मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ २५ आइतबार ०९:२६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीलाई 

Read Time : > 1 मिनेट
२०७७ माघ २५ आइतबार ०९:२६:००

यस वर्षको एनसेल बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि अर्जुन कार्कीले जितेका छन् । शनिबार पोखरास्थित हिमालयन गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ७४ जना प्रतिस्पर्धीलाई पछि पार्दै पूर्वसचिवसमेत रहेका कार्कीले उपाधिसँगै सुनको बलसहितको ट्रफी पाएका छन् । 

प्रतियोगिताको आयोजक बाह्रखरी मिडिया प्रालि र मुख्य प्रायोजक एनसेल रहेका थिए । ३५ स्कोरसहित उपाधि पोल्टामा पार्न सफल कार्कीलाई नेपाल प्रहरीका एआइजी हरिबहादुर पाल, भारतीय खेलाडी रविन्दर साइनी र वसन्त गौचनले ३३ स्कोरसहित पछ्याएका थिए । साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारेका थिए । 

महिलातर्फ २३ अंकसहित रेखा घिमिरेले उपाधि उचाल्दा पोर्चुगलकी सोफी ह्यामन १८ अंक हात पार्दै दोस्रो भइन् । बेस्ट ग्रसतर्फ २८ ग्रस अंक उपाधि सुरेन्द्र फुयाँल, ३० अंकसहित ६० वर्षमाथिको खेलमा टेन्डी शेर्पा, तीनवटा बडिज प्रहार गर्दै रमेश गुरुङले मोस्ट बडीजतर्फको र क्याप्टेन नोर्बुछिरिङ शेर्पाले लंगेस्ट डाइभतर्फको उपाधि जिते । 

चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न भने कुनै सहभागीले सकेनन् । सो उपाधि प्राप्त गर्न पोखराका बलराम थापा नजिक पुगे पनि असफल भएका थिए । होल इन गर्न उनी ६ इन्चको दूरीबाट चुकेका थिए । सहभागीहरूले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गरेका थिए ।

विजेता खेलाडीहरूलाई पर्यटनमन्त्री भानुभक्त ढकाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मुख्य प्रायोजक एनसेलका सिइओ, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आर्चाय, मनीषा कोइराला, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि प्रतियोगिताको उद्घाटन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘फस्ट टी अफ’ गर्दै गरेका थिए । प्रतियोगितामा काठमाडाैँ, पोखरा, विराटनगर, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, धनगढीसँगै देशका अन्य स्थानका कर्पोरेट लिडर तथा गल्फ खेलाडीको सहभागिता थियो ।

बाह्रखरीले सम्पन्न गरेको यो चौथो संस्करणको प्रतियोगिता हो । यसअघिका दुई संस्करण काठमाडाैँस्थित गोकर्ण गल्फ कोर्समा र तेस्रो संस्करण सगरमाथा क्षेत्रको ४२५० मिटरमा भएका थिए ।

कोरोना भाइरस महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई केही मात्रामा उकास्न र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यसपटकको प्रतियोगिता पोखरामा आयोजना गरिएको बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधानले बताए ।