मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ माघ २५ आइतबार ०८:४५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीलाई नागरिक अगुवाको प्रश्न आफैँ संविधान बनाउने, आफैं मिच्ने ?

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ माघ २५ आइतबार ०८:४५:००

शुक्रबार नारायणहिटी संग्रहालयअघि जनसभामा प्रधानमन्त्री केपी ओलीले भने, ‘ज्येष्ठ नागरिकहरूले लामो इतिहास देख्नुभएको छ । यो सरकारले अहिले जसरी काम गरिरहेको छ, त्यसरी इतिहासमा कसैले काम गरेको थिएन ।’ तर, १२ माघमा शान्तिपूर्ण मार्चपासमार्फत बालुवाटार हिँडेका नागरिक अगुवामाथि प्रहरीले लाठीचार्ज गर्‍यो । मार्चपासमा रहेका ज्येष्ठ नागरिकमाथि पनि पानीको फोहोरा हानियो ।

‘लाखौँ युवाहरू विदेश जान पर्दैन’ भनिरहेका ओलीले त्यही बालुवाटारमा अस्पताल भर्ना हुने गरी निर्घराज जैसीहरूको टाउकोमा लाठी बजा¥यो । तर, त्यो निन्दनीय हर्कतलाई छेउ लगाएर शुक्रबार बिहानै शीतलनिवास मार्चपासमा हिँडेका नागरिक अगुवाप्रति लक्षित गर्दै ओलीले व्यंग्य गरे, ‘आज पनि बिहान लैनचौरको बाटोमा हिँड्नेहरूले भन्दै थिए, ओलीले राजतन्त्र फर्काएको घोषण गर्छ रे ।’ भाषणमार्फत कटाक्ष र आरोप–प्रत्यारोपको भाष्य निर्माण गरिरहेका ओलीले ज्येष्ठ नागरिकलाई इतिहास सम्झाइरहँदा पानीपोखरीमै रोकिएका खगेन्द्र संग्रौला, कृष्ण खनालहरूलाई भने ज्येष्ठ नागरिक देखेनन् । जो संविधानको रक्षाका खातिर निरन्तर सडकमा छन् ।

ओली कदमको विरोधमा नागरिक समाजले सडकबाट खबरदारी गरिरहेकै छ । मेडिकल माफियाविरुद्ध निरन्तर अनशन बस्दै आएका डा.गोविन्द केसी ‘अहिंसात्मक नागरिक आन्दोलन’को ब्यानरबाट प्रतिगमनविरुद्ध लडिरहेकै छन् । उनी शनिबार पनि सडकमा देखिए । माइतीघरबाट मार्चपास सुरु गरेर नयाँबानेश्वरमा कोणसभा भएको थियो । भुइँमा थुचुक्क बसेर केसी नारा लगाइरहेका थिए । 

एक महिनाअघि मात्र वीरगन्जस्थित नेसनल मेडिकल कलेजले चमार समुदायका रामजी रामलाई परीक्षा दिनबाट रोक्यो । एमबिबिएस चौथो वर्षको परीक्षा दिन गएका रामजीलाई कलेजले परीक्षाहलबाटै निकालिदिएको थियो । सरकारले ०७२ सालमै वादी, डोम, मुसहर र चमार गरी चारवटा जातिलाई निःशुल्क पढाउने कार्यविधि बनाएको थियो । तर, मेडिकल कलेजहरूले भर्ना लिन अस्वीकार गरेपछि सर्वोच्चको ढोका ढकढकाउन पुगेका थिए रामजी । पछि सर्वोच्चको आदेशपछि कक्षा सुचारु भएको तीन महिनापछि उनले भर्ना पाएका थिए ।

उनै रामजी केसीसँगै बानेश्वरको सडकमा पम्प्लेट बोकेर नारा लगाइरहेका थिए । उनी ओलीलाई प्रश्न गरिरहेका थिए, ‘एक–एक भोट दिएर, चुनेर प्रतिनिधिसभामा संविधानको रक्षा गरोस् भनेर पठाउने हामी । तर, उनीहरू नै जे मन लाग्यो, त्यही गरिदिने । जतिवेला मन लाग्यो, त्यतिवेला संसद् विघटन गरिदिने । आफैँ संविधान बनाउने, अनि आफैँ मिच्ने ?’ आफूलाई जे मन लाग्यो त्यही गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनको भनाइ थियो । ‘अहिले युवाले पढ्न पनि जानेका छन् र पढाउन पनि जानेका छन् । अलिकति नैतिकता छ भने संविधानमाथि प्र्रहार नगरौँ । भोलि हाम्रो पुस्ताले धिक्कार्न नपरोस्,’ रामजीले भने ।

                                       ..... 

दुई वर्षअघि गृह मन्त्रालयले माइतीघर मण्डलामा प्रदर्शन गर्न नपाइने नयाँ नियम ल्याएको थियो । यदि प्रदर्शन वा सभा गरेमा कानुनी कारबाही गरिने चेतावनी दिइएको थियो । तर, व्यापक जनविरोधपछि भने सरकार निर्णयबाट पछि हट्यो । अभियन्ता शशीविक्रम कार्कीले सरकारको त्यही कदमलाई ंइंगित गर्दै सरकार अधिनायकवादउन्मुख भएको र ढिला भएमा भोलि त्यही माइतीघरदेखि बानेश्वरसम्म विरोध गर्न नसकिने बताए ।

उनले भने, ‘ओलीलाई श्रीपेच लगाउने रहर चढेको छ । सरकारले सुरुवातमै माइतीघरमा नागरिक स्वतन्त्रतालाई रोक्ने गरी नियम लगाएको थियो ।’ साथै आगामी व्यवस्थालाई बलियो बनाउन आफूहरू सडकमा आएको र ओलीलाई बालुवाटारबाट निकालेर बालकोट लैजानुपर्ने बताए । कार्कीले भने, ‘ओलीलाई सनक चढेको छ । त्यो सनकले नागरिक देखेन । संविधानको धारा देखेन । नेपाली जनताको चहना देखेन । अन्ततोगत्वा हामी नागरिकले सडकमा दुःखदायी जिन्दगी बिताउन परेको छ ।’

अर्का अभियन्ता राजेन्द्र महर्जनले ओलीको आमसभालाई इंगित गर्दै जब–जब ओलीहरू सडकमा उत्रन्छन्, तब आफूहरू चुप लागेर बस्न सक्ने स्थिति नहुने बताए । महर्जनले भने, ‘अदालत, पार्टी, सरकारमाथि ओली छन्, त्यो स्वीकार्य छैन । सडक पनि कब्जा गर्न ओली आइपुगे, त्यो झनै स्वीकार्य छैन ।’ उनले जनताको अमूल्य मत अपहरण भएको र यो आन्दोलनले लामो समय लिने पनि बताए । साथै, सडक नागरिकको भएको भन्दै उनले लामो आन्दोलनका लागि आह्वान पनि गरे । 

शनिबार नै पोखरामा प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनका अभियन्ताले सडकमा कविता र नाटक प्रस्तुत गरे । पोखरामा भएको बृहत् नागरिक आन्दोलनमा सहभागी हुन पुगेका आन्दोलनका संयोजक युग पाठकले भने, ‘ओलीको गैरसंवैधानिक कदमविरुद्ध नागरिक आन्दोलन बिस्तारै देशव्यापी हुँदै छ । अब पश्चिमतिर पनि सुरु हुँदै छ । लोकतन्त्रका खातिर, संविधानका खातिर लडिरहनेछौँ ।’