१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
जिल्ला ब्युरो काठमाडाैं
२०७७ माघ २३ शुक्रबार ०७:११:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

आमहडतालमा तोडफोड र दमन

Read Time : > 3 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
२०७७ माघ २३ शुक्रबार ०७:११:००

जनकपुरमा दुई पूर्वमन्त्री प्रहरीको कुटाइबाट गम्भीर घाइते, देशभरि ३३ सवारीसाधन तोडफोड, काठमाडौंमा एउटा ट्याक्सी जलाइयो

नेकपा (प्रचण्ड–माधव समूह) ले बिहीबार गरेको देशव्यापी आमहडतालमा तोडफोड र दमनका घटना भएका छन् । बन्दकर्ताले ३३ वटा सवारीसाधन तोडफोड गरेका छन् । प्रहरीका अनुसार काठमाडौंको सामाखुसीमा एउटा ट्याक्सीमा आगजनी गरिएको छ । त्यस्तै, तीनवटा सरकारी सवारीसाधन र ३० वटा निजी तथा सार्वजनिक सवारीसाधन तोडफोड गरिएको छ । 

विशेष गरी जनकपुरमा प्रहरी प्रशासनबाट दमन भएको छ । शान्तिपूर्ण हडतालमा उत्रिएका बन्दकर्तामाथि प्रहरीले लाठी मात्र होइन, फायर नै खोलेको छ । प्रहारबाट नेकपा नेता एवं पूर्वमन्त्री रामचन्द्र झाको टाउकोमा गम्भीर चोट लागेको छ । पूर्वमन्त्री एवं स्थायी समिति सदस्य मातृका यादवको खुट्टामा चोट लागेको छ । प्रहरीको प्रहारबाट करिराम यादवको टाउको र उमेश यादवको हात र छातीमा चोट लागेको छ । घाइते पूर्वमन्त्रीद्वय, सहिद नगर नगरपालिका मेयर उदय बरबरिया र प्रदीप साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको छ ।

आन्दोलनकारी र प्रहरीबीचको झडपमा १० जना घाइते भएका छन् । विरोधमा उत्रिएका १२ जनलाई गिरफ्तार गरिएको छ । प्रहरीको हवाई फायर र लाठी प्रहारबाट कारण जनकपुर दिनभर आतंकित बन्न पुग्यो । महोत्तरीको बर्दिवासमा पनि प्रहरीले बन्दकर्तामाथि दमन गरेको छ । बर्दिवास क्षेत्रमा पर्ने राजमार्गमा धर्ना बसेका बन्दकर्तालाई हटाउने क्रममा दुई पक्षबीच झडप भएको हो । धर्नामा उत्रिएका बन्दकर्तालाई हटाएपछि आशिंक रूपमा राजमार्ग चलेको थियो । 

बन्दका क्रममा मुलुकभरबाट एक सय ८८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमध्ये तोडफोडमा उत्रिएका तथा जबर्जस्ती बन्द गर्न खोज्ने ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण लिइएकामध्ये नेकपा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य डा. विजय पौडेल, हितमान शाक्य, कृष्ण केसी, प्रतापलाल श्रेष्ठ, अमृता थापा मगरलगायत छन् । पक्राउ परेका सबैलाई महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान परिसरमा राखिएको थियो । 
पक्राउ परेकामध्ये अधिकांशलाई साँझसम्म छाडिएको र केहीलाई छाड्ने क्रम जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । ‘मुलुकभर आह्वान गरिएको बन्दमा ३३ सवारीसाधन तोडफोड भए । एक सय ८८ जनालाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकामध्ये अधिकांश बिहीबार साँझसम्म छुटिसकेका छन् । बाँकीलाई पनि प्रक्रिया पूरा गरेर छाड्छौँ,’ उनले भने ।

बन्दको प्रभाव उपत्यकामा पनि
बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित बन्न पुगेको छ । बन्द आह्वानकर्ता नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नै सडकमा उत्रिएका थिए । प्रचण्ड गाडीमै चढेर सातदोबाटो र पुल्चोक पुगेर धर्नामा बसेका थिए । 

प्रहरीका अनुसार बिहीबार उपत्यकाभित्र ना.१ज २०३९ नम्बरको टाटोसुमो, ना.५ख ९९२९ नम्बरको ट्रक, ना.२ख २०३९ नम्बरको मिनिबस, बा.५ज ६९२० नम्बरको ट्याक्सी, बा.७च ६५३९ नम्बरको कार र ना.६ख ७६१२ नम्बरको ट्रक तोडफोड भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सुशीलसिंह राठौरका अनुसार बन्दकर्ताले सवारीसाधन तोडफोड गरेका हुन् । 

बन्दकर्ताले एक ट्याक्सीमा आगजनी र ६ वटा सवारीसाधनमाथि तोडफोड गरेका छन् । प्रहरीका अनुसार तोडफोड गर्ने क्रममा टोखाकी ५४ वर्षीया उर्मिला बस्नेत  घाइते भएकी छिन् । आगजनीका कारण प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलेर पूर्ण रूपमा क्षति भएको छ । कुम्भनारायण श्रेष्ठले चलाएको उक्त ट्याक्सी सामाखुसी पुगेपछि आगजनी भएको थियो । अज्ञात समूहबाट भएको आगजनीको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । ‘ट्याक्सीमा आगजनी भएको छ । कामै नलाग्ने गरी पूर्ण रूपमा क्षति भएको छ । घटनाको अनुसन्धानमा प्रहरी लागेको छ । आगजनीमा संलग्न हुनेको खोजीकार्य तीव्र पारिएको छ । पक्राउ परेपछि कानु्नी कारबाही हुनेछ,’ उनले भने ।

हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतका छोरामाथि बन्दकर्ताले कुटपिट गरेका छन् । बन्दकर्ताले हेटौंडा–१० मेनरोडस्थित मेयरका छोरा रूपकले जबर्जस्ती मोटरसाइकल चलाएको भन्दै विवाद भएपछि उनीमाथि कुटपिटसँगै मोटरसाइकल तोडफोड गरेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित दुई मन्त्री प्रचण्ड–नेपाल पक्ष गरेको बन्दको समर्थन गर्दै सडकमा निस्किएका छन् । मुख्यमन्त्री शाहीसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा नारा जुलुससहित सडकमा निस्किएका हुन् । मुख्यमन्त्री शाही, मन्त्रीद्वय केसी र बुढाले वीरेन्द्रनगर–६ को मंगलगढी चोकमा बन्द गर्न सडकमा बसेका थिए ।

आमहडतालकै दिन बिहीबार बिहान नेपाली सेनाले हेटौँडाबाट पोखरासम्म बख्तरबन्द गाडी निकालेको छ । नियमित अभ्यास र बख्तरबन्दको गाडीको चेकजाँचका लागी भन्दै गाडी निकालीएको सेनाले जनाएको छ । गाडी चितवन हुदै पोखरातर्फ गएको थियो । 

मुठभेड निम्त्याउने सरकारी हर्कत असफल : प्रचण्ड–नेपाल समूह 

नेकपाको प्रचण्ड–नेपाल समूहले आफूहरूको सचेत प्रयत्नमार्फत हडताल बदनाम गर्ने र नियोजित रूपमा मुठभेड निम्त्याउने सरकारी हर्कत असफल भएको दाबी गरेको छ । बिहीबारको आमहडतालपछि साँझ संघर्ष समितिका तर्फबाट प्रेस वक्तव्य जारी गर्दै संयोजक नारायणकाजी श्रेष्ठले हडताल असफल पार्न सरकारले नियोजित मुठभेड निम्त्याउन खोजे पनि सचेत प्रयत्नमार्फत विफल पारिएको दाबी गरेका छन् । 

‘शान्तिपूर्ण रूपमा आयोजित आमहडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रूपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई हाम्रो पार्टी र जनताको सचेत प्रयत्नमार्फत असफल पारिएको छ,’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘गृह मन्त्रालयका नाममा वक्तव्य जारी गर्दै जनतालाई आपसमा भिडाउने दुरासययुक्त प्रयत्नको बाबजुद आजको आमहडताल शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।’ 

ट्याक्सी त जल्यो नै, झन्डै आफैँ त्यसैमा जलिनँ : कुम्भनारायण श्रेष्ठ ट्याक्सीचालक

ज्याला मजदुरीको कामबाट दिक्क भएका कुम्भनारायण श्रेष्ठले ट्याक्सी चलाउन सिके । सवारी चालक अनुमतिपत्र पनि लिए । केही महिना त्यत्तिकै बसे । मजदुरी गर्नभन्दा ट्याक्सी चलाउन सजिलो भन्ने लागेपछि साहु खोजे । एक महिनाअघि एक ट्याक्सीसाहु भेटे । दिनको १५ सयदेखि दुई हजार रुपैयाँ दिने सहमतिपछि ट्याक्सी भाडामा लिए र चलाउन थाले ।

सदाझैँ उनी बिहीबार पनि बिहानै उठे । ग्यारेजबाट ट्याक्सी निकालेर थापाथली पुगे । चोकमा पुग्नासाथ यात्रु पाए । यात्रुलाई सोह्रखुट्टे लगे । चोकमा टहलिँदै थिए । फेरि अर्को यात्रु सामाखुसी जाने भन्दै चढे । लिएर सामाखुसीतर्फ लागे । चोकमा मात्रै पुग्दै थिए । ट्याक्सीका यात्रु झरे । सोही ठाउँमा फेरि अर्को यात्रु चाबहिल जान भन्दै उनीकहाँ आए । उनले हुन्छ भने । यात्रु ट्याक्सीमा चढे । उनी आफ्नो सिटमा बसेर सिटबेल्ट कसे । ट्याक्सी अगाडि बढाउने क्रममा उनको ध्यान पछाडि पुग्यो । ग्राहकले त जर्किनको पेट्रोल पो सिटमा खन्याउन थाले । ‘के गरेको’ भन्न नपाउँदै उनीसँगै रहेका अर्कोले सलाई कोरे र आगो सल्काए । क्षणभरमै अलप भए । 

कुम्भनारायण सिटमै थिए । आत्तिएका उनले बल्लतल्ल सिटबेल्ट खोल्न भ्याए । र, जलिरहेको ट्याक्सीबाट भाग्न सके । नत्र उनी पनि ट्याक्सीसँगै खरानी हुने थिए । ‘महिना दिन मात्रै भएको थियो ट्याक्सी भाडामा लिएर चलाउन थालेको । दिनको दुई हजार रुपैयाँ साहुलाई दिनुपर्ने । त्यही भएर बिहानै कोठाबाट निस्किएँ । यात्रु पनि पाइयो । खुसी नै थिएँ । सामाखुसी पुगेपछि भने नसोचेको भयो । ट्याक्सी त जल्यो नै, झन्डै आफैँ त्यसैमा जलिनँ,’ नयाँ पत्रिकासँग उनले भने ।