संवैधानिक निकायमा भएका नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारणदेखाउ आदेश जारी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले गत शुक्रबार दायर गरेको रिटमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आइतबार विपक्षीका नाममा कारणदेखाउ आदेश जारी गरेको हो ।
रिटलाई अग्राधिकार दिइएको छ । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गरेका थिए । उनीहरूले अवैधानिक रूपमा संवैधानिक निकायमा नियुक्ति गरिएको दाबी गर्दै नियुक्तहरूलाई काम गर्न रोक लगाउन माग गरेका थिए ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संवैधानिक परिषद्को कार्यालय, राष्ट्रिय सभा अध्यक्षलगायतलाई विपक्षी बनाएर सापकोटाले रिट दायर गरेका थिए ।