मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०८:५२:००
Read Time : > 1 मिनेट
विश्व

थाइल्यान्डकी अधिराजकुमारी प्रधानमन्त्रीका लागि अयोग्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०८:५२:००

थाइल्यान्डकी अधिराजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार बन्न नपाउने भएकी छिन् । प्रधानमन्त्रीको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी अधिराजकुमारी उबोलरतनालाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो । थाइल्यान्डकोे थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया उबोलरतनाले उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । अधिराजकुमारीले उम्मेदवारी घोषणा गरेको केही घन्टामै उनका भाइ तथा थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए । 

उबोलरतना अहिले पनि राजपरिवारको सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइ थियो । थाइल्यान्डमा राजसंस्थालाई पवित्र संस्थाका रूपमा हेरिने भएकाले राजसंस्थाको आशयलाई पालना गरेको पाइन्छ ।  राजाको असन्तुष्टिलाई ध्यानमा राखी निर्वाचन आयोगले अधिराजकुमारी उबोलरतनालाई प्रधानमन्त्रीको उम्मेदवारका लागि अयोग्य घोषणा गरेको अधिकारीहरूले बताएका छन् । 

अधिराजकुमारीको घोषणापछि थाइल्यान्डसहित विश्वभरि नै भावी राजनीतिबारे अनेक चर्चा र अनुमान गरिएका थिए । आउँदो मार्च २४ का दिन हुने आमनिर्वाचनका लागि राजकुमारीलाई अगाडि सारेको रक्षाचार्टले अब अर्को उम्मेदवारलाई अगाडि बढाउनुपर्ने भएको छ । प्रधानमन्त्रीका लागि विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा रहेका सैनिक नेता प्रयुत चान–ओ–चाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । सैनिक विद्रोहमार्फत राजनीतिमा आएका प्रयुत यसपटकको निर्वाचनमार्फत् आफूलाई नागरिक नेताका रूपमा स्थापित गराउने प्रयासमा छन् । 

राजाको असन्तुष्टि मनन गर्दै निर्वाचन आयोगले अधिराजकुमारी उबोलरतनालाई प्रधानमन्त्रीको उम्मेदवारका लागि अयोग्य घोषणा गरेको अधिकारीको भनाइ

सैन्य विद्रोहबाट पदच्युत गरिए पनि थाइल्यान्डको राजनीतिमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको प्रभाव देखिन्छ । उनलाई थाइल्यान्डको सेना र बैंककस्थित माथिल्लो धनाढ्य वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्ने गरेको पाइन्छ । उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्युत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिङ्लुकको सत्तामा पुनरागमन भएको थियो । तर, उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्युत गरिएको थियो । उनीहरू दुवैजना अहिले निर्वासनमा छन् । देशबाहिरैबाट उनीहरूले देशभित्रको राजनीतिलाई निर्देश गरेका छन् ।