मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २३ शुक्रबार ०८:१९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमको सेयर संरचना परिवर्तन गर्नुपर्छ : मन्त्री गुरुङ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २३ शुक्रबार ०८:१९:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनीको सेयर स्वामित्वमा सर्वसाधारणको हिस्सा पनि बढाउनुपर्नेमा जोड दिएका छन् । नागरिकको सहभागिताले कम्पनी बलियो हुने भन्दै उनले कम्पनीको सेयर स्वामित्वमा आमनागरिकको हिस्सा बढाउनुपर्ने बताएका हुन् । 

नेपाल टेलिकमले १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले कम्पनीको सञ्चालक समिति बैठक राखी यस विषयमा छलफल गरिनेसमेत बताए । टेलिकमको सेयर संरचना परिवर्तन गर्ने विषय धेरैअघिदेखि उठे पनि यसमा उल्लेख्य प्रगति हुन सकेको छैन ।

टेलिकममा हाल सरकारको ९१.३ प्रतिशत सेयर स्वामित्व रहेको छ भने कर्मचारी र सर्वसाधारणको हिस्सा ८.४७ प्रतिशत मात्रै रहेको छ । आमनागरिकले कम्पनीप्रतिको अपनत्व भएको महसुस नगरेसम्म कम्पनी दिगो नहुने मन्त्री गुरुङले बताए । उनले भने, ‘अब जनता मालिक हुने र जनता पनि सहभागी हुने खालको नीति बनाउनुपर्छ । यसका लागि के गर्नुपर्छ ? हामी तुरुन्तै छलफलमा जुट्नेछौँ ।’ 

फाइभजी सञ्चालनका लागि अध्ययन सुरु गरिने
नेपाल टेलिकमले फाइभजी सेवा सञ्चालनका लागि अध्ययन सुरु गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले फाइभजी सेवा सञ्चालनका लागि प्रारूप तयार गरिने बताएका छन् । त्यस्तै, जिआइएसमार्फत पूर्वाधारहरूको अभिलेखीकरण तथा सोको प्रयोगबाट योजना तथा कार्यान्वयनमा प्रभावकारिता कायम गर्ने भएको छ ।

डिजिटल प्लेटफर्ममार्फत सेवा प्रवाह, गुनासो व्यवस्थापनलगायतका कार्यहरू गर्ने कम्पनीको रणनीति रहेको छ । 
त्यस्तै, कम्पनीले सरकार र दूरसञ्चार प्राधिकरणको सहमतिमा दूरसञ्चार पूर्वाधार सेवाप्रदायक कम्पनी गठन गरी सञ्चालन गर्ने रणनीति रहेको जनाएको छ । 

कम्पनीका अनुसार गत मंसिरसम्ममा २ करोड ९ लाख २७ हजारभन्दा बढी ग्राहक रहेका छन् । सोमध्ये जिएसएम मोबाइलका ग्राहक १ करोड ८४ लाख ३१ हजार, सिडिएमए सेवाका १८ लाख ८ हजार र पिएसटिएन सेवाका ग्राहक ६ लाख १७ हजार रहेका छन् । त्यसैगरी, एफटिटिएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३ सय रहेका छन् । गत महिनासम्मको तथ्यांकअनुसार भ्वाइस सेवातर्फ नेपाल टेलिकम कम्पनीको बजार हिस्सा ५३ दशमलव ६५ प्रतिशत रहेको छ । 

त्यस्तै, गत मंसिर महिनासम्ममा कम्पनीको डेटा सेवाका प्रयोगकर्ता १ करोड ६४ लाख ९ हजार ५ सयभन्दा बढी पुगेका छन् । सोमध्ये जिएसएम मोबाइलको डेटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडिएसएल सेवाका प्रयोगकर्ता १ लाख ८१ हजार ५ सय, एफटिटिएच डेटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । जिएसएम फोरजीतर्फ हालसम्म करिब २५ लाख ग्राहक पुगेको कम्पनीले जनाएको छ । 

एउटै पूर्वाधार कम्पनीमा मन्त्रीको जोड
सञ्चार तथा सूचनामन्त्री पार्वत गुरुङले एउटा मात्रै पूर्वाधार कम्पनी ल्याइने बताएका छन् । बजारमा दुईवटा कम्पनीको चर्चा चले पनि मन्त्रालय एउटै पूर्वाधार कम्पनीमा अडिग रहेको उनले दाबी गरे । ‘हामी एउटा कम्पनीको अवधारणामा छौँ । तर, नेपाल टेलिकमको नेतृत्वमा बनाउने हो कि अन्य कम्पनीहरूको सेयर सदस्यसहितको मोडलको विषयमा छलफल गर्नेछाैँ,’ उनले भने ।  कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कम्पनीको सेवा–सुविधा सन्तोषजनक नरहेको समेत औँल्याए । मन्त्रालयमा टेलिकमको टावर नै नभएको गुनासो आउने गरेको बताए ।

फोरजी वायरलेस होम ब्रोड ब्यान्ड सर्भिस सुरु
नेपाल टेलिकमले वायरलेस होम ब्रोड ब्यान्ड सर्भिस सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीको वार्षिक उत्सवको अवसरमा कम्पनीले यस्तो सेवाको सुरुवात गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार एफटिटिएच तथा एडिएसएल सेवा नपुगेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने देशभरका फोरजी ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन् ।

सिपिई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोड ब्यान्ड प्रयोग गर्न सकिने अधिकारीले बताए ।  प्रतिमहिना ९ सय रुपैयाँमा ६० जिबी, १ हजार ५ सय रुपैयाँमा १ सय २० जिबी र वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७ सय २० जिबी, १६ हजार रुपैयाँमा १ हजार ४ सय ४० जिबी उपलब्ध हुने टेलिकमले जनाएको छ ।