Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ माघ २१ बुधबार १४:०९:००
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

भारतीय किसान आन्दोलनमा अन्तर्राष्ट्रिय सेलेब्रिटीको चासो

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ माघ २१ बुधबार १४:०९:००

हलिउड पप स्टार रिहानादेखि वातावरण अभियन्ता ग्रेटा थनबर्ग, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी भान्जी मिना ह्यारिस र बेलायती सांसद क्लाउडिया वेबको समर्थन

भारतीय किसान दुई महिनाभन्दा लामो समयदेखि आन्दोलनरत छन् । सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा भारतीय किसानले राजधानी नयाँदिल्ली केन्द्रित आन्दोलन थालेका हुन् । किसानले लामो समयदेखि आन्दोलन गरिरहे पनि भारतीय सरकारले उनीहरूको माग सम्बोधन गर्ने प्रयास भने गरेको छैन । 

बरु, पछिल्लो समय भारतीय सरकार किसानप्रति निर्दयी रूपमा प्रस्तुत हुन थालेको छ । प्रहरीसँग दिनहुँजसो झडप हुन थालेको छ भने आन्दोलनरत क्षेत्रमा इन्टरनेट सेवासमेत बन्द गरिएको छ । सरकारी दमन बढ्दै गर्दा किसानको यो आन्दोलनले अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान तान्न थालेको छ । केही चर्चित अन्तर्राष्ट्रिय सेलेब्रिटीहरूले उनीहरूको आन्दोलनप्रति चासो राख्न थालेका छन् । 

हलिउड पप गायिका रिहानाको प्रश्न, ‘हामी यस विषयमा किन बोलिरहेका छैनौँ ?’
अमेरिकी चर्चित पप गायिका रिहानाले बुधबार ट्विटरमार्फत भारतमा जारी किसान आन्दोलनमा चासो व्यक्त गरेकी छिन् । उनले अमेरिकी च्यानल सिएनएनले भारतीय किसानको आन्दोलनका बारेमा प्रकाशन गरेको एउटा समाचार सेयर गर्दै लेखेकी छिन्, ‘हामी यस विषयमा किन बोलिरहेका छैनौँ ?’

उनको यो ट्विटले भारतीय किसानहरूको आन्दोलनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा थप चर्चित बनाएको छ भने भारतभित्रै पनि ठूलो हलचल पैदा गरेको छ । सामाजिक सञ्जालमा लाखौँको प्रतिक्रिया देखिएको छ भने भारतीय सरकारले विज्ञप्ति नै जारी गरी विरोध गरेको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत रिहानाको ट्विटको खण्डन गरेको छ । भारतले सेलेब्रिटीहरूले व्यक्तिगत स्वार्थका लागि यस्ता कार्य गर्नु उचित नहुने जनाएको छ ।

‘भारतीय संसद्ले पर्याप्त संवाद र छलफल गरी कृषि क्षेत्रको सुधारका लागि कानुन पारित गरेको हो,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा सनसनी फैलाउन गरिएका यस्ता कुनै पनि काममा सत्यता हुँदैन ।’

सामाजिक सञ्जालमा भने रिहानाको ट्विट भाइरल बनेको छ । यही ट्विटका कारण रिहाना भारतमा टे«न्डिङको पहिलो नम्बरमा पुगेकी छिन् । उनको ट्विटलाई दुई लाख ३३ हजारले रिट्विट गरेका छन् भने ७९ हजारले कमेन्ट गरेका छन् । 

पर्यावरण संरक्षण अभियन्ता ग्रेटा थनबर्गको समर्थन

पर्यावरण संरक्षण अभियन्ता ग्रेटा थनबर्गले किसान आन्दोलनको समर्थन गर्दै ट्विट गरेकी छिन् । नौ वर्षीया पर्यावरण अभियन्ता लिसिप्रियाले पनि रिहानाको ट्विटरलाई समर्थन जनाएकी छन् । तर कतिपयले यसलाई भारतको निजी तथा आन्तरिक विषय भनेका छन् । यसकारण रिहानालाई यी विषयबाट टाढै रहन आग्रह गरेका छन् ।

बलिउड नायिका कंगना रनौतको जवाफ, ‘उनीहरू किसान होइनन् आतंककारी हुन् 
रिहानाको ट्विटमा चर्चित व्यक्तिहरूले प्रतिक्रिया दिएका छन् । त्यसमध्ये बलिउड नायिक कंगना रनौतले फरक प्रतिक्रिया दिएकी छिन् । उनले आफ्नो प्रतिक्रियामा रिहानालाई गाली गरेकी छिन् । ‘उनीहरूका बारेमा कसैले पनि कुरा गरिरहेका छैनन् । किनभने उनीहरू किसान होइनन्, आतंककारीहरू हुन्,’ रिहानाको ट्विटलाई रिट्विट गर्दै कंगनाले लेखेकी छिन्, ‘उनीहरू देशलाई विभाजित गर्न चाहन्छन् र चीनले कब्जा गरोस् भन्ने चाहन्छन्, अमेरिकाले जस्तै । बस्, मूर्ख । हामी आफ्नो देश बेच्न तयार छैनौँ ।’ कंगनाले आफ्नो अरू धेरै ट्विटमा रिहानालाई ‘पोर्ट सिंगर’ भनेकी छिन् । 

किसानले गत साता दिल्लीमा ट्र्याक्टर परेड गरेका थिए । उक्त परेडमा किसान र प्रहरीबीच झडप भएको थियो । त्यो घटनापछि किसानको आन्दोलनलाई अन्तर्राष्ट्रिय मिडियाले महत्व दिए । त्यससँगै किसानको आन्दोलनमा अन्तर्राष्ट्रिय सेलेब्रिटीहरूले पनि चासो व्यक्त गर्न थालेका हुन् । रिहानासँगै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी भान्जी मिना ह्यारिस, बेलायती सांसद क्लाउडिया वेबले पनि भारतीय किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

किन आन्दोलित छन् किसान ?
भारत सरकारले गत सेप्टेम्बरमा कृषि क्षेत्रको सुधारका लागि भन्दै तीन कानुन जारी गरेको थियो । यी कानुनले आफूहरूले वर्षाैंदेखि उपयोग गर्दै आइरहेको अधिकार खोसिएको जनाउँदै भारतीय किसानले आन्दोलन सुरु गरेका हुन् । 

भारतमा यसअघि सरकारले किसानका लागि विशेष व्यवस्था गरेको थियो । किसानको उत्पादनको बिक्री, मूल्य निर्धारण र तिनको भण्डारणमा उनीहरूकै अधिकार हुन्थ्यो । भारतको पुरानो व्यवस्थामा किसानको उत्पादन सरकारले नै निश्चित मूल्य तोकी किनिदिने गर्दथ्यो । किसानले त्यसभन्दा बाहेक बजारमै पनि बेच्न पाउँथे । त्यसरी बेच्दा नबिकेको उत्पादन सरकारले लिइदिने गर्दथ्यो ।

तर, नयाँ तीन कानुनमा निजी क्षेत्रको पनि प्रवेश भएको छ । पहिले सरकारले मात्रै किसानको उत्पादन खरिद गथ्र्याे भने अब निजी कम्पनीहरूले पनि सरकारले जस्तै किसानहरूको उत्पादन किन्ने, भण्डारण गर्ने र बेच्न सक्ने व्यवस्था आएको छ । 

यसले गर्दा किसान समस्यामा पर्ने उनीहरूको तर्क छ । निजी व्यापारीले कालोबजारी गर्न सक्ने, उत्पादन एकैपटक भण्डारण गरी किसानलाई कम मूल्यमा बेच्न बाध्य पार्न सक्ने उनीहरूको बुझाइ छ । 

यसैकारण भारतमा किसानहरू लामो समयदेखि आन्दोलनरत छन् । उनीहरूले यी कानुन खारेज गरी पुरानै व्यवस्था कायम गर्न माग गरेका छन् । सरकारले भने कृषि क्षेत्रको उत्पादन बढाउन र यसलाई थप विस्तार गर्न नयाँ कानुन जारी गरिएको दाबी गर्दै आएको छ । 

को हुन् रिहाना ?

३२ वर्षीया रिहाना पप गायिका हुन् । करिब १० वर्ष पहिले उनले सांगीतिक करियर सुरु गरेकी थिइन । बिलबोर्ड हन्ट–१०० मा समावेश भएकी रिहाना सबैभन्दा कम उमेरकी हुन् । रिहानालाई अहिलेसम्म आठपटक ग्रयामी अवार्ड दिइसकेको छ । उनले हासिल गरेको यो प्रगतिले आम युवालाई प्रेरित गर्छ । गायिकाको साथसाथै उनी सफल व्यापारी पनि हुन् ।