१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अर्जुन अधिकारी
२०७५ माघ २९ मंगलबार १३:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

भूकम्प र महामारीपछिको पूर्वतयारी : घाइतेसँग सेल्फी, मृतकलाई उपचार !

Read Time : > 2 मिनेट
अर्जुन अधिकारी
२०७५ माघ २९ मंगलबार १३:३५:००

बिहानको ९ बजेर ७ मिनेट गएको थियो । नेपालगन्ज मेडिकल कलेज र भेरी अञ्चल अस्पतालमा एकाएक कोलाहल मच्चियो । त्यहि बेला नेपालगन्ज मेडिकल कलेजले ४ मिनेट लामो आपत्कालिन साइरन लगायो । साइरन बजेको ६ मिनेट भित्र अस्पतालको इमर्जेन्सिमा ४० जना स्वास्थ्यकर्मी प्रवेश गरे । इमर्जेन्सि भित्र र बाहिर रुवाबासि चलिरहेको थियो । 

नेपालगन्जमा एक आपसमा बस जुध्दा घाइते भएका ४० जनालाई भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा लगिएको थियो । तर, त्यो घटना वास्तविक नभई नाटकीय अभ्यास थियो । भूकम्प र महामारीको समयमा आइपर्ने संकटको अस्पतालहरुले कसरी समाधान गर्न सक्छन् ? भनेर विश्वस्वास्थ्य संगठन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संयुक्त रूपमा नेपालगन्जमा नाटकीय अभ्यास गरेको हो । 

विना जानकारी घाइते बनाएर अस्पताल 

नाटकीय अभ्यासमा सडक दुर्घटनामा परेर घाइते भएका बिरामीहरु अचानक अस्पताल लगिएको थियो । नेपालगन्ज मेडिकल कलेजमा १५ जना र भेरी अञ्चल अस्पतालमा २५ जना लगिएको थियो । मेडिकल कलेजमा एक्कासि बिरामी पुर्याउँदा त्यहाँका कर्मचारी र चिकित्सकहरु स्वास्थ्य उपचार र भिडको व्यवस्थापनमा सकृय भएर लागेका थिए । उता भेरी अञ्चल अस्पतालले भने बिरामीको उपचार र रेस्क्यूमा गम्भीर लापरबाहि गरेको छ । कार्यक्रमका संयोजक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हेल्थ ईमर्जेन्सी सेन्टरका प्रमुख चुडामणि भण्डारीले प्रशासनलाई समेत सबै सूचना नदिई अस्पतालमा बिरामीको नाटकीय अभ्यास गरिएको बताए । मृत व्यक्ति, गम्भीर भै भेन्टिलेटरमा राख्नुपर्ने बिरामी, गम्भीर बिरामी र सामान्य बिरामी बनाएर एम्बुलेन्समा अस्पताल लगिएको थियो । स्वास्थ्यककर्मी र अस्पतालले बिरामी रेस्क्यू गरेर उपचारका क्रममा मात्रै नाटकीय अभ्यासबारे जानकारी पाएका थिए । 

बिरामीसंग सेल्फी : आपत्कालिन साइरन पनि छैन 

टोलीले भेरी अञ्चल अस्पतालको व्यवस्थापन कमजोर रहेको औंल्याएको छ । पत्रकार र निरीक्षणकर्तालाई बिरामी पुर्याउनु अगावै अस्पताल वरपर पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव, प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशिलनाथ प्याकुरेल सडकमा बसेर भेरी र मेडिकल कलेजको अनुगमन गरिरहेका थिए । उनीहरुले भेरी अञ्चल अस्पतालले आपत्कालिन व्यवस्थापनमा हेलचेक्राई गरेको निस्कर्ष निकालेका छन् ।

तर, यो कमजोरी औंल्याउने भन्दा सुधार गर्नुपर्ने डा. प्याकुरेलले बताए । सामाजिक बिकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालले आपत्कालिन साईरन समेत नबजाएको बताए । आपत्कालिन अवस्थामा साईरन बजाउनु पर्छ । त्यसको ६ मिनेट भित्र इमर्जेन्सीमा स्वास्थ्यकर्मी आइपुग्नुपर्छ । उनले साईरनको तत्काल व्यवस्थापन गर्न निर्देशन समेत दिए । बाटोमा यातायातको पार्किङ थियो । बिरामी बोकेर आएको एम्बुलेन्स अगाडि बढ्न सकेको थिएन । जसो तसो बिरामी पुर्याएपनि रेस्क्यू असाध्यै फितलो भयो । चिकित्सकहरु उपचार छाडेर सेल्फि खिच्न थालेको भन्दै उनले दुखेसो गरे । उनले सोचमा परिवर्तन ल्याउन पनि आग्रह गरेका छन् । 

मन्त्रालयका प्रमुख विशेषज्ञले मन्त्रालय र प्रदेशलाई दुर्घटनाबारे जानकारी नगराएको बताए ।  मन्त्रालयलाई जानकारी नभएसम्म जनशक्ति र औषधिको व्यवस्थापनमा समस्या हुने बताए । 

ठूलो घटनालाई लिएर अभ्यास

हेल्थ इमर्जेन्सी सेन्टरका प्रमुख चुडामणि भण्डारीले ठूलो घटनालाई लिएर अभ्यास गरेको बताए । कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका अधिकांश अस्पतालबाट प्रतिनिधि सहभागी गराइएको थियो । भण्डारीले नेपाल प्रहरी र नेपाली सेनाका जवानलाई नक्कली घाइते बनाइएको बताए । ‘यो सिकाइ मात्रै हो’ भण्डारीले भने, ‘कमि कमजोरी सुधार गरेर हामी आगमी दिनमा अगाडि बढ्नेछौँ ।’ अस्पतालका कर्मचारीलाई पहिले नै तालिम दिएर अचानक सोमबार अभ्यास गरिएको बताए । उनले हरेक प्रदेशमा इमर्जेन्सी अपरेशन सेन्टर बनाउने पनि बताए ।