान्डिङ रणनीतिमा रूपान्तरण गर्ने तरिका पञ्चकोणले सिकाउँछ । ब्रान्डिङका सिद्धान्तहरूलाई परिभाषित गर्न, ब्रान्डलाई तयार गर्न, ब्रान्डमा इच्छित अवस्था चयन गर्न र ब्रान्डलाई दैनिकीमा ग्रहण गर्न यस मोडेलले सघाउँछ । 

विद्यमान ब्रान्डिङलाई थप सुधार गर्न र नयाँ ब्रान्ड निर्माण गर्न पनि यो पञ्चकोण फलदायी हुन्छ । यसले ब्रान्ड तथा त्यससँग सम्बन्धित रणनीतिका लागि ‘फ्रेमवर्क’ दिन्छ । यस मोडेलअन्तर्गत सोधिने प्रश्नहरू यस प्रकार हुन्छन् ः

 -ब्रान्डको सेवा वा वस्तु कसका लागि हो त ?
 -यो सेवा अथवा वस्तुले के गर्छ ?
 -सेवाग्राहीलाई यस ब्रान्डले के–कस्तो उपयोग दिन्छ ?

संस्थाका उत्पादन र त्यसको वरिपरि विचरण गर्दै गरेका अन्य उत्पादन, सेवा र स्वयं संस्थाको छविलाई ब्रान्डले नै चिनाउँछ । संस्थाको वर्तमान अवस्था कस्तो छ भन्ने पनि ब्रान्डले संकेत गरेको हुन्छ । यस्ता संकेतलाई चिनेर स्पष्ट संरचनाद्वारा निश्चित दिशामा डो-याउने प्रक्रिया ब्रान्डिङ क्रियाकलाप हो । 

ब्रान्डिङ पञ्चकोण त्यस्तो फ्रेमवर्क हो, जसले ब्रान्डिङ रणनीतिका पाँच नभई नहुने तत्वको मूल्यांकन गर्छ । ब्रान्डिङ पञ्चकोणमा रहेका यी पाँच अन्तरसम्बन्धित तत्व यसप्रकार छन् ः

१. ब्रान्डिङ सिद्धान्त
 ब्रान्डको लक्ष्य के हो ? ब्रान्ड तयार भइसकेपछि यसले कस्ता लक्ष्य प्राप्त गर्ने भन्ने सोच संगठनको हो ?
 ब्रान्डमा कस्ता खालका मूलभूत मान्यताहरू राखिएका छन् र यसबारे व्यवस्थापनको इच्छा के हो ?
 ब्रान्डको आर्किटेक्चर के हो र ब्रान्डमा के–के विषय पर्नुपर्ने हो ?

२. ब्रान्डको अवस्थिति
ब्रान्डका चरण – ब्रान्डलाई कस्तो मापदण्डद्वारा विभाजित गरेर प्रस्तुत गर्ने हो ?
ब्रान्डको लक्षित समूह – ब्रान्ड कुन समूहका लागि भनेर हो ?
ब्रान्डको स्थिति – प्रतिस्पर्धी ब्रान्डका महत्वपूर्ण र सफल तत्वहरूभन्दा यो कति फरक हो ? ब्रान्डका रूपमा आउने उत्पादन र त्यसलाई बनाउने संगठनको कार्यसम्पादनलाई सेवाग्राहीले कस्तो ठान्छन्, सो पनि हेरिन्छ ।

३. ब्रान्डका संवाहकहरूको नियमितता
ब्रान्डलाई कसरी अघि लैजाने भन्ने निधो भएपछि मात्र त्यसको प्रभावकारिता बढ्न सक्छ । तसर्थ, ब्रान्डको स्थिरताका लागि संगठनका विद्यमान उत्पादन र सेवासँग गाँसेर नयाँ ब्रान्ड अगाडि बढाउनुपर्ने हुन्छ । साथै, कार्यरत कर्मचारीले सो ब्रान्डबारे कस्ता कुरा बाहिर ल्याउने र उत्पादनसँग जोडिएका अन्य पक्षमा कर्मचारीको व्यवहार कस्तो हुने भन्ने विषयले पनि महŒव राख्छ । ब्रान्डको स्थिरतालाई मजबुत पार्न संगठनले गर्ने सञ्चार पनि महत्वपूर्ण हुन्छ ।

४. ब्रान्ड स्थापना
स्थिरताबारे पक्का भएपछि ब्रान्डलाई स्थापित गर्न थालिन्छ । ब्रान्ड कायम गर्ने विषयमा हुने आन्तरिक जिम्मेवारीहरू पनि सँगसँगै समायोजित गरिन्छन् । ब्रान्डिङ नीतिको जिम्मेवारी र संशोधनको अधिकार जिम्मेवार पदाधिकारीको नेतृत्वमा टिमले वा स्वयं सञ्चालक समितिले राख्छ । ब्रान्ड स्थापित गर्न सबैभन्दा महत्वपूर्ण भनेको यसलाई संगठनको संस्कृतिमा नै ढाल्ने कार्य हो । संगठनका कर्मचारीहरूको व्यवहारमा नै ब्रान्ड सामेल गराउन सक्नुपर्छ ।
 
५. योजना तथा नियन्त्रण चक्र
योजना कार्य ब्रान्डिङ नीतिका अल्पकालीन र दीर्घकालीन स्मार्ट लक्ष्य तर्जुमासँगै प्रारम्भ हुन्छ । मापनयोग्य विधि तय भएपछि योजना र नियन्त्रण कार्य थालिन्छ । ब्रान्डबाट के प्राप्त भयो र कुन स्तरसम्म प्राप्त भयो भन्ने हेर्न सक्नुपर्छ । साथै, आवश्यक परेदेखि समायोजन गर्नुपर्छ ।

-ब्रान्डिङ त्यतिवेला स्तरीय हुन्छ, जब ब्रान्डले दिएको वास्तविक अनुभव र ब्रान्डबाट अपेक्षा गरिएको अनुभव बराबर हुन पुग्छ । यस्तो भए मात्र ब्रान्डिङले दिगो र प्रतिस्पर्धी लाभ दिने मानिन्छ । तर, यसविपरीत एक असफल ब्रान्डिङले संगठनको भइरहेको प्रतिस्पर्धी लाभ आर्जन गर्ने क्षमता पनि घटाउँछ । कुशल ब्रान्डिङका लागि यी कुरामा पनि ध्यान दिनैपर्छ । 

-ब्रान्ड र ब्रान्डिङ कार्य प्राकृतिक रूपमै विषयगत कार्य हो ।

- विश्वका धेरैजसो ब्रान्ड कुनै उत्पादनभन्दा पनि स्वयं संगठनकै नाम हुने गरेका छन् ।

- ब्रान्ड भनेको कुनै एक सेवा, संगठन वा कुनै आकांक्षा पनि हुन सक्छ ।

-ब्रान्डका धेरै रूप हुन सक्छन् । ब्रान्ड भनेको कुनै नामविशेष मात्र होइन । ब्रान्डलाई कुनै भौतिक पदार्थमा मात्र सीमित गरेर हेर्न मिल्दैन ।

नेपालको सार्वजनिक प्रशासनको सन्दर्भमा हेर्दा ब्रान्डिङ कार्य चुनौतीपूर्ण विषयवस्तु हो । तथापि ब्रान्ड सिर्जना गर्न सकिने स्थान थुप्रै छन् । सार्वजनिक सेवा प्रवाह, सार्वजनिक क्षेत्रले उत्पादन गर्ने वस्तु र संगठनको कार्यशैलीको ब्रान्डिङ गर्न सकिन्छ । विगतमा नेपालको सार्वजनिक प्रशासनमा केही ब्रान्ड सिर्जना भएका पनि छन् । जस्तो : २ घन्टे सेवा, मुस्कानसहितको सेवा, नेपाल टेलिकमको ल्यान्डलाइन फोन, उदयपुर सिमेन्ट, साझा यातायात केही सफल सार्वजनिक ब्रान्डका उदाहरण हुन् । सुधार गरेर कुशल ब्रान्डिङ गर्नुपर्ने केही सेवाहरू जस्तो : राष्ट्रिय ध्वजाबाहक, मालपोत रजिस्ट्रेसन सेवा, राष्ट्रिय परिचयपत्र, नेपाल टेलिभिजन, विश्वविद्यालय शिक्षा, अस्पतालका सेवालगायतलाई लिन सकिन्छ । 

प्रतिकृया दिनुहोस