मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडौं
२०७७ माघ २५ आइतबार ११:१३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सौरभ ग्रुपले खोल्यो देशकै ठूलो स्टिल बिलेट उद्योग, साढे ६ अर्ब लगानी 

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ माघ २५ आइतबार ११:१३:००

क्षमताअनुसार उत्पादन हुँदा २५ प्रतिशत बिलेट आयात विस्थापन हुने, वार्षिक ३ लाख मेट्रिकटन बिलेट र १ लाख मेट्रिकटन डन्डी उत्पादन गरिने

व्यावसायिक घराना सौरभ समूहले बाराको परवानीपुरमा स्थापना गरिरहेको सर्वोत्तम स्टिल उद्यागले वैशाखदेखि उत्पादन थाल्ने भएको छ । परवानीपुर–ड्राईपोर्ट सडकखण्डमा रहेको उद्योगको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । उद्योगले टिएमटी डन्डी बनाउने कच्चा पदार्थ बिलेट उत्पादन गर्नेछ ।

सर्वोत्तम स्टिलले वैशाख पहिलो हप्तादेखि बिलेट र तेस्रो हप्तादेखि टिएमटी डन्डी उत्पादन गर्ने समूहका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए । बिलेट र डन्डी दुवै सर्वोत्तम ब्रान्डबाट बजारमा आउनेछन् ।

अहिले देशभर सञ्चालित अधिकांश स्टिल उद्योगहरूले भारतबाट बिलेट आयात गरेर डन्डी उत्पादन गर्दै आइरहेका छन् । करिब आधा दर्जन उद्योगहरूले स्वदेशमै आंशिक बिलेट उत्पादन गरे पनि अपुग भारतबाटै आयात गर्छन् । १६ बिघा क्षेत्रफलमा फैलिएको सर्वोत्तम स्टिलको कुल उत्पादन क्षमता वार्षिक ३ लाख मेट्रिकटन बिलेट र १ लाख मेट्रिकटन डन्डी रहेको छ ।

‘उद्योगमा साढे ३ अर्ब जग्गा किन्न, भौतिक संरचना निर्माण र मेसिनरी जडानमा खर्च भइसकेको छ, ३ अर्ब रुपैयाँ चालू पुँजी रहेको छ,’ न्यौपानेले भने, ‘साढे ६ अर्ब लगानी भएको उद्योगको मुख्य उद्देश्य देशमा बिलेट आयात प्रतिस्थापन गर्नु हो ।’ उद्योगमा वीरगन्जका व्यवसायी राजेश अग्रवाल र न्यौपाने परिवारको लगानी रहेको छ । 

अहिले भारतबाट वार्षिक १२–१३ लाख मेट्रिकटन बिलेट आयात भइरहेको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा भारतबाट २० अर्ब ४८ करोड ५८ लाखको एमएस बिलेट आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आव ०७६/७७ मा ४२ अर्ब २३ करोड ६७ लाख र अघिल्लो आव ०७५/७६ मा ६६ अर्ब ८९ करोड ४३ लाख मूल्यको बिलेट आयात गरिएको थियो । गत वर्ष कोभिडका कारण तीन महिना प्रभावित हुँदा बिलेटको आयात घटेको हो । आफ्नो उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि बिलेट आयात २५ प्रतिशतले घट्ने उनको भनाइ छ । 

अहिले उद्योगमा अत्याधुनिक मेसिन जडान गर्ने र बेल्ट लगाउने काम अन्तिम चरणमा पुगेको छ । उद्योग पूर्ण रूपमा सञ्चालनमा आउँदा ४२ मेगावाट विद्युत् चाहिन्छ । बिजुलीका लागि ट्रान्समिसन लाइनको काम पूरा भइसकेको सञ्चालक न्यौपानेले बताए ।

विद्युत् आपूर्तिका लागि परवानीपुरमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका अगाडि ३३ हजार केभिएको सबस्टेसन निर्माण गरिएको छ । विद्युत् प्राधिकरणले उद्योगलाई चाहिने विद्युत्मध्ये २५ मेगावाटको स्वीकृति दिइसकेको छ । अहिले स्वीकृति पाएको २५ मेगावाट विद्युत्ले वार्षिक २ लाख टन मात्र बिलेट उत्पादन गर्न सकिन्छ । थप १७ मेगावाट विद्युत् उद्योगमा आएपछि वार्षिक ३ लाख मेट्रिकटन बिलेट उत्पादन हुने बताइएको छ । 

कोभिड महामारीका कारण उद्योग स्थापनामा झन्डै एक वर्ष ढिलाइ भए पनि वैशाखदेखि उत्पादन बजारमा ल्याइसक्ने न्यौपानेले बताए । ‘हाम्रो उद्देश्य देशभित्रै गुणस्तरीय बिलेट उत्पादन गर्नु हो, इन्डिया र इरानबाट स्पन्ज आइरन ल्याएर स्वदेशमै बिलेट उत्पादन गर्छौँ,’ उनले भने, ‘अहिले भारतीय बजारमा बिलेटको भाउ घटबढ हुनेबित्तिकै नेपालमा डन्डीको मूल्य पनि तलमाथि भइहाल्छ, स्वदेशमै बिलेट उत्पादन सुरु भएपछि अन्तर्राष्ट्रिय बजारभाउले त्यति प्रभाव पार्नेछैन ।’ कच्चा फलामको ढुंगालाई टुक्र्याएर बनाइएको गिट्टीलाई स्पन्ज आइरन भनिन्छ ।

फलामका गिट्टीहरू पगालेर स्टिल बिलेट तयार पारिन्छ, जसबाट डन्डी बनाइन्छ । एमएस बिलेटको तुलनामा स्पन्ज आइरनको मूल्य निकै कम हुने हुँदा स्वदेशमा उत्पादन गर्दा भ्यालु एड हुनेछ । साथै, विद्युत् खपत र स्थानीयले काम पाउने न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘हामी वार्षिक १ लाख टन डन्डी पनि उत्पादन गर्छौँ, १ लाख टन बिलेट आफ्नै उद्योगमा खपत हुने भइहाल्यो, बाँकी २ लाख टन बिलेट अरू उद्योगलाई बिक्री गर्ने हो ।’ उनका अनुसार सर्वोत्तम स्टिल बिलेट उत्पादन गर्ने मुलुककै ठूलो उद्योग हुनेछ ।

सौरभ समूहले डेढ दशकदेखि नवलपरासीको सुनवलमा लक्ष्मी स्टिल उद्योग सञ्चालन गरिरहेको छ । यो उद्योगको कुल उत्पादन क्षमता वार्षिक १ लाख २० हजार मेट्रिकटन रहेको छ । लक्ष्मी स्टिलले पनि उद्योगलाई चाहिने आधाजति बिलेट आफैँ उत्पादन गर्दै आइरहेको छ । लक्ष्मी स्टिल उद्योगमा ६० हजार टन बिलेट आफैँ उत्पादन गर्ने र ६० हजार टन बिलेट आयात गर्ने गरेको न्यौपानेले बताए । 

सौरभ समूहको सिमेन्ट, स्टिल, चिया, स्पिनिङ मिल (धागो), सिन्थेटिक उद्योग, सौरभ फोटो, सिटिजन वाच, प्याकेजिङलगायत उद्योगहरूमा लगानी छ ।