मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ध्रुव बीसी 
२०७५ माघ २९ मंगलबार १२:३३:००
Read Time : > 1 मिनेट
प्रदेश

छाउ प्रथाबारे अध्ययन गर्न गाउँ पुग्नुपर्ने

Read Time : > 1 मिनेट
ध्रुव बीसी 
२०७५ माघ २९ मंगलबार १२:३३:००

अछाम जिल्लाका सरोकारवालाहरुले गाउँ तहमै पुगेर छाउ बार्ने चलनको अवस्थाबारे अध्ययन गर्न सरकारलाई सुझाब दिएका छन् ।

मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय सुदूरपश्चिम प्रदेशले सोमबार सदरमुकाम मंगलसेनमा छाउ बार्ने चलन उन्मुलनको लागि राय सुझाब संकलन कार्यक्रममा सहभागिहरुले शहरबजारमा छलफल र अन्तरक्रिया गरेर मात्रै कुनै उपलब्धी नहुने भन्दै वास्तविकता थाहा पाउन गाउँ गाउँ पुग्नुपर्ने सुझाब दिएका हुन् । 

सुझाब संकलनको क्रममा अधिकारकर्मी पशुपति कुँवरले शिक्षित परिवार र बजार क्षेत्रका मानिसहरुमा छाउ बार्ने चलन घट्दै गएपनि दुर्गम ठाउँका परिवारमा चलन कायमनै रहेको बताइन् । समस्या भएका ठाउँमा नपुगि कुनै निर्णय लिनु राम्रो होइन । समस्याको गहिराइमा पुगेर व्यापक जनचेतना फैलाउनु आवस्यक रहेको उनले बताइन् । 

रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउँदले स्थानीय तह, प्रदेश र केन्द्र सरकार एक भएर लागे मात्र छाउबार्ने चलन अन्त्य गर्न सकिने बताए । ‘यो हाम्रो प्रयासले मात्र सम्भव छैन्,’ उनले भने,‘प्रदेश र केन्द्र सरकार पनि लाग्नुपर्छ । सबैले यो चलनका विरुद्ध लागे छाउबार्ने चलन हटाउन सम्भव छ ।’ 

प्रदेश सरकारलाई सुझाब दिँदै मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले नीति निर्माणमा बसेका व्यक्तिकै घरमा समस्या रहेकोले पहिला उनीहरुलाई नै निगरान्ीमा राख्नुपर्ने बताए । ‘दिनभरी छाउबार्नु हुदैन भनेर अभियान चलाउनेहरु राति  आफै छाउगोठमा बस्छन्,’ उनले भने,‘ यस्तो तरीकाले कसरी परिवर्तन हुन्छ । अभियान्ता, जनप्रतिनिधि, शिक्षक र नेताहरुका घरमा पहिला निगरानी गर्नुपर्छ ।’ जान्नेसुन्नेहरु नै गम्भीर नहुदा छाउबार्ने चलन हट्न नसकेको उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले नीति निर्माण गरेर कार्यान्वयन गर्न नसक्दा छाउबार्ने चलनले महिलाहरु हिंसामा परेको बताए । अब बनेका नीति कार्यान्वयनका लागि सरकार गम्भीर हुनुपर्ने उनको सुझाब छ ।  

सुझाब संकलनका लागि अछाम पुगेका सुदूरपश्चिम प्रदेशका मुख्य सचिव नारायण प्रसाद बिडारीले सबैको राय सुझाब संकलनपछि प्रदेश सरकारले ठोस नीति लिने बताए । उनले आगामी वर्षदेखि बजेट व्यवस्थापन गरेर जिल्ला समन्वय समिति मार्फत जिल्लाका सबै तहमा यस बारे व्यापक रुपमा जनचेतना बिस्तार गर्नुका साथै सुझाबका आधारमा कारबाही र प्रोत्साहन गर्ने बताए । सुझाब संकलनका लागि मुख्य सचिव बिडारीसहितको टोली दार्चुला, बाजुरा लगायतका अन्य जिल्लाका सरोकारवालाहरुसँगको छलफलपछि अछाममा पुगेर राय सुझाब संकलन गरेर फर्किएको छ ।