१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ माघ २१ बुधबार १०:२९:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षकबाटै छात्रामाथि यौन दुर्व्यवहार, दुई घन्टा कोठाभित्र  थुनेर हल्ला नगर्न निर्देशन

Read Time : > 3 मिनेट
२०७७ माघ २१ बुधबार १०:२९:००

शिक्षकले वर्षाैँदेखि गरेको दुर्व्यवहारविरुद्ध बालिकाले बोल्ने आँट गरे, तर विद्यालयमा दुई घन्टा थुनिए, पीडितलाई बोल्न आँट दिनेलाई निष्कासन गर्ने धम्की

विद्यालयमा हाम्रा बालबालिका किन पढ्न पठाउँछौँ ? यसको सहज उत्तर हुन्छ शिक्षा आर्जन गर्न । बालिबालिका शिक्षित भएपछि आत्मनिर्भर बन्छन् । समाजमा हुने सबै खाले विभेदविरुद्ध बोल्ने आँट गर्न सक्छन् । तर, झापाको एक सामुदायिक विद्यालयका पढ्न गएका विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ । हिंसा चिन्ने र प्रतिकार गर्न सिकाउने शिक्षकबाटै विद्यार्थीहरू वर्षौँदेखि पीडित भइरहेका छन् ।

कमल गाउँपालिका– ३ केर्खामा रहेको सहिद धर्मभक्त माध्यमिक विद्यालयका दुई शिक्षकले वर्षौँदेखि माथिल्लो कक्षाका बालिकालाई असहज हुने गरी छुने, गाला मुसार्नेजस्ता अस्वाभाविक गतिविधि गर्ने गरेको खुलेको छ । विद्यालयका शिक्षक शालिकराम पोखरेल र शिव भट्टराईले बालिकामाथि दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यालयका विद्यार्थीले संयुक्त रूपमा शिक्षकविरुद्ध आवाज उठाएका छन् । 

पोखरेल प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक अभावका कारण उनी माध्यमिक तहमा पनि नेपाली विषय पढाउँदै आएका छन् । उनी यो विद्यालयमा दुई दशकदेखि शिक्षण पेसामा छन् । भट्टराई भने मावि तहका अंग्रेजी विषयका शिक्षक हुन् । उनी पाँच वर्षदेखि यस विद्यालयमा पढाउँदै आएका छन् ।

शिक्षकहरूले पढाउने र अनेक बहानामा बालिकाको संवेदनशील अंग छुने, गाला मसार्नेलगायत दुर्व्यवहार गर्ने गरेको पीडित बालिकाले बताएका छन् । ‘होमवर्क हेर्ने निहुँले सधैँ सरले शरीर छुनुहुन्थ्यो । छुन नहुने ठाउँमा पनि छुने गर्नुहुन्थ्यो,’ कक्षा– ८ की एक पीडित बालिकाले नयाँ पत्रिकासँग भनिन्, ‘सधैँ उहाँले यस्तै गर्नुहुन्छ । हामीले डरले अहिलेसम्म भन्न सकेका थिएनौँ ।’ 

गत शुक्रबार पनि शिक्षकले यही गतिविधि गरेपछि कक्षा– ९ मा अध्ययनरत बालिकाहरू दुर्व्यवहारविरुद्ध आवाज उठाए । जसमा केही बालकले पनि साथ दिए । त्यो दिन विद्यालयको कक्षा सञ्चालन पनि हुन सकेन । दुर्व्यवहारका विरुद्ध आवाज उठाउने बालिकाहरूलाई विद्यालयको ‘अफिस’मा लगियो । प्रशासनले विद्यालयमा कार्यरत गुरुआमालाई पनि प्रवेश नदिई बालिकाहरूलाई दुई घन्टा थुन्यो र यो विषय बाहिर नल्याउन भन्दै सम्झाइबुझाई गर्‍यो । ‘विद्यालयले हामीलाई त यस्ता कुराको प्रतिकार गर्न सिकाउनुपर्ने हो ।

‘झ्यालढोका सबै बन्द गरेर थुन्यो,’ कक्षा–९ की पीडित बालिका भन्छिन्, ‘स्कुलको अध्यक्ष चक्र गुरुङले यस्ता कुरा बाहिर नल्याउनु । तिमीहरूको इज्जत सियोको टुप्पोमा हुन्छ । सेतो लुगामा दाग लाग्यो भने जानै मुस्किल पर्छ भन्दै सम्झाउनुभयो । उहाँले सरहरू जेल जाँदा तिमीहरू पनि जानुपर्छ यो कुरा बाहिर नल्याऊ भन्नुभयो । हाम्रा अभिभावक आउँदा पनि छाड्नुभएन । साथीहरूले बाहिर हल्लाखल्ला गरेपछि हामीलाई छाडियो ।’ 

बालिकालाई साथ दिएर दुर्व्यवहारविरुद्ध आवाज उठाउने बालकलाई पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र गुरुङ र आरोपित शिक्षकले धम्की दिएको विद्यार्थीको आरोप छ । ‘केटाको होमवर्क चेक गर्दा छेउमा पनि पर्दैनन् । केटी साथीहरूको चेक गर्दा जिउमा हात लान्छन् । हामीले साथीहरूका लागि बोल्दा शालिकराम सरले तिमीहरूको सिउर पलाएछ । सरसँग मुखमुखै लाग्छौ भन्दै कराउनुभयो,’ कक्षा–९ का विद्यार्थी रोमन बस्नेतले भने, ‘अध्यक्षले तँ मान्छे कालो व्यहोरा पनि कालै भन्नुभयो । के कालो मान्छेले न्याय माग्न पाउँदैन ?’  

बालिकामाथि भएको दुर्व्यवहारबारे कुरा उठाउँदा विद्यालयबाटै निकाल्ने धम्की दिएको कक्षा– ९ का विद्यार्थी बलजित राई बताउँछन् । ‘दुई–तीन वर्षदेखि नै केटी साथीलाई यस्तो गरिरहेको देखेको छु । पहिला पनि आवाज उठाएको हुँ । म ९ मा फेल भएँ । त्यही कारणले फेल भएँ कि भन्ने लाग्छ,’ राई भन्छन्, ‘यसपटक पनि सुरुमा मैले कुरा उठाएँ । केटी साथीलाई हौसला हुन्छ भनेर म आफैँ अफिसमा गएँ । हेडसरले भविष्य सिध्याइदिन्छु भन्नुभयो । यसको अर्थ स्कुलबाट निकाल्छु भनेको हाेइन र ?’ प्रधानाध्यापकसम्म कुरा लिएर जाने बालिकालाई समेत कुटपिट गरेको उनले बताए । ‘मैले नै अफिसमा कुरा गर्न जानुपर्छ भनेँ । तर, त्यहाँ गएका साथीहरूलाई भाटाले हानेपछि मन धेरै दुख्यो,’ राई भन्छन्, ‘यस्तो अन्याय हामीले स्कुलमा कहिलेसम्म खप्ने ?’ आफ्नो समस्या राखेपछि बोल्न नसक्ने पाँचजना बालिकालाई छलफल गर्न कोठामा थुनेर राखेको कक्षा– ९ का अर्का विद्यार्थी सलिन लिम्बू बताउँछन् । 

सबैको भेलाबाट समस्याको समाधान भइसक्यो : प्रधानाध्यापक पौडेल
शिक्षकमाथि प्रश्न उठाउँदै विद्यार्थीले कक्षा सञ्चालन गर्न नदिने भएपछि विद्यालयले अभिभावक, कमल गाउँपालिकाको शिक्षा शाखा, वडाध्यक्ष, विद्यार्थी संगठनलगायतसँग छलफल गरायो । त्यो क्रममा अभिभावकले कारबाहीको माग गरे । 
आरोपित शिक्षकहरूले भने विद्यार्थीलाई हौसला दिन धाप मारेको बताए । कुरा मिलिसकेको भन्दै विद्यालयका प्रधानाध्यापक काजीमान पौडेलले प्रतिक्रिया दिन आनाकारी गरे । उनले विद्यार्थी र शिक्षकमा केही असमझदारी आएको, तर अभिभावक, शिक्षक, विद्यार्थीलगायतको भेलाले समाधान गरेको बताए ।

‘विद्यार्थी र शिक्षकबीचमा असमझदारी भएको हो । त्यही भएर निकास निस्कियो । विद्यालय सञ्चालन भइरहेको छ,’ प्रअ पौडेलले भने, ‘नहुनुपर्ने कुरा भयो । यसलाई विद्यालयले गम्भीरतापूर्वक लिएको छ ।’  विद्यालयले आरोपित दुई शिक्षकलाई अन्तै सरुवा गर्न कमल गाउँपालिका शिक्षा शाखालाई पत्र लेखिएको उनले बताए । ‘उहाँहरू (अभिभावक)ले सात दिनको समय दिनुभएको थियो,’ उनले भने, ‘हामीले सोमबार नै गाउँपालिकालाई लेखेर पठाएका छौँ । आरोपित शिक्षक विद्यालय आउन छाड्नुभएको छ ।’

हामीले स्पष्टीकरण सोध्ने र सचेत गराउन मात्र सक्छौँ : गाउँपालिका शिक्षा शाखा
कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले भने शिक्षकहरूले विद्यार्थीलाई त्यसो नगरेको हुन सक्ने बताए । अभिभावक र शिक्षकसँगको छलफलमा बसेका हुने दुवैतर्फको कुरा सुन्दा त्यस्तो नपाएको दाबी गरेका हुन् ।  ‘विद्यार्थीको पनि कुरा सुनियो । शिक्षकको पनि सुनियो । शिक्षकले आफ्नै छोराछोरी जस्तो लागेर हौसला दिन धाप मारेको भन्नुभयो,’ उनले भने, ‘स्कुलमा शिक्षकले त्यस्तो गर्नुभयो भन्नेचाहिँ लाग्दैन । बच्चाहरूले अर्कै हिसाबले बुझेछन् ।’ शिक्षा शाखाले स्पष्टीकरण सोध्ने र सचेत गराउनेबाहेक केही पनि गर्न नसक्ने बताए । ‘शिक्षा शाखाले स्पष्टीकरण सोध्न र सचेत गराउन सक्छ । तर, उहाँहरूलाई अरू केही गर्न सक्दैन,’ उनले भने, ‘सरुवा शिक्षकले नै खाली ठाउँ हेरेर मिलाएर जाने हो । हामीले गर्ने हाेइन ।’

विद्यार्थीलाई सामान्य दण्डित गर्दा यस्तो आरोप आयो : आरोपित शिक्षक
आरोपित शिक्षक पोखरेलले सामान्य विषयमा अहिलेको अस्थिर राजनीति घटना क्रमको फाइदा उठाएको दाबी गरे । केही वर्षअघि विद्यालय नआउने छात्रलाई सामान्य दण्डित गरेको विषयले यत्रो रूप लिएको उनले बताए । ‘बाहिर आएजस्तो केही हाेइन । केही वर्षअघि विद्यालय नआउने केटाहरूलाई सामान्य दण्डित गरेको घटनाको रिस फेर्न उनीहरू यस्तो आरोप लगाएका हुन्,’ पोखरेलले भने, ‘यो कुरा स्कुल हुँदै बाहिर गयो । अहिलेको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केहीले केटाहरूको कुरा सुनेर सरलाई आरोप लगाउनू तिमीहरूलाई राम्रो हुन्छ भनेर उकासे ।’ आरोपितमध्ये शिक्षक भट्टराईले भने मिडियासँग प्रतिक्रिया नदिने बताए । उनले विद्यालयले यो विषय अघि बढाएको र आफू नबोल्ने बताए । यद्यपि विद्यार्थीले ‘होमवर्क’ नगर्दा कुटेको रिस फेरेको आरोप लगाए ।