मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी ऋषिकेश
२०७७ माघ २६ सोमबार १६:५१:००
Read Time : > 1 मिनेट
विश्व

भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु, दुई सयजना बेपत्ता

Read Time : > 1 मिनेट
रासस/एएफपी ऋषिकेश
२०७७ माघ २६ सोमबार १६:५१:००

भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको र दुई सयजनाभन्दा बढी बेपत्ता भएका छन् । आइतबार गएको हिमपहिरोका कारण तीव्र वेगको पानी र हिउँले पुल, सडक र दुईवटा विद्युत्गृहमा क्षति पुगेको छ । 

स्थानीय ओम अग्रवालले नदीको भेल पहाड खसेजस्तै देखिएको बताएका छन् । नदी वरपरको जमिनमा भूकम्प गएझैँ कम्पन अनुभव गरिएको उनले बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म साँझसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले कम्तीमा अझै दुई सयजना हराइरहेको बताए । बेपत्ता भएका सबैजसो व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । ‘यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरू काममा थिए,’ मुख्यमन्त्री रावतले भने । 

आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो, तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपत् राहत अधिकारी पियूष राउटेलाले बताए । उनले भने, ‘झन्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै सय मिटर सफा गर्नुपर्ने अवस्था छ ।’

धेरैजना उद्धारकर्मी सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरू, सेना र प्रहरीका टोलीहरू घटनास्थलमा खटिएका छन् । सामाजिक सञ्जालमा धेरै व्यक्तिले घटनाको प्रत्यक्ष भिडियोहरू पोस्ट गरेका छन् । साँघुरो उपत्यकाबाट तीव्र गतिमा पानी तलतिर बगेका भयानक दृश्यहरू देखिएका छन् ।

विद्युतगृहको सुरुङ (टनेल) भित्र कार्यरत एकजना २८ वर्षीय मजदुर राजेश कुमारले बाढी आउँदा आफूहरू सुरुङको तीन सय मिटर भित्र रहेको बताए । उनले भने, ‘हामी सबै दौडियौँ, तर पानी जोडले भित्र पस्न थाल्यो । यो कुनै हलिउडको चलचित्रको जस्तै दृश्य थियो । हामीलाई बाहिर निस्कन सकौँला भन्ने लागेकै थिएन ।’

भारतीय अधिकारीहरूले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर, यो हिमताल विस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र बिस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिराहरू बढी नै जान थालेको विज्ञहरूले औँल्याएका छन् ।

सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो । उक्त घटनापछि उत्तराखण्डका विकास परियोजनाको समीक्षा गरिएको थियो । वातावरणसम्बन्धी कार्य गर्ने गैसस स्वेच्छाका संस्थापक विमलेन्द्र झाले पछिल्लो घटना जलवायु परिवर्तनका साथै जथाभावी भइरहेका सडक, रेलवे र विद्युतगृह निर्माणले झन् समस्या निम्त्याएको बताए ।