• ePaper
  • वि.सं २०७५ फाल्गुण ७ मंगलबार
  • Tuesday, 19 February, 2019
  • Archive

हिन्दू समाजमा वर्ण व्यवस्था

जाति व्यवस्थाभित्र वर्णको व्यवस्था गरिएपछि मात्र हिन्दू समाजमा उच–निचको कल्पना भित्रिएको हो

२०७५ माघ २९ मंगलबार ०८:३५:०० | काठमाडाै‌

भारतवर्षमा आर्यहरूको आगमनपछि जाति व्यवस्था वा वर्ण व्यवस्था कायम गरिएको व्यहोरा विभिन्न ग्रन्थमा उल्लेख छ । जाति र छुवाछुत प्रथाको गाँठो हिन्दू समाजमा धेरै बलियो छ । हिन्दू वर्ण व्यवस्था, ब्राह्मणवादी मूल्य–मान्यता तथा जातपात–छुवाछुत प्रथाविरुद्ध दलित आन्दोलनको अगुवाइ गरेका डा. अम्बेडकरले सन् १९५६ मा लाखौँ दलित अनुयायीका साथ बौद्ध धर्म अँगालेका थिए ।

अम्बेडकरका अनुसार हरेक मानिस कुनै सामाजिक समूहको सदस्य हुन्छ, तर व्यक्ति र समूहबीचको सम्बन्ध मात्र आर्थिक हुन्छ भन्ने अवधारणासित उहाँ असहमत हुनुहुन्थ्यो । हिन्दू समाजको सम्बन्धमा अम्बेडकरको निश्चित धारणा थियो कि जाति नै यहाँको मूल ढाँचा हो । समाजवादीबीच भाषण दिने क्रममा उहाँले भन्नुभएको थियो– तिमीहरू चाहे जे गर, तर जातिवादसित त लड्नैपर्छ ।

अम्बेडकरले जाति र वर्ण शब्दका लागि अंग्रेजीको ‘कास्ट’ शब्द प्रयोग गर्नुहुन्थ्यो । तर, प्रो. राजाराम शास्त्रीका अनुसार जातिको उद्गम वर्णभन्दा पहिले भएको हो । यथार्थमा जाति पेसागत समूह थियो । विभिन्न जातिबीच बिहे हुन्थ्यो, पेसा पनि बदलिन सथ्यो । जाति व्यवस्थाभित्र वर्णको व्यवस्था गरिएपछि मात्र हिन्दू समाजमा उच–निचको कल्पना भित्रिएको हो । धर्म कृत्यसित सम्बन्धित जातिहरूले समाजमा सबैभन्दा बढी प्रतिष्ठा पाउन थाले ।

समाजमा उनीहरूको वर्चस्व बढ्यो । त्यो वर्चस्व कायम राख्न उनीहरूले वर्णको व्यवस्था गरे । समाजमा विकसित वर्ण व्यवस्थासँगै एउटै वर्णका पुरुष र महिलाबीच मात्र विवाह हुन सक्ने विधान लागू गरेर वर्ण–वर्णबीच सम्बन्ध जोडिन सक्ने ढोका एकअर्काका लागि बन्द गरियो । अम्बेडकर वर्ण व्यवस्थालाई श्रम विभाजन होइन, श्रमिक विभाजन भन्नुहुन्थ्यो । उहाँको प्रमुख सिद्धान्त थियो कि वर्गहरूमा जडता आएपछि जातिहरू बन्छन् र जातिहरूमा गतिशीलता आएपछि वर्ग बन्छन् । 

जाति र वर्गको द्वन्द्वको उपर्युक्त सिद्धान्त, अम्बेडकरले सर्वप्रथम १९१६ मा अमेरिकाको एउटा गोष्ठीमा प्रस्तुत गर्नुभएको थियो । २५ वर्षको उमेरमा अम्बेडकरको एउटा निबन्धले विश्वभरिका समाजशास्त्रीको ध्यान आकृष्ट गरेको थियो । त्यसै लेखलाई नै आधार मानेर उहाँले आफ्नो प्रशिद्ध पुस्तक ‘जातिको उन्मूलन’ लेख्नुभयो । त्यस किताबले त्यतिवेला तहल्का नै मच्चाएको थियो । महात्मा गान्धीले आफ्नो पत्रिका ‘हरिजन’मा त्यस विषयमा लामो बहस चलाउनुभयो र अम्बेडकरले गान्धीका तर्कको शालीनतापूर्वक जवाफ दिनुभयो ।

वर्ण व्यवस्थाको गुणगान गर्नुहुने गान्धीजीले त्यस बहसपछि आफ्नो दृष्टिकोणमा पूर्ण परिवर्तन ल्याउनुभयो । आफ्नो जीवनको अन्त्यतिर उहाँले प्रतिज्ञा गर्नुभयो कि उहाँले अन्तर्जातीय र अन्तर्धार्मिक विवाहलाई मात्र आशीर्वाद दिनुहुनेछ । समाजवादी चिन्तक स्व. मधु लिमयले त्यस पुस्तकलाई ‘कम्युनिस्ट मेनिफेस्टो’भन्दा पनि महत्वपूर्ण  दस्ताबेज भनी टिप्पणी गर्नुभएको थियो । वास्तवमा यो पुस्तक नपढी न जाति प्रथालाई सही रूपमा जान्न सकिन्छ, न हिन्दू समाजलाई नै बुझ्न सकिन्छ । 

१९३३ मा बम्बई एसेम्बलीमा ग्राम पञ्चायत विधेयकमाथि बहस भइरहेका वेला उहाँले भन्नुभएको थियो– भारतमा सबै वर्गलाई सुरक्षा प्रदान गर्ने सबभन्दा राम्रो तरिका यही हो कि सबै वर्गलाई प्रतिनिधित्व मिलोस् । त्यसपछि एउटा सदस्यले सोधेका थिए– न्यायपालिकामा पनि यो सिद्धान्त लागू हुन्छ 
त ? अम्बेडकरले उत्तर दिनुभयो– मेरा मित्रले मलाई वर्तमान न्यायपालिका साम्प्रदायिक पूर्वाग्रहबाट मुक्त छ ।

एक ब्राह्मण न्यायाधीश अब्राह्मण–ब्राह्मणबीचको झगडाको फैसला गर्न थाल्छन् र उनी विनासाम्प्रदायिक पूर्वाग्रह मात्र न्यायाधीशको भूमिका निर्वाह गर्न थाल्छन्, तब मात्र म मेरा मित्रसित सहमत हुन सक्छु । उहाँले उपर्युक्त कुरा भन्दा एसेम्बलीमा ठूलै हंगामा भयो तर अन्त्यमा अध्यक्षले मानहानीको प्रश्न नउठ्ने रुलिङ गर्नुभयो ।

ब्रिटिस प्रधानमन्त्रीको फैसला ‘कम्युनल अवार्ड’विरुद्ध गान्धीजीले अनशन गर्नुभयो । उहाँको ज्यान बचाउन सवर्ण हिन्दूका प्रनिनिधिले दलित नेताहरूसित सम्झौता गरे, जसलाई पुना सम्झौता भनिन्छ । सवर्ण हिन्दूले भोलिपल्टै सम्झौता तोडे, उनीहरूले ब्रिटिस प्रधानमन्त्रीलाई तार र पत्र पठाए अनि सो सम्झौतालाई अस्वीकार गर्न आग्रह गरे । अम्बेडकरलाई यस्तो कार्यबाट धेरै दुःख लाग्यो । पछि संसदीय समितिसमक्ष उहाँले ती हिन्दू नेताहरूको ‘क्रस एक्जामिनेसन’ गर्नुभयो र यसरी बेनकाव गर्नुभयो कि उनीहरूले सम्झौताका सबै सर्त मान्नुप-यो । 

महाराष्ट्र सरकारद्वारा प्रकाशित ‘अम्बडकर वाङ्मय’मा छापिएको यो रिपोर्ट साह्रै रोचक र विचारोत्तेजक छ, जसबाट यो प्रस्ट हुन्छ कि ब्राह्मण जातिहरू आफ्नो जातिवादलाई लुकाउन कस्तो–कस्तो झुटको सहारा लिन्छन् । कसैको झुट समात्नु भनेको मानिसलाई नांगो बनाए जस्तै हो । यसलाई झुट बोल्ने मानिसले कहिल्यै सहन सक्दैन र हिंस्रक हुन्छ । अम्बेडकरलाई ब्राह्मण जातिले जुन घृणा गरे र अहिले पनि गरिरहेका छन्, त्यसको मुख्य कारण यही हो । 
(गोइत त्रिविका सेवानिवृत्त एसोसिएट प्रोफेसर हुन्)

प्रतिकृया दिनुहोस