१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १४ बुधबार ०८:१४:००
Read Time : > 2 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

पूजा र दमन : अनेक विरोधाभास

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १४ बुधबार ०८:१४:००

प्रधानमन्त्री केपी शर्मा ओलीले चराचर जगत् र विश्वमा शान्तिको कामना गर्दै पशुपति मन्दिरमा पञ्चामृत पूजा लगाएछन् । कुनै पनि मानिसलाई उसको आस्थाअनुसार धर्मकर्म गर्न, पूजापाठ, तीर्थव्रत गर्न स्वतन्त्रता छ । प्रधानमन्त्रीले भाँचकुच पार्दै लगेको हाम्रो संविधानले पनि त्यस्तो स्वतन्त्रताको प्रत्याभूत गरेको छ । प्रधानमन्त्री पनि मान्छे हुन्, व्यक्तिगत रूपमा उनको आस्था कहिले नास्तिक हुन या कहिले आस्तिक हुन पाउँछ । शपथ खाँदा ईश्वरको नाममा नखाए पनि पूजापाठ गर्न उहाँ स्वतन्त्र हुनुहुन्छ । एउटा आफूलाई माक्र्सवादी भन्ने पार्टीको अध्यक्षका रूपमा यस्तो पूजापाठको अर्थ के हुन्छ भन्नेबारे खोजिनिती गर्ने काम या त विश्लेषकहरूको हो, या त स्वयं त्यही दलका नेता–कार्यकर्ताको हो । सर्सर्ती हेर्दा कम्युनिस्ट दलको अध्यक्षले पशुपतिमा गर्ने पूजा आफैँमा एउटा विरोधाभास जस्तो भने देखिन्छ ।

के प्रधानमन्त्री मानिसहरूलाई प्रश्न पनि नगरून्, आफ्नो सत्ता निष्कण्टक रहिरहोस्, उनले जे भने त्यसलाई समर्थन गरे मात्र शान्ति कायम हुन्छ, अन्यथा जे पनि गरिन्छ भन्ने दर्शनबाट परिचालित भएका हुन् ? 

भौतिकवादी विचारमा विश्वास गर्ने पार्टीको अध्यक्षले भाग्यवादी बनेर पूजापाठ गर्दा देख्नेहरूको निधार अलि–अलि खुम्चिनुलाई अन्यथा भन्न मिल्दैन । यसभित्र चुनावलाई प्रभावित गर्ने हिन्दूवादी राजनीतिक खेल छ भन्ने कुरा त्यति रहस्यमा छैन । राममन्दिर र अयोध्याको प्रसंगपछि ओलीले आफ्नो राजनीतिक वर्चस्वका लागि पशुपतिमा पूजा लगाउँदै हिन्दूकार्ड खेल्नु अस्वाभाविक पनि मानिनुपर्दैन । यसलाई उनको निर्माण हुने क्रममा रहेको नेकपाले कसरी विश्लेषण गर्छ, भारतीय जनता पार्टी र विश्व हिन्दू संंघ–संगठनसँग यसको के–कस्तो तालमेल छ भन्ने कुरा पनि पछि कथाले मागेपछि देखिने विषय हो । तर, जुन दिन उनले चराचर जगत्को खुसी र सबैमा शान्तिका लागि पूजा लगाए, सवा लाख दीप प्रज्ज्वलन गरे, त्यसै दिन उनको सरकारी आवासनजिकै भद्र अवज्ञा गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका नागरिक अधिकारकर्मीमाथि गरिएको बर्बर दमनले भने उनको शान्तिको अर्थमा विरोधाभास देखाउँछ । पूजासँग जोडिएको हाम्रो चासो पनि त्यति मात्रै हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई वैकल्पिक प्रधानमन्त्री छनोट गर्ने र सरकारको विकल्प छ कि छैन भनेर परीक्षण गर्ने समय नदिईकनै प्रतिनिधिसभा विघटन गरे । संविधान निर्माण गर्दाका बखत देशको राजनीतिक भविष्यलाई लिएर गरिएको चिन्तनले संसद्ले अर्को सरकार दिन सक्ने सम्भावना सकिएपछि मात्र मध्यावधि निर्वाचनमा जान सकिने व्यवस्था गरेको छ । तर, त्यसलाई प्रधानमन्त्रीले अस्वीकार गरिदिए । यसको वैधानिकताको परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । प्रधानमन्त्रीले संविधानले नदिएको अधिकार छ भन्दै प्रयोग गर्न सक्छन् भने त्यसको विपक्षमा मत जाहेर गर्न पनि नागरिकले पाउँछन् नै । नपाए खोसेर लिइछाड्छन् नै । संविधानले दिएको शान्तिपूर्ण प्रदर्शन गर्ने, आफ्नो मत जाहेर गर्ने, भेला हुने जस्ता अधिकार प्रयोग गर्नबाट पनि नागरिकलाई रोक्न कसैले पाउँदैन, सक्दैन ।

तर, काठमाडांैको सम्पदा बचाउ अभियान र नागरिक आन्दोलनकारीका तर्फबाट बालुवाटार पुगेर प्रधानमन्त्रीलाई तिम्रोे कदमले लोकतन्त्रलाई मर्नु न बाँच्नु बनाउन खोज्यो, तिमीले चालेको कदम प्रतिगामी हो, यसलाई रोक भन्न गरिएको शान्तिपूर्ण प्रदर्शनमा बर्बर दमन गरियो । प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा छाडियो, लाठीचार्ज गरियो । चराचर जगत्मा शान्तिका लागि कामना गर्दै पूजा लगाउने र दीप प्रज्ज्वलन गर्ने प्रधानमन्त्रीले चाहेको शान्ति यस्तै हो ? के प्रधानमन्त्री मानिसहरूलाई प्रश्न पनि नगरून्, आफ्नो सत्ता निष्कण्टक रहिरहोस्, उनले जे भने त्यसलाई समर्थन गरे मात्र शान्ति कायम हुन्छ, अन्यथा जे पनि गरिन्छ भन्ने दर्शनबाट परिचालित भएका हुन् ? नभए उनले जत्तिको हक हरेक नेपालीले उपभोग गर्न पाउँछन् । उनले जनताले दिएको मतको अपमान गरी छँदाखाँदाको संसद् भंग गर्दै देशलाई अनिश्चयतातिर धकेलेर गरेको मनपरी रोक्ने अधिकार जनतालाई नै छ । बालुवाटारतिर जाँदै गरेको प्रदर्शनको अन्तिम उद्देश्य पनि त्यति मात्र थियो । ओलीले दमन गरेर आफ्ना अस्त्र मात्र कमजोर बनाएका छन् । उनले बुझ्नु जरुरी छ, यस्तो दमनले उनको कदम कहिल्यै सही सावित हुँदैन ।