मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ता कमली
२०७५ माघ २९ मंगलबार ०७:३०:००
Read Time : < 1 मिनेट
समाचार

तातोपानी कुण्डमा नुहाउनेको भिड

Read Time : < 1 मिनेट
शान्ता कमली
२०७५ माघ २९ मंगलबार ०७:३०:००

हिमालपारिको जिल्ला मनाङस्थित तातोपानी कुण्डमा स्नान गर्नेको भिड बढेको छ । हिमपात र अत्यधिक चिसोपछि चामे गाउँपालिका–५ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा नुहाउनेको भिड लागेको हो ।  जाडो छल्नका लागि अधिकांश मनाङेहरू जिल्लाबाहिर गइसकेका छन् । सरकारी कर्मचारी र जिल्ला नछाडेका स्थानीयका लागि भने तातोपानी कुण्ड उपयुक्त गन्तव्य बनेको छ ।

‘हिमपातले डाँडाकाँडा सेताम्य भएका छन् । खोला तथा पानीका मुहान जमेका छन् । यस्तो अवस्थामा कुण्डले स्थानीय र कर्मचारीलाई राहत दिएको छ,’ स्थानीय मेलिना गुरुङले भनिन् । 

बिदाका समयमा मनाङमा कार्यरत कर्मचारीले तातोपानी कुण्डमा नुहाउने गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटा बताउँछन् । उनी भन्छन्, ‘हिमपातका कारण धारामा नुहाउन सक्ने अवस्था छैन । त्यसैले, नुहाउनका लागि तातोपानी कुण्ड नै जानुपर्ने अवस्था छ ।’

 थकान मेट्ने माध्यम 

पैदल तथा सवारीसाधनमा आउने पर्यटक चामे आइपुगेपछि एक रात बस्ने गर्छन् । यात्राको थकान मेट्न तथा चामे बजारआसपासको दृश्यावलोकन गर्नका लागि अधिकांश पर्यटक यहाँ बस्ने गरेका हुन् । चामे बजारमा रहेको तातोपानी कुण्डमा नचोबलिएसम्म उनीहरूको मनमा स्फूर्ति आउँदैन । ‘चामेको कुण्ड हटबाथका लागि आगन्तुकको आकर्षणको केन्द्र बनेको छ,’ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । 

तातोपानीमा स्नान गर्न पाउँदा आन्तरिक तथा बाह्य पर्यटक निकै रमाउने गरेको स्थानीय होटल व्यवसायी छिरिङ धोर्जे गुरुङले बताए । ‘यस कुण्डमा पर्यटकीय सिजनको समयमा दैनिक करिब चार सयले नुहाउने र लुगा धुने गर्छन्,’ गुरुङले भने । लमजुङको बेँसीसहरबाट ६५ किलोमिटर दूरीमा रहेको तातोपानी कुण्ड जिपमार्फत चार घन्टामा पुग्न सकिन्छ ।