मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १४ बुधबार ०९:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२५० मेगावाटको सौर्य ऊर्जा परियोजना अध्ययन गर्न सिंगापुरको कम्पनीसँग समझदारी

वर्ष दिनमा अध्ययन पूरा गर्ने लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १४ बुधबार ०९:००:००

नेपालमा ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्टसहितको २ सय ५० मेगावाट नेसनल ग्रिडमा जोडिने सौर्य परियोजना सम्भाव्यता अध्ययन हुने भएको छ । सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र सिंगापुरको राइजेन इनर्जी सिंगापुर जेभीबीच मंगलबार सम्झौता भएको छ ।

समझदारीपत्रअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा १२५–१२५ मेगावाटको सौर्य ऊर्जा परियोजनाका लागि अध्ययन गरिनेछ । त्यस्तै, २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागिसमेत अध्ययन गरिनेछ ।

परियोजनाको कुल लागत १८ करोड ९५ लाख अमेरिकी डलर अनुमान गरिएको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्न समझदारीमा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ चियाङले हस्ताक्षर गरे । 

समझदारीअनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनुपर्नेछ । ०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४औँ बैठकले उक्त कम्पनीलाई विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न अनुमति दिने निर्णय गरेको थियो । यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । यो परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।