१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल तस्बिर
२०७७ माघ २४ शनिबार १०:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद, पाँच लाख डोज खोप दिने चीनको घोषणा

Read Time : > 1 मिनेट
२०७७ माघ २४ शनिबार १०:००:००

चीनले नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार टेलिफोन संवादका क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले अनुदानमा पाँच लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

आइतबार चिनियाँ राजदूतावासले नेपाललाई तीन लाख डोज खोप दिने निर्णय भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । परराष्ट्रमन्त्रीस्तरीय टेलिफोन संवादमा चीनले दुई लाख डोज थप दिने घोषणा गरेको हो । 

‘चीनमा परराष्ट्रमन्त्री वाङ यीले खोप सहयोग गर्ने सन्दर्भमा चीनले नेपाललाई प्राथमिकतामा राखेको बताउनुभएको छ र पाँच लाख डोज खोप अनुदानमा नेपाललाई दिने घोषणा गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार साँझ जारी विज्ञप्तिमा भनिएको छ । साँझ भएको टेलिफोन संवादमा दुवै देशका आपसी हितमा आधारित विषयहरूमा छलफल भएको पनि परराष्ट्रले जनाएको छ । अर्को छिमेकी भारतले यसअघि नै १० लाख डोज कोभिड खोप उपलब्ध गराइसकेको छ । खोप प्रयोगमा आइसकेको छ । 

खोप सहयोगका लागि परराष्ट्रमन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिएका छन् । खोपलाई चीनले वैश्विक सार्वजनिक सामग्रीमा रूपमा सूचीकृत गरेकोमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले प्रशंसा गरेका छन् । 

चीनले नेपाललाई उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । दुईपटक खोप लगाउँदा यसले ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाइसकेको छ । खोपले ९९ दशमलव ५२ प्रतिशत एन्टिबडी बनाएको छ । हालसम्म चिनियाँ खोपको अढाई करोडभन्दा बढी डोज प्रयोगमा आइसकेको छ । नेपाललाई चीनले दिने खोपले करिब दुई लाखजनालाई लगाउन पुग्नेछ । 

नेपालले अनुदानमा खोप उपलब्ध गराइदिन भारत, चीन, अमेरिका, बेलायत, रुस, जर्मनी र फ्रान्सलाई कूटनीतिक पत्राचार गरेकोमा भारतबाट खोप आइसकेको छ । चीनबाट पाँच लाख डोज आउने निश्चित भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेलायतले भारतसँग समन्वय गरेर खोप उपलब्ध गराउने वचन दिएको छ । रुसले स्पुतनिक खोप दिने जानकारी दिएको छ, तर विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउन बाँकी रहेका कारण नेपाल लिने मुडमा छैन । अमेरिका, जर्मनी र फ्रान्सले खोपका सम्बन्धका ठोस प्रतिबद्धता जनाएका छैनन् ।