मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १७ शनिबार १७:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंका मेयर शाक्यको दाबी–कमलपोखरीमा राजनीति हाबी भयो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १७ शनिबार १७:१२:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हाबी भएको बताएका छन् । नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखाको कार्यालय उद्घाटन गर्दै उनले विघटित संसद्का सांसद गगन थापालगायत स्थानीय जनतासँग पटक–पटक छलफल गरी डिजाइनलाई अन्तिम रूप दिई कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको भन्दै पुनर्निर्माणको धेरै काम सम्पन्न भएपछि अनावश्यक बखेडा झिकेर राजनीति गर्ने काम भएको बताएका हुन् । 

‘गगन थापाहरू कमल पोखरीलाई छठ पोखरी बनाउन चाहन्थेँ, मैले त्यसलाई सांस्कृतिक पोखरी बनाउन चाहेँ,’ शाक्यले भने ‘काठमाडौं महानगरले गर्न खोजेको विकासको काममा राजनीतिक स्वार्थ राखेर अवरोध गर्दा समस्या हुने गरेको छ । कमलपोखरीमा पनि त्यही गर्न खोजिँदै छ ।’ 

शाक्यले कमल पोखरीमा त्यही क्षेत्रका विघटित संसद्का सांसद गगन थापाले अहिलेसम्म कति खर्च गर्नुभएको छ भन्ने लिखित विवरण माग्दै पत्र पठाएको पनि बताए । ‘यदि उहाँले सो विवरण दिन सक्नुभएन भने त्यहाँ खर्च भयो भनिएको रकम हिनामिना गरेको ठहरिनेछ,’ शाक्यले भने, ‘उहाँ (गगन थापा) स्वयंले मलाई लिखितपत्र पठाई कमल पोखरीमा सांसद कोषबाट करोडौँ रकम खर्च गरिसकेको भनी जानकारी दिएका कारण उहाँलाई लिखितपत्र नै पठाई कमलपोखरीमा उहाँले अहिलेसम्म गरेको खर्च विवरण पठाउन अनुरोध गरेको हुँ ।’ 

थापाले पटक–पटकका छलफलमा पनि त्यहाँ सांसद विकासकोष र निजी स्रोतबाट तारबारलगायतका कार्य गरेको बताएको पनि शाक्यले जिकिर गरे । ‘कमलपोखरीमा आफूले गरेको कामको विवरण उहाँले पेस गर्नुभयो भने सबैलाई थाहा हुनेछ, त्यहाँ अहिले होइन, पहिला नै सिमेन्ट प्रयोग गरी निर्माण कार्य कसले गरेको रहेछ प्रस्ट हुन्छ,’ शाक्यले भने, ‘त्यहाँ बनाइएका सिँढीमा सिमेन्ट कसले प्रयोग गरेको रहेछ भन्ने कुरा पनि उहाँको विवरण आएपछि थाहा हुन्छ । यदि विवरण दिन सक्नु भएन भने उहाँले खर्च गरेको भनिएको करोडौँ रकम हिनामिना गरेको हो कि भन्ने प्रश्न उठ्नेछ ।’