Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एपी याङ्गुन
२०७७ माघ २५ आइतबार १४:१३:००
Read Time : > 1 मिनेट
विश्व

म्यानमारमा दोस्रो दिन पनि सेनाविरुद्ध हजारौँको प्रदर्शन

Read Time : > 1 मिनेट
रासस/एपी याङ्गुन
२०७७ माघ २५ आइतबार १४:१३:००

म्यानमारको सेनाले गत सोमबार गरेको ‘कु’को विरोधमा आइतबार पनि हजारौँ मानिस सडकमा उत्रिएका छन् । सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा सर्वसाधारण दैनिकजसो सडक प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । यसअघि यहाँ समाजिक सञ्जाल मात्रै बन्द गरिएको थियो ।

प्रदर्शनकारीले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनासर्त रिहाइको माग गरेका छन् । म्यानमारको सबैभन्दा ठूलो सहर यांगुनस्थित यांगुन विश्वविद्यालयनजिक दुई हजारभन्दा बढी श्रम संगठन र विद्यार्थी सहभागी भएर सेनाको कदमको विरोध गरेका थिए ।

नेतृ सुकी र राष्ट्रपति मिन्टसहित दर्जनौँ नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्दमा राखेको छ ।  प्रदर्शनकारीलाई विश्वविद्यालयको मूलढोकाबाहिर निस्कन नदिन दंगा प्रहरीले कडा पहरा दिएका थिए । पानीको फोहोरा फाल्ने दुईवटा ट्रकसमेत तैनाथ गरिएको थियो । आइतबार सेनाले इन्टरनेटमा करिब पूर्ण अवरोध गरेको थियो जसका कारण ट्विटर, इन्स्टाग्राम र फेसबुक बन्द भएका छन् ।

म्यानमारमा सेनाले निर्वाचित संसद्लाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ । दंगा प्रहरीहरूले यांगुनलगायतका सहरको मुख्य भागमा चोक तथा सडकहरूमा धरपकड बढाएको छ ।  ‘हामी सैन्य तानाशाहबाट देश र जनतालाई स्वतन्त्र पार्न र आगामी पुस्ताको अधिकारका निम्ति लड्न आएका छौँ,’ ऱ्यालीमा सहभागी एक महिलाले भनिन् ।  म्यानमारमा अप्रजातान्त्रिक सोचलाई सदाका लागि अन्त्य गरी दीर्घकालीन शान्ति तथा सुव्यवस्था कायम गर्न सडकमा आएको प्रदर्शनकारीहरूको भनाइ छ । 

म्यानमारस्थित अमेरिकी दूतावासले सेनालाई सत्ता परित्याग गर्न र प्रजातान्त्रिक तरिकाबाट निर्वाचित सरकारलाई पुनर्वहाली गर्न तथा नजरबन्दमा रहेका नेता तथा कार्यकर्तालाई रिहा गर्न, दूरसञ्चार अवरोध हटाउन तथा हिंसालाई निरुत्साहन गर्न आग्रह गरेको छ । 

दूतावासले ट्विट गर्दै म्यानमारका जनताको प्रजातान्त्रिक ढंगबाट चुनिएको सरकारको पक्षमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको पक्षमा अमेरिका सदैव खडा हुने जनाएको छ ।

शुक्रबार अनलाइन बैठक गर्दैै सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का सांसदहरूले आफूहरू जनताको प्रतिनिधि भएकाले अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचित संसद् र सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले म्यानमारका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायलाई एकताबद्ध गराउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले म्यानमारमा भएको सैनिक सत्ताविद्रोह फिर्ता गराउन उपयुक्त वातावरण तयार पार्ने पनि जनाएका छन् ।