१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ माघ १९ सोमबार ०८:२८:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रदेश १ को हिउँदे अधिवेशनको दोस्रो बैठक २५ माघमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ माघ १९ सोमबार ०८:२८:००

प्रदेश १ सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक २५ माघमा बस्ने भएको छ । यसअघि ७ माघमा डेढ मिनेट बसेर अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो । अब बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने सम्भावना छ ।

प्रदेश १ सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले २५ माघमा दोस्रो बैठक आह्वान भए पनि सो बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने–नहुने अहिले नै भन्न नसकिने बताए । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा विभाजन आएको हो ।

प्रचण्ड–माधव समूहका ३७ सांसद राईको विपक्षमा देखिएका छन् । त्यसयता नै हिउँदे अधिवेशन बोलाउन सभामुख प्रदीपकुमार भण्डारीलाई सो समूहले दबाब दिँदै आएको थियो । तर, बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुन नदिन सत्ताधारी ओली समूहका सांसद र मुख्यमन्त्रीले बैठक टार्दै आएको सो समूहले आरोप लगाउँदै आएको छ । 

प्रदेश १ सभामा नेकपाको दुई समूहका अलग–अलग संसदीय दल छ । दुवैले एक–अर्कालाई कारबाही गरेको जानकारी प्रदेशसभालाई गराइसकेका छन् । प्रदेश १ मा नेकपाको ६७, मुख्य प्रतिपक्षी कांग्रेसको २१, प्रतिपक्षी दल जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक मञ्च र राप्रपाका १–१ सांसद् छन् । नेकपाका ६७ मध्ये ४० आफूहरूसँग रहेको प्रचण्ड–माधव समूहको दाबी छ ।

प्रतिपक्षी दलले समेत अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने भएकाले सहजै प्रस्ताव पारित हुने उनीहरूको अनुमान छ । सत्ताधारी ओली समूहले भने आफूहरूसँग ३० भन्दा बढी सांसद रहेको र अन्य समूह र दलका विवेकी सांसदहरूले पनि साथ दिने भएकाले अविश्वास प्रस्ताव पारित नहुने दाबी गरेको छ ।