मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १२ सोमबार ०८:०७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विश्वविद्यालयमा भर्ना खुल्यो, तर कक्षा १२ को नतिजा अझै आएन

Read Time : > 2 मिनेट
२०७७ माघ १२ सोमबार ०८:०७:००

विश्वविद्यालयहरूले शैक्षिक सत्र ०७७/०७८ का लागि भर्ना खुला गरेका छन् । कक्षा १२ उत्तीर्ण भएपछि स्नातक प्रथम वर्षमा भर्ना हुनुपर्ने विद्यार्थीले नतिजा थाहा नपाईकनै स्नातक तहमा भर्ना प्रक्रियामा सहभागी भएका छन् । कक्षा १२ को परीक्षा भद्रगोल भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले गत पुस मध्यसम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिका समेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएका थिए, तर व्यवस्थित नहुँदा बोर्डले माघ सुरुमा नतिजा सार्वजनिक गर्ने लक्ष्य पूरा गर्न सकेन । १ माघमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले १० दिनभित्रै नतिजा आउने बताएका थिए । तर, आइतबारसम्म पनि नतिजा सार्वजनिक भएन । अझ केही दिन लाग्ने बोर्डका अधिकारीको भनाइ छ । 

बोर्डका अध्यक्ष पौडेलले परीक्षा भद्रगोल भएका कारण लक्ष्यअनुसार काम नभएको बताए । उनले भने, ‘एकदमै भद्रगोल भएका कारण ढिलाइ भयो, अब अन्तिम अन्तिमतिर पुगेका छौँ ।’ एक–एक गरेर सबै हेर्नुपर्ने भएकाले धेरै समय खर्चिनुपरेको उनले बताए । केही विद्यालयले माक्स फाइल व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमसँग नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायतका कारण नतिजामा ढिलाइ हुने भएको हो । गत ९ मंसिरबाट कक्षा १२ को परीक्षा सुरु भएको थियो । 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी विद्यार्थीलाई नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएको भन्दा बढी नम्बर पठाएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिमसमेत दिएको थियो । अभिमुखीकरण तालिम दिए पनि केन्द्राध्यक्षहरूले भद्रगोल तरिकाले परीक्षाका काम गरेको पौडेलको भनाइ छ । वेबसाइटमा राखिदिएको फाइल डोउनलोड गरेर सिम्बोल नम्बरअनुसार माक्स चढाएको भए सहज हुने थियो, अभिमुखीकरण गरेर पनि त्यसअनुसार गरेको नपाइएको बताए । पुस मध्यतिर नतिजा सार्वजनिक गर्ने लक्ष्य राखे पनि भद्रगोल भएका कारण दुई हप्तापछि धकेलिएको अध्यक्ष पौडेलले बताए । 

बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको हो । त्यसैगरी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड–१९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । देशभरमा चार हजार एक सय ५ परीक्षा केन्द्र कायम भएको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम भएको थियो । 

यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी हुन आवेदन गरेका थिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी तय भएको, तर कोभिड–१९ का कारण स्थगित भएको थियो । कोभिड संक्रमणको जोखिम हुने भएकाले भौतिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरेको हो । 

त्रिविले भर्ना खोल्यो, रिजल्ट नआए पनि फारम वितरण गर्ने 
त्रिभुवन विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकायअन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०७७/०७८ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको छ । 

१२ माघदेखि भर्ना गर्ने र २५ फागुनदेखि कक्षा सञ्चालनको तालिका निकालेको छ । वार्षिक प्रणालीका कार्यक्रममा प्रवेश परीक्षा तोकिएको छैन । इन्जिनियरिङलगायतका अध्ययन संस्थान तथा सेमेस्टर प्रणालीमा सञ्चालन भएका डिन कार्यालयले फारम वितरण गरी प्रवेश परीक्षा समेत गर्दै छन् । १४ माघमा इन्जिनियरिङको प्रवेश परीक्षा लिँदै छ । सिम्याटलगायतको परीक्षासमेत निर्धारण गरिएको छ ।

वार्षिक प्रणालीमा सञ्चालन हुने कार्यक्रममा प्रवेश परीक्षाको कार्यक्रम नभएकाले नतिजा आएपछि मात्र भर्ना गर्ने तयारी क्याम्पसहरूको छ । त्रिविको आंगिक पब्लिक युथ क्याम्पसले विद्यार्थीले स्नातक प्रथम वर्षमा नयाँ भर्नाको फारम वितरण गर्ने, तर नतिजा आएपछि मात्रै भर्ना गर्ने योजना बनाएको क्याम्पस प्रमुख बलराम थापाले बताए ।

उनले भने, ‘पास नै भएको विद्यार्थी भर्ना भयो भनेपछि समस्या हुने भएकाले रिजल्ट नआउँदासम्म फारम मात्रै वितरण गर्ने र रिजल्ट तथा सर्टिफिकेट आएपछि भर्ना गर्ने तयारी गरेका छौँ ।’ सेमेस्टर प्रणालीका कार्यक्रमको भने प्रवेश परीक्षा तयारी छ । कोभिड–१९ का कारण कक्षा १२ को परीक्षा लिन ढिलाइ भएको थियो । परीक्षा व्यवस्थित नहुँदा नतिजामा ढिलाइ भएको छ ।

 नतिजा थाहा नपाउँदै स्नातकमा भर्ना प्रक्रियामा विद्यार्थी सहभागी 
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले १ माघमा १० दिनभित्रै नतिजा आउने बताएका थिए । तर, आइतबारसम्म पनि नतिजा सार्वजनिक भएन । अध्यक्ष पौडेल भन्छन्, ‘एकदमै भद्रगोल भएका कारण ढिलाइ भयो, अब अन्तिम अन्तिमतिर पुगेका छौँ ।’