१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ माघ १६ शुक्रबार १०:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अधिकार प्राप्तिका लागि फलेवासका कृषक संगठित

Read Time : > 1 मिनेट
२०७७ माघ १६ शुक्रबार १०:२०:००

कृषि क्षेत्रको विकासका लागि भित्रिएको बजेटलाई सदुपयोग गरी कृषि क्षेत्रमा नै लगानी गर्ने र कृषकहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पर्वतको फलेवास नगरपालिकाका कृषक संगठित भएका छन् । फलेवास क्षेत्रका कृषि तथा पशुपालनका क्षेत्रमा सक्रिय कृषकको उत्थानका लागि भित्रिने बजेटको व्यवस्थापन गरी वास्ताविक कृषकसमक्ष पुर्‍याउने लक्ष्यका साथ कृषि सञ्जाल गठन भएको हो । 

नगरपालिकामा जिल्ला कृषि ज्ञान केन्द्रसँगै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट समेत कृषि क्षेत्रको विकासका लागि बजेट विनियोजन हुने गरेको र तल्लो तहका कृषकले आफूहरू सेवा–सुविधाबाट वञ्चितिमा परेको गुनासो गरेपछि सञ्जाल गठन गरेको संयोजक विनोद भुसालले बताए । 

भुसालको संयोजकत्वमा १३ सदस्यीय नगरस्तरीय सञ्जाल गठन भएको छ भने नगरपालिकाका ११ वटै वडामा वडास्तरीय सञ्जालसमेत गठन भइसकेको छ । सञ्जाल गठन भइसकेपछि विभिन्न गुनासो सम्बन्धित निकायमा पुर्‍याउन सहज भएको र गुनासोको पनि सुनुवाइ हुने गरेको फलेवास नगरपालिका– ११ का कृषक गणेश पाण्डेले बताए । 

पछिल्लो समय पशुपालन गर्ने कृषकसमेत करको दायरामा आउनुपर्ने बाध्यकारी अवस्थाले समस्या भएको कृषकको गुनासो छ । नगरस्तरीय छलफलका क्रममा विभिन्न सरोकारवालासमक्ष कृषकले गुनासो राखेका थिए । 

आफूहरू आधिकारिक रूपमा पानमा दर्ता भएर पनि सरकारी क्षेत्रबाट आवश्यकताअनुसार सहयोग नपाएको कृषक गोपाल गौडेलले गुनासो गरे । ‘हामी आधिकारिक रूपमा सरकारको मातहतमा दर्ता भएपछि सेवा, सुविधा र प्राविधिक सहयोग नियमित चाहिन्छ,’ उनले सहयोग नपाएको गुनासोसमेत गरे ।  

छलफल कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले कृषकलाई हौसला प्रदान गर्दै सक्रिय भएर लाग्न आग्रह गरिन् । ‘तपाईंहरू व्यावसायिक बन्नेतर्फ लाग्नुहोस्, हामी तपाईंहरूको समस्याको समाधानमा लाग्छौँ,’ उनले कृषकहरूलाई कृषि व्यवसायमा दिगो रूपमा लाग्न सुझाबसमेत दिइन् । छलफलमा जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका मनिता थापा, जिल्ला पशुपक्षी सेवा केन्द्रका रामजी शर्मालगायतले कृषकहरूलाई प्राविधिक तथा सैद्धान्तिक ज्ञानबारे जानकारी गराएका थिए ।