मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ माघ २३ शुक्रबार ०९:०५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दुईवर्षे बालक ४८ घन्टापछि अपहरणमुक्त

Read Time : > 1 मिनेट
२०७७ माघ २३ शुक्रबार ०९:०५:००

अपहरण गरेर भारत पुर्‍याएका बालकलाई प्रहरीले सकुशल मुक्त गर्‍यो

सिराहा नगरपालिका– १ रामजानकी चोकबाट अपहरण गरी भारत पुर्‍याइएका दुईवर्षे बालकलाई प्रहरीले बिहीबार सकुशल उद्धार गरेको छ । सिराहा– १ का प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त भन्ने प्रियान्सुलाई भारतको मधुबनी जिल्लाको खाजेडी भन्ने गाउँबाट प्रहरीले उद्धार गरेको हो । अपहरणको ४८ घन्टामै प्रहरीले यो सफलता पाएको हो । 

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी सुदीप राजभण्डारीले बालकलाई सकुशल उद्धार गरी परिवारजनको जिम्मा लगाइएको जानकारी दिए । ‘सकुशल उद्धार गरी हामीले परिवारजनको जिम्मा लगाएका छौँ, अब थप अनुसन्धान भइरहेको छ,’ उनले नयाँ पत्रिकासँग भने । बच्चाको कसरी सकुशल उद्धार गरियो भन्नेबारे प्रहरीले केही बताएको छैन । अनुसन्धान जारी रहेकाले अहिले सबै कुरा सार्वजनिक गर्न नमिल्ने प्रहरी अधिकारीहरूको भनाइ छ । 

मुटुको टुक्रासमान छोरा सकुशल भेटिएपछि यादव परिवारमा खुसीको सीमा छैन । गत मंगलबार साँझ ७ बजेतिर छोरा अपहरणमा परेको सुनेदेखि पटक–पटक बेहोस भएकी आमा संगीताको मुहारमा अहिले खुसी छाएको छ । रोजगारका लागि साउदी अरबमा रहेका बुबा प्रदीपले पनि राहतको लामो सास फेरेका छन् । 

 यसरी भयो अपहरण
आफ्नै घरको आँगनमा खेल्दै गरेका दुई वर्षीय प्रियान्सुलाई एक अपरिचित व्यक्तिले डुलाउन भनेर मंगलबार साँझ अपहरण गरेका थिए । मंगलबारको व्रत बसेकी संगीता धारामा भाडा सफा गर्दै थिइन् । हजुरआमा गुलवादेवी आँगनकै गोठमा खुट्टामा तेल लगाउँदै थिइन् । एक व्यक्तिले नाति बोकेर हिँडेको उनले देखेकी थिइन् । तर, उनले खेलाउन लगेको ठानेकी थिइन् । अबेरसम्म बच्चा नफर्काएपछि मात्र खोज्न थालिएको थियो । 

एकाएक बच्चा हराएको खबरले घरमा आमा संगीता र उता साउदी अरबमा बाबु प्रदीप बेहोस भए । करिब १२ वर्षदेखि साउदी अरबमा रोजगारीका क्रममा रहँदै आएका प्रदीप गत वर्ष फागुनमा बिदामा घर फर्केका थिए । कोरोना संक्रमण फैलिएर लकडाउन भएपछि प्रदीप फर्किन पाएका थिएनन् । स्थिति सामान्य भएपछि १ माघमा उन साउदी अरब फर्किएका थिए । 

सिराहा सदरमुकामबाट बच्चा अपहरणको यो पहिलो घटना थियो । भूमिगत समूह सक्रिय रहेका वेला व्यक्ति अपहरणका घटना देखिए पनि कलिला बालबालिका अपहरणमा परेका थिएनन् । स्थानीय अगुवा मुरलीकान्त सिंहले भने, ‘बच्चा अपहरण भएको यो पहिलो घटना हो । यसअघि बालबालिका अपहरणमा परेका थिएनन् ।’