Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दुर्गा घिमिरे
नवीन प्यासी काठमाडाैं
२०७७ माघ २० मंगलबार ०६:४७:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

ओइ सरकार सुन् ! सुन् ! सुन् ! कान खोलेर सुन् !, समृद्धिको बजारमा प्रतिगामी धुन...

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ माघ २० मंगलबार ०६:४७:००

नागरिक आन्दोलनमा बजिरहने एउटा गीतको कथा

ओइ सरकार सुन् ! सुन् ! सुन ! 
कान खोलेर सुन् !
समृद्धिको बजारमा प्रतिगामी धुन... 

यो गीत पुस अन्तिमतिर नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित बृहत् नागरिक आन्दोलनमा ‘फ्लास मोब’का किशोरीहरूले संयुक्त स्वरमा गाएका थिए । प्रतिष्ठानको डबलीमा उनीहरूले ‘प्रतिनिधिसभा पुनर्गठन, सर्वोच्चले गर सम्बोधन’लगायत नारा लेखिएका पम्प्लेट बोकेर यो गीत गाएका थिए । किशोरीहरूले लगाएको रातो टिसर्टमा लेखिएको थियो, ‘वुमेन इन पोलिटिक्स’ । प्रतिष्ठानको कार्यक्रमपछि प्रायः नागरिक आन्दोलनमा यो गीत फ्लास मोबका अभियन्ताहरूले

गाउँदै आएका छन् : 
मेरो स्वाभिमान मैले खोज्या देश
न्याय र सुशासन 
ओई सरकार खोइ तेरो अनुशासन ? 

यो गीत दुर्गा घिमिरेद्वारा लेखिएको हो । तर, यी शब्दहरू दुर्गाद्वारा कोरिनुअघिको कथा निकै लम्बेतान छ । हामी दक्षिण अमेरिका पुग्नुपर्ने हुन्छ । दक्षिण अमेरिकी देश चिलीमा केही वर्षअघि एउटा गीत आयो, ‘बाटोमा बलात्कारी छ’ । प्रहरीलाई इंगित गर्दै ‘बाटोमा साथी (प्रहरी) छ’ भन्ने भनाइमाथिको व्यंग्य थियो यो गीत । प्रहरी र प्रशासनले गर्ने संरचनागत यौनहिंसातर्फ गीत इंगित थियो । आन्दोलनकर्मीहरू भन्थे, ‘मेरो दोष थिएन, त्यहाँ जानु मेरो गल्ती थिएन, मैले लगाएको लुगाको दोष थिएन ।’ ‘लास तेसिस’ समूहले तयार गरेको बलात्कारविरोधी यो गीत चिलीको सिमाना नाघेर दक्षिण अमेरिकाभर फैलियो । दक्षिण अमेरिकाको भूगोल नाघेर भारतसम्म आइपुग्यो । 

हरियो सल लिएर यस गीतलाई गर्भपतनको अधिकारका निम्ति प्रस्तुत गरियो । निर्धक्क भएर लुगा छनोटको विम्बका रूपमा पार्टीको पोसाकमा प्रस्तुत गरियो । आफ्नो शरीर आफ्नो मर्जी भन्ने सन्देशका लागि अर्धनग्न प्रस्तुति दिइयो । लेखक तथा पत्रकार ग्याबी हिन्सलिफले गार्जियनमा लेखेकी छिन्, ‘सन् १९७३ मा स्यान्टियागो स्टेडियममा यातनागृह बनाइएको थियो । त्यो स्टेडियमबाहिरको ‘बाटोमा बलात्कारी छ’ प्रदर्शनमा वृद्धाहरू पनि उल्लेख्य मात्रामा सहभागी थिए, जसले त्यो कठोर कालखण्ड भोगेका थिए ।’

यो गीत र आन्दोलनलाई दुर्गाले नियालिरहेका थिए । ०६७ मा इलामबाट काठमाडौं आएका दुर्गासँग आफ्नै सपना थियो । दैनिक हजार सपनाहरूलाई थानकोट र सूर्यविनायक नाकाबाट स्वागत गरिबस्छ राजधानी । कुतूहलता र मीठो मुस्कानका साथ स्वागत गर्छ राजधानीले । अझ, गाउँतिर किस्सा पनि पठाउँछ, ‘सहर यस्तो भव्य, यस्तो सुविधासम्पन्न’ भनेर । र माइक्रो, बस, ट्रक आदिमा सहर भित्रिएका सपनाहरूलाई गलाउँछ, थकाउँछ, फ्रस्टेड बनाउँछ राजधानीले अर्थात् सत्ताले । त्यही सपनाहरूमध्ये एक सपना न हुन् दुर्गा । जो दश वर्षअघि मात्र राजधानी छिरेका थिए । 

राजधानीमा ‘युथ पार्लियमेन्ट’ नामक संस्थाको महासचिव भएर काम गरे । युवाहरूलाई संसदीय अभ्यासको जानकारी दिने गथ्र्यो त्यस संस्थाले । पहिलो संविधानसभा विघटन भयो । संविधान बनेन । दोस्रो संविधानसभापछि ०७२ मा मात्रै बन्यो । तर, ०७० मै दुर्गालगायत युवाहरूले तारानाथ रानाभाटलाई प्रमुख अतिथि बनाएर नमुना संविधान बनाए । तर, त्यसप्रति संविधान बनाउनेहरूले भने चासो दिएनन् । जसकारण ०७२ को संविधान मधेसकेन्द्रित दलहरूले जलाए, आदिवासी जनजातिले विरोध गरे ।

०६८ मै आरआर कलेजमा जनमतसंग्रह पनि गराएका थिए दुर्गाहरूले । प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणालीमा जाने कि नजाने भनेर । ‘जाने’मा बढी मत आएको थियो । दुर्गा सुनाउँछन्, ‘ती नमुना संविधान, हामीले चाहेको संसदीय व्यवस्था अथवा शासन प्रणालीमाथिको संकेत थिए । तर, केही पूरा भएन । हाम्रो सपनालाई त्यसरी तुहाइयो ।’ 

निर्मलाको हत्याकाण्ड, राजु सदाको विषयमाथि दुर्गा निरन्तर सडकमा छन् । कीर्तिपुरमा इन्स्टिच्युट चलाएका थिए । तर, लकडाउन सुरु भयो । चलाउन सकेनन् । बन्द गरे । त्रिविबाट अंग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर दुर्गा यी यावत् परिवेशमाथि आफू किचिएपछि निसास्सिएको अवस्थामा यो गीत जन्मेको बताउँछन् । सत्ताप्रतिको आक्रोश, यो व्यवस्थाप्रतिको आक्रोश भन्न रुचाउँछन् दुर्गा । 

घुम्यो धेरै राजनीतिको चर्खा 
म लडेँ, बा लडे, आमा लडिन् 
बाका बा लडे 
अझै कति लड्ने भन् ? 
ओई सरकार खोइ संविधान ?

यस गीतको रिहर्सल भइरहेको थियो कमलादीमा । फ्लास मोबका किशोरीहरूले गीतको अभ्यास गरिरहेका थिए । दुर्गा पनि पुगेका थिए । उच्चारणमा एक शब्द तलमाथि भएको थियो । दुर्गाले शब्द तलमाथि भएको बताए । तर, एक किशोरीले भनिन्, ‘तपाईंले हामीलाई भनिरहन पर्दैन । हामीले आफैँ मिलाएका छौँ ।’ ती किशोरीको जवाफ सुन्दा आफूलाई मजा लागेको बताउँछन् दुर्गा । 

दुर्गाले अर्को र्‍याप गीत तयार गरेका छन् । रेकर्डिङ हुन बाँकी छ । त्यो गीतले पनि सत्तामाथि नै प्रश्न गरेको छ । दुर्गा भन्छन्, ‘४० प्रतिशतभन्दा बढी युवा छन् देशमा । यो समूहले राज्यसत्तालाई दबाब दिने हो । त्यसका लागि एकजुट हुने हो । गीत, अभियानमार्फत मेरो कोसिस यही नै हुनेछ ।’