मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ माघ १७ शनिबार १८:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्दोलनको धम्कीपछि पेट्रोलपम्प सञ्चालकको कमिसन वृद्धि, उपभोक्ता मूल्यमा चाप बढ्ने

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ माघ १७ शनिबार १८:०९:००

नेपाल आयल निगमले पेट्रोलपम्प सञ्चालकको कमिसनदर वृद्धि गरेको छ । कसिमनदर वृद्धि नभए आइतबार बिहानबाटै निगमले तोकेभन्दा बढी मूल्य लिएर पेट्रोल र डिजेल बिक्री गर्ने पम्प व्यवसायीले चेतावनी दिएका थिए ।

पम्प व्यवसायीहरूले मूल्य वृद्धि गरेर तेल बेच्ने र त्यसमा असहयोग भए सबै पम्प बन्द गरेर आन्दोलनमा जाने धम्कीपूर्ण भाषा प्रयोग गर्दै १२ माघमा निगमलाई पत्र पठाएका थिए । त्यसपछि व्यवसायीसँग निरन्तर छलफल गरेर कसिमन वृद्धि गर्ने निर्णयमा निगम अधिकारी पुगेका हुन् ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायले शनिबार विज्ञप्ति जारी गर्दै साबिकको कमिसनदरमा पेट्रोलमा ०.३९५ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशत कमिसन बढाएको जानकारी दिएका छन् । उनका अनुसार यसअघि पेट्रोलमा तीन प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन दिइँदै आएको थियो ।

‘कसिमनदर वृद्धि गर्ने निर्णयपछि व्यवसायीले अबका दिनमा पेट्रोलमा ३.३९५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन पाउनेछन्’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पम्प सञ्चालकलाई दिइँदै आएको कसिमनबापतको रकम उपभोक्ता मूल्यमा जोडिँदै आएको छ । त्यसैले, यसपटक गरिएको व्यवसायीको कमिसन वृद्धिले उपभोक्ता मूल्यमा चाप बढेको छ । निगमका अनुसार हाल गरिएको कसिमन वृद्धिले पेट्रोल र डिजेलको उपभोक्ता मूल्यमा औसतमा ०.३६ प्रतिशतले बढ्नेछ ।

देशभरका एक हजार पाँच सयभन्दा बढी पम्पले हाल औसतमा दैनिक ४८ लाख लिटर डिजेल र १५ लाख लिटर पेट्रोल बिक्री गर्दै आएका छन् । पछिल्लो समय भएको कमिसन वृद्धिले दैनिक डिजेलमा २२ लाख ५६ हजार र पेट्रोलमा ६ लाख ५१ हजार रुपैयाँ बढी रकम उपभोक्ताबाट पम्प सञ्चालकले उठाउनेछन् । यसरी सानो अंकमा भएको कमिसन वृद्धिले पनि दैनिक २९ लाख रुपैयाँभन्दा बढी रकम उपभोक्ताबाट पम्प व्यवसायीले उठाउनेछन् ।

यसबीच पम्प व्यवसायीले ट्यांकरबाट पम्पको अन्डरट्यांकीमा तेल खसाउँदा हुन सक्ने चुहावटबापत पेट्रोलमा प्रतिचार हजार लिटर (एक चेम्बर) मा १० लिटर र डिजेलमा प्रतिचार हजार (एक चेम्बर) लिटरमा तीन लिटर थपेर पाउने सुविधा भने खारेज भएको छ । प्राविधिक चुहावटका विषयमा विस्तृत अध्ययन गरेर मात्र टुंगाे लगाउने निर्णय भएको निगमले जनाएको छ ।

पम्प व्यवसायीको संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले आफूहरूको मागअनुसार कमिसनदर वृद्धि नभए पनि तत्काललाई स्वीकार गरेको बताए । ‘हाम्रा धेरै माग सम्बोधन भएका छैनन् । कमिसनदर वृद्धिको कुरा पनि मागअनुसार भएन’ उनले भने, ‘यद्यपि, तत्कालका लागि भएको सम्बोधन ठीकै छ ।’

पम्प व्यवसायीले विगत ६ वर्षदेखि कमिसन वृद्धि नभएकाले यसपटक कम्तीमा पाँच प्रतिशत कमिसनदर कायम गर्न माग राखेका थिए । पेट्रोलियम व्यवसायको कारोबारमा निगमको नियन्त्रण छ । त्यसैले, निगमले तोकेको मूल्यमा पम्प व्यवसायीले तेल बेच्ने र तोकिएको कमिसनदरमा काम गर्नुपर्ने बाध्यता छ ।