मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केन्ट ह्यारिङटन / जोन वाल्कोट
२०७५ माघ २९ मंगलबार ०९:२०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

ट्रम्पको कदमले जन्माएको अन्योल

किमको परमाणु महत्वाकांक्षालाई रोक्ने सन्दर्भमा मात्र ट्रम्प असफल भएका छैनन्, एसियामा अमेरिकाले खेल्दै आएको जबर्जस्त भूमिकाको अवमूल्यन पनि गरेका छन्

Read Time : > 3 मिनेट
केन्ट ह्यारिङटन / जोन वाल्कोट
२०७५ माघ २९ मंगलबार ०९:२०:००

यही फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच फेरि एकपटक भेटवार्ता हुँदै छ । किमसँगको यस भेटवार्ता दौरान पनि ट्रम्पले किमको उच्च प्रसंशा गर्नेछन् भने किमले परमाणु हतियार त्याग्ने प्रतिबद्धता दोहो¥याउनेछन् । अनि, किमले यो प्रतिबद्धता पूरा गरे किम वंशमाथि सम्पत्तिको वर्षा गरिदिने वाचा ट्रम्पले गर्नेछन् । 

तर, ट्रम्पले गरेको सहज अपेक्षा नैराश्यमा पनि टुंगिन सक्ने खतरा छँदै छ । लामो समयदेखि कायम रहेका आफ्ना गुट सदस्यलाई त्याग्ने, रणनीतिक दृष्टिले महत्वपूर्ण  मानिएका क्षेत्रबाट अमेरिकी सैन्य बल फिर्ता बोलाउने र व्यापार सम्झौता रद्द गर्ने ट्रम्पका कदमले अमेरिकी गुट राष्ट्र, सेना, कूटनीतिज्ञ तथा केही राजनीतिज्ञलाई समेत चिन्तित बनाएको छ ।

गत जुनमा सिंगापुरमा ट्रम्प र किमबीच भएको शिखर वार्ताको परिणामलाई हेर्दा पनि चिन्तित हुनुपर्ने खास कारण छन् । किमको कोरा प्रतिबद्धतालाई अपरिपक्व तवरबाट ट्रम्पले स्वीकार गर्दा विगत आठ महिनामा दक्षिण कोरिया तथा अन्य क्षेत्रमा रहेको अमेरिकी प्रभाव खस्किएको छ । एकातर्फ, उत्तर कोरियाले अझै पनि उसको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई निरन्तरता दिइरहेको छ भने अर्कातर्फ दक्षिण कोरिया र चीनतर्फ किमले हात बढाएर उनको सत्तामाथि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको असर कम गर्न सफल भएका छन् । 

वास्तवमा, किमको परमाणुमहत्वकांक्षालाई रोक्ने सन्दर्भमा मात्र ट्रम्प असफल भएका छैनन्, एसियामा अमेरिकाले खेल्दै आएको जबर्जस्त भूमिकाको अवमूल्यन पनि गरेका छन् । अमेरिकी सेना रहेका जापान तथा अन्य राष्ट्रमाथि उत्तर कोरियाका हतियारले धम्की दिइरहेको समयमा, दक्षिण कोरिया र अन्य मुलुकमा अमेरिकी सेनाको संख्या कटौती गर्ने ट्रम्पको सम्झौताले क्षेत्रीय रणनीतिलाई बदलेको छ । सोध्ने हो भने सम्भवतः टोकियो, सिउल, ताइपेई र दक्षिण पूर्वी एसियाका नेतृत्वहरू ट्रम्पको यस्तो कदमबाट सन्तुष्ट छैनन् । अनि, उत्तर कोरिया र चीनले उनीहरूको आफ्नै क्षेत्रीय महत्वकांक्षा  पूरा गर्न जोडतोडसाथ लागिरहँदा ट्रम्पले अमेरिकी रक्षा प्रतिबद्धतामाथि शंकाको वातावरण सिर्जना गरेका छन् ।

यस्तो समस्याले केही अमेरिकी नीतिनिर्मातालाई चिन्तित बनाएको छ । यसर्थ, ट्रम्प विदेश भ्रमणमा निस्किएको समयमा अमेरिकी उच्च अधिकारीको एउटा वृत्त उनको पछि लाग्ने गरेका छन् । यी उच्च अधिकारीले अमेरिकी गुट सदस्य राष्ट्रलाई विश्वासमा लिने तथा सहयोग गर्ने आश्वासन दिने प्रयास गर्ने गरेका छन् । यद्यपि, उनीहरूले जति नै प्रभावकारी रूपमा गुट सदस्यबीच छलफल गरे पनि ट्रम्पले ध्वस्त बनाएको अमेरिकाको विश्वसनीयतालाई यी अधिकारीले पुनः जागृत गराउन सक्दैनन् ।

गत जुनमा किमसँगको शिखर वार्ताको नै उदाहण लिऊँ । शिखर वार्तादौरान उत्तर कोरिया अब उप्रान्त अमेरिकाका लागि परमाणु खतरा नभएको भनाई ट्रम्पले व्यक्त गरे । सो क्षेत्रमा रहेका जापानजस्तो अमेरिकाको सबैभन्दा महत्वपूर्ण  गुट सदस्यका लागि यो पक्कै पनि चासोको खबर बन्यो । सो समय किमले अन्तरमहादेशीय परमाणु मिसाइल विकास नगर्ने समहति गरे पनि, अझै पनि जापानमा मार हान्न सक्ने छोटो तथा मध्यम दूरीका हजारौँ मिसाइल उत्तर कोरियासँग छन् । 

उत्तर कोरियाको परम्परागत हतियारले निम्त्याउन सक्ने खतरालाई पनि ट्रम्प प्रशासनले बेवास्ता गरेको छ । दक्षिण कोरियामा अमेरिकी सैन्य अभ्यास रद्द गर्ने ट्रम्पको एकतर्फी निर्णयलाई यस्तो खतरासँग जोडेर हेर्न सकिन्छ । युद्ध रणनीति परिष्कृत गर्न, कार्यगत तथा सांस्कृतिक मुद्दा समाधान गर्न तथा सैन्य क्षमता बलियो बनाउन अमेरिका र दक्षिण कोरियाका लागि सैन्य अभ्यास महत्वपूर्ण पूर्ण छ ।

कोरियाली प्रायद्वीपमा घट्न सक्ने सम्भावित घटनाको सामनाका लागि तयारी गर्न मात्र नभएर जापानको स्वरक्षाका लागि समेत यस्तो सैन्य अभ्यास आवश्यक छ । यस क्षेत्रमा रहेका अमेरिकी गुट सदस्य राष्ट्रबीचको साझेदारी अमेरिका र दक्षिण कोरियाका लागि जति आवश्यक छ, जापानका लागि पनि उति नै महत्वपूर्ण  छ । त्यसमा पनि जापान र दक्षिण कोरियाको सम्बन्ध चिसिइरहेको अवस्थामा त यस्तो साझेदारीको महत्व अझ धेरै छ । 

किमसँग ट्रम्पको आउँदो शिखर वार्ताबाट जे निष्कर्ष निस्किए पनि अमेरिकी गुट सदस्य राष्ट्रप्रति ट्रम्पले जाहेर गरेको बेवास्ता अमेरिकाका लागि महँगो साबित हुने प्रस्ट छ । प्रभावकारी रक्षात्मक साझेदारी बनाउनका लागि समय र सक्रियता चाहिन्छ । गुट राष्ट्रबीच असमझदारी व्याप्त रहे उच्च प्राथमिकतामा रहेका लक्ष्य प्राप्ति गर्न मुस्किल पर्छ ।

उदाहरणका लागि, तीन वर्षअघि, जापान र दक्षिण कोरियाबीच गुप्तचर डाटा आपसमा आदान–प्रदान गर्न महत्वपूर्ण सम्झौता सफल बनाउन अमेरिकी अधिकारीले सहजकर्ता तथा मध्यस्तकर्ताको भूमिका खेलेका थिए । तर, आजको दिन आइपुग्दा युद्धकालका विषयलाई लिएर जापान र दक्षिण कोरियाको सम्बन्ध झनै खराब भएको छ ।

जापानी गस्ती लडाकु विमानलाई दक्षिण कोरियाली नौसेना जहाजले निशाना बनाएको घटनाले यी दुई देशबीचको पुरानो तिक्तता पुनः एकपटक बल्झाएको छ । तर, दुई देशको सम्बन्ध निरन्तर चिसिइरहेको अवस्थामा पनि अमेरिकाले मध्यस्थकर्ताको भूमिका नखेल्दा जापान र दक्षिण कोरियाबीच सैन्य साझेदारी हुने सम्भावना देखिन्न । बरु, यस घटनामा देखिएको विकासक्रमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलार्ई उत्तर कोरिया र चीनको नजिक धकेलिरहेको छ । 

स्टान्डफोर्ड विश्वविद्यालयका डेनियल स्नाइडरका अनुसार यस क्षेत्रबाट अमेरिका बाहिरिने सम्भावनालाई जापानले निकै गम्भीरतासाथ लिएको छ । गुट सदस्य राष्ट्रले उचित भूमिका नखेलेको आरोप ट्रम्पले लगाइरहँदा जापानको दीर्घकालीन रक्षा तथा सुरक्षा नीतिलाई जापानी नेताले पुनर्विचार गरिरहेको भनाइ स्नाइडरको छ । ट्रम्पको धम्कीका कारण कतिपय गुट सदस्य राष्ट्रले विश्वमा अमेरिकाको भूमिका बढाउने ट्रम्पको दाबीमा सहजतापूर्वक लिने प्रयास गरेका छन् । आउँदो पाँच वर्षभित्र एसियामा अमेरिकी उपस्थितिलाई बलियो बनाउन ट्रम्पले सात अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धतासाथ ‘एसिया रिअसुरेन्स इनिसिएटिभ एक्ट’मा हालै मात्र हस्ताक्षर गरेका छन् । तर, यो कार्यक्रम लागू गर्ने सन्दर्भमा ट्रम्प एक्लै हुने सम्भावना देखिएको छ । 

केन्ट ह्यारिङ्टन वरिष्ठ पूर्वसिआइए विश्लेषक हुन् भने जोन वाल्कोट जर्जटाउन युनिभर्सिटीको स्कुल अफ फरेन सर्भिसका प्राध्यापक हुन्) 

ë Project Syndicate 2019

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य