मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका जिल्ला ब्युराे
२०७७ माघ १३ मंगलबार ०७:२६:००
Read Time : > 4 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

सातै प्रदेशमा पुग्यो कोरोनाविरुद्धको खोप

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, जिल्ला ब्युराे
२०७७ माघ १३ मंगलबार ०७:२६:००

जिल्ला–जिल्लामा पठाइँदै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइ कर्मचारीलाई लगाइँदै

भारत सरकारले अनुदानमा दिएको १० लाख कोभिसिल्ड खोप संघीय सरकारले पूर्वयोजनाअनुसार प्रदेशका राजधानीमा पठाएको छ । प्रत्येक जिल्लाका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइ कर्मचारीलाई लक्षित गरी संघीय सरकारले खोप पठाएको हो । प्रदेश राजधानीमा पुर्‍याइएका खोप त्यहाँबाट प्रदेशअन्तर्गतका जिल्ला र त्यहाँका स्थानीय तहमा पठाउने प्रक्रिया सुरु भइसकेको छ । सोमबारसम्ममा कर्णालीबाहेक सातै प्रदेशका राजधानीमा खोप पुगिसकेको छ । कर्णाली प्रदेशका लागि पठाइएको खोप भने नेपालगन्जमा राखिएको छ । भौगोलिक विकटताका कारण नेपालगन्जबाट हवाई तथा स्थलमार्ग हुँदै खोप जिल्ला–जिल्लामा पठाउने तयारी छ । 

                                                              ......

प्रदेश १ मा ९६ हजार डोज कोभिसिल्ड खोप प्रदेश १ मा आइपुगेको छ । भारत सरकारले प्रदान गरेको कोरोनाविरुद्धको खोप संघीय सरकारले प्रदेश १ को राजधानी विराटनगर पठाएको हो । 

विराटनगरस्थित प्रदेश मेडिकल स्टोरमा सोमबार खोप स्टोर गरिएको छ । सो खोप मंगलबार नै प्रदेश १ का सबै स्थानीय तहमा पठाइनेछ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाख प्रमुख सागर प्रसाईंले १३ माघसम्म प्रदेश १ का सबै पालिकाहरूमा खोप पुगिसक्ने बताए । कोरोना महामारी रोकथाममा फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा सुरक्षाकर्मी गरी ३५ हजार पाँच सय ७६ जनालाई सो खोप लगाइनेछ । 

प्रसाईंका अनुसार प्रथमपटक खोप लगाएका व्यक्तिलाई एक महिनापछि दोस्रोपटक खोप लगाइनेछ । प्रदेश १ मा कुल ७१ हजार एक सय ५२ डोज कोरोनाविरुद्धको खोप आवश्यकता छ । तर, पहिलो चरणमै सोमबार ९६ हजार डोज मात्र कोरोनाविरुद्धको खोप विराटनगर आइपुगेको छ । 

प्रदेश २ मा कोरोनाविरुद्धको खोप अभियान १४ माघदेखि सुरु हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको अध्यक्षतामा सोमबार बसेको प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले १४ माघदेखि प्रदेशका आठवटै जिल्लामा एकै साथ खोप अभियान सुरु गर्ने निर्णय गरेको छ । 

भारतीय सरकारले संघीय सरकारलाई उपलब्ध गराएको १० लाख कोभिड–१९विरुद्धको भ्याक्सिन कोभिसिल्डमध्ये ३४ हजार आठ सय चार डोज प्रदेश २ ले पाएको छ । प्रदेश २ का आठ जिल्लामध्ये पर्सादेखि धनुषासम्मका ६ जिल्लाका लागि हेटौँडामा तथा सिराहा र सप्तरीका लागि विराटनरमा खोप भण्डारण गरिएको छ । मंगलबार त्यहाँबाट प्रदेशका आठवटै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयहरूमा रहेको खोप भण्डारण केन्द्रमा पठाइने र बुधबारदेखि भ्याक्सिनेसनको कार्य सुरु हुने प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए । 

बागमती प्रदेशलाई पनि उपलब्ध गराइएको कोभिसिल्ड खोप आइतबारबारै प्रादेशिक राजधानी हेटौँडामा आइपुगेको छ । हेटौँडास्थित बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप स्टोर गरिएको छ । 

संघीय सरकारले यहाँ सात हजार ६ सय भाइल अर्थात् ७६ हजार डोज खोप पठाएको छ । ती खोप सोमबारबाटै जिल्ला–जिल्लामा वितरण सुरु गरिसकेको खोप वितरण गर्ने कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । उनले प्रदेशका १३ मध्ये ३ र प्रदेश २ को ६ वटा जिल्लामा खोप वितरण गर्ने गरी स्टोर गरिएको कार्यालय प्रमुख अधिकारीले बताए । 

उनका अनुसार केन्द्रबाट बागमतीको मकवानपुर, चितवन, सिन्धुली र प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा वितरण हुनेछ । केन्द्रले सोमबार चितवन, सिन्धुली, महोत्तरी र धनुषाको जिल्ला स्वास्थ्य कार्यालयमा खोप पुर्‍याइसकेको अधिकारीले जानकारी दिए । उनले भने ‘आज मंगलबारभित्र केन्द्र तोकिएको सबै जिल्लामा खोप पुग्नेछ, ।’  

गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार दुई सय ८३ जनालाई कोभिडविरुद्धको खोप लगाइने भएको छ । त्यसका लागि ३९ हजार एक सय ३९ डोज ‘कोभिसिल्ड’ खोप पोखरा आइपुगेको छ । आएका खोप सरकारी एवं निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, एम्बुलेन्स र शववाहनचालकलाई लगाइने भएको छ । 

प्रदेशका ११ जिल्लाका लागि आएको खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदन श्रेष्ठले सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका सचिव विनोद कुँवरलाई हस्तान्तरण गरेका थिए । आएका खोपमध्ये सबैभन्दा धेरै कास्कीमा ५५८६ जना र सबैभन्दा कम मनाङमा २०६ जनालाई लगाइने भएको छ ।

प्रदेशका अन्य जिल्लाहरू गोरखामा १७८९, तनहुँमा १६७९, स्याङ्जामा १४८६, पर्वतमा ११९९, नवलपुरमा १००३, बाग्लुङमा १७१४, लम्जुङमा १५०४, म्याग्दीमा ८१८ र मुस्ताङमा २९९ जनालाई लगाइने भएको छ । 

आएका खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र राखिएको र त्यहीँबाट जिल्लाका लागि वितरण गरिने भएको छ । केन्द्रमा नौ हजार लिटरसम्म खोप राख्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । केन्द्रका कोल्डचेन अधिकृत हिमलाल सुवेदीका अनुसार सोमबार स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दीमा खोप पुर्‍याइसकिएको छ भने बाँकी जिल्लामा मंगलबारसम्म पुर्‍याउने गरी काम भइरहेको छ ।

लुम्बिनी प्रदेशमा खोप अभियानका लागि दुई चरण छुट्याइएको छ । पहिलो चरणमा तराईका जिल्लामा खोप लगाइने भएको छ । प्रदेशका सबै १२ जिल्लाका लागि सोमबार बुटवल ल्याइएको खोप जिल्ला–जिल्लामा पु¥याउने तयारी पनि थालिएको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार ३९ हजार चार सय ९५ जनालाई पुग्ने खोप बुटवल ल्याइएको छ । बुटवल ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको छ । 

पहिलो चरणमा तराईका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी जिल्लामा खोप लगाइँदै छ । १४ माघबाट यो अभियान सुरु हुनेछ । त्यसका लागि मंगलबार खोप जिल्ला–जिल्लामा पठाइने मन्त्रालयले जनाएको छ । बाँकी जिल्लामा भने १८ माघमा खोप लगाउने तयारी छ । पहाडी जिल्लाहरू अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा र रुकुम पूर्वमा १८ गते खोप लगाइने भएको हो । 

कर्णाली प्रदेशका लागि संघीय सरकारले पठाएको खोप नेपालगन्जमा भण्डारण गरिएको छ । कर्णाली प्रदेशका लागि सोमबार ११ हजार सात सय ८० जनालाई पुग्ने गरी कोरोनाविरुद्धको खोप आइपुगेको हो । 

कर्णालीमा बुधबारदेखि खोप लगाउन सुरु गरिने प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । कर्णाली प्रदेशका लागि नेपालगन्जमा स्टोर गरिएको खोप त्यहाँबाट हवाईमार्ग हुँदै हुम्ला, जुम्ला, मुगु र डोल्पा जिल्लामा पठाउने तयारी भएको छ । अन्य जिल्लाका लागि स्थलमार्गबाट पठाउने तयारी भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए । ‘१० दिनभित्र पहिलो डोज लगाइनेछ,’ उनले भने, ‘पहिलो डोज लगाएको सातापछि दोस्रो डोज लगाइनेछ ।’

कर्णालीका १० जिल्लामध्ये डोल्पाको लागि पाँच सय ११, रुकुम पश्चिमको लागि पाँच सय र हुम्लाको लागि चार सय ५०, ८१, दैलेखका लागि दुई हजार, जुम्लाका लागि एक हजार सात सय दुई, कालीकोटका लागि एक हजार २१, जाजरकोटको लागि एक हजार एक सय ४५, सल्यानको लागि एक हजार एक सय २३, मुगुको लागि पाँच सय ४७ र सुर्खेतका लागि दुई हजार सात सय खोप दिइनेछ । 

सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको खोप आइपुगेको छ । तीन हजार ६ सय भाइल खोप आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । उक्त खोप करिब ३६ हजारजनालाई लगाउन पुग्ने आपूर्ति केन्द्रका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज श्रेष्ठले जानकारी दिए । 

आएको खोपलाई आपूर्ति व्यवस्थापन केन्द्रको भण्डारगृहमा राखिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा खोप पठाउने तयारी भइरहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कैलालीका दुई ठाउँ र सुदूरपश्चिमका अन्य आठ जिल्लाबाट एक–एक ठाउँबाट खोप लगाइने उनले बताए । यही १४ माघबाट खोप लगाउने तयारी रहेको छ । २८ माघसम्म सबै खोप लागाइसक्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए । 

प्रदेशभर महिला स्वास्थ्यकर्मीसहित १६ हजार स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप लगाउने तयारी छ । यस्तै, एम्बुलेन्स र शववाहनचालक तथा अस्पताल र नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीलाई खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

प्रदेश १ बाट गणेश लम्साल, प्रदेश २ बाट हदिश खुद्दार, बागमतीबाट सुदीप सिवाकोटी, गण्डकीबाट रोहितराज पराजुली, लुम्बिनीबाट विष्णु घिमिरे, कर्णालीबाट रमेश रावल र सुदूरपश्चिमबाट तेजराज भट्टको रिपोर्ट