प्रहरीको साहित्य

२०७५ मङ्सिर २४ सोमबार ०६:०१:००

केही प्रहरी सेन्ट्रीमा थिए । बाँकी सुतिसकेका । मध्यरात ।
चकमन्न थियो ।
अचानक गाडीको चर्को आवाज आयो । चौकीअगाडि आएपछि आवाज बन्द भयो । गाडी त्यहीँ रोकिएको प्रस्ट बुझिन्थ्यो । मान्छेहरू ठूलो–ठूलो आवाजमा हल्ला गर्न थाले । सुतेका प्रहरी पनि उठे । निकै टाढाको गाउँबाट मान्छेहरू टाटा मोबाइल नै लिएर आएका रहेछन् । उनीहरू महिला अपहरणबारे जानकारी दिन आएका थिए ।

‘राति किन सबै उर्लिएर आउनुभयो ? निवेदन लिएर एक–दुईजना आउनुभएको भए हुन्थ्यो नि,’ प्रहरी चौकी इन्चार्जले भने ।


तर, उनीहरू प्रहरीलाई आफूसँगै हिँड्न आग्रह गर्न थाले । ‘अपहरणकारी को हो भन्ने हामीलाई थाहा छ, ऊ बसेको ठाउँ देखेका छौँ । तपाईंहरू नगए पनि हामी त्यहाँ जान्छौँ, तर सुरक्षाका लागि तपाईंहरू पनि हिँड्नुस् भन्न आएका हौँ’ भन्दै स्थानीयले प्रहरीको कुरै सुन्न मानेनन् ।

प्रहरीले जिल्लामा रिपोर्ट गर्‍यो । सो चौकीका सहायक इन्चार्ज थिए, वियस राई । उनकै नेतृत्वमा प्रहरी अपहरणकारी खोज्न हिँड्यो । स्थानीयले भनेकै ठाउँमा अपहरणकारी र अपहृरत भनिएका दुवै भेटिए । प्रहरीले दुवैलाई चौकीमा लिएर आए । ‘चौकी आइपुग्दा बिहान भइसकेको थियो,’ वियस सम्झिन्छन्।

पहिला अपहृत भनिएकी महिलाको बयान लिन सुरु भयो । उनका श्रीमान् कामका लागि विदेश गएका रहेछन् । तीन छोरी रहेछन् । तीनैजना कलेज पढ्दै गरेका । अपहरणकारी भनिएका व्यक्तिसँग उनको प्रेम बसेको रहेछ ।

‘मलाई अपहरण गरेको होइन हजुर, हाम्रो माया बस्यो अनि बिहे गरेका हौँ,’ उनले भनिन् । त्यसपछि त तीन छोरी आमाविरुद्ध खनिए । सुन्नै नसकिने खालको गाली गरे ।

छोरीले आमालाई त्यो हदसम्म गाली गरेको सुनेपछि वियस गम्भीर भए । निकै दिन दिमाग रन्थन्निइरह्यो । ‘अनि कथा लेख्न बाध्य भएँ,’ उनी भन्छन्, ‘प्रहरीमा आउने घटना आमसमस्या हो, समाजका अप्ठ्यारा हुन्, कतिपय घटनाले छोएपछि कथा लेख्न बाध्य बनाउँछ, पहिलोपटक त्यसरी नै लेखेँ ।’ कथा भएन भने उनी संस्मरण लेखेर भए पनि राख्थे ।

यसरी लेख्दालेख्दै उनी कथाकार भए । भर्खरै उनको ‘हिउँमाझी’ कथासंग्रह प्रकाशित भएको छ । सो संग्रहमा १३ कथा छन् ।

अहिले उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा प्रहरी नायव निरीक्षक पदमा कार्यरत छन् । त्यसो त उनले प्रहरीमा आउने घटनालाई मात्र कथाका विषय बनाएका छैनन् । समाजमा देखेका र भोगेका अन्य घटना पनि उनका कथाका विषय हुन् । उनको पुस्तक ‘हिउँमाझी’को शीर्षकथा हिमाल आरोहण गर्ने शेर्पाहरूसँग सम्बन्धित छ ।

प्रहरी सेवामा रहेर साहित्य साधना गरिरहेकाहरूको साझा भनाइ छ, ‘लेख्ने समय पाइँदैन ।’ वियस पनि लेख्नलाई समय निकाल्नै धौधौ हुने बताउँछन् ।

कथाकार महेशविक्रम शाह पनि प्रहरी सेवामा भएकैले लेख्ने समय मिलाउन गाह्रो परेको बताउँछन् । तर, प्रहरी भएकै कारण आफ्ना कथा विविधतापूर्ण भएको उनको भनाइ छ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) शाह हाल कर्णाली प्रदेश प्रहरी प्रमुख छन् । उनी प्रहरी सेवामा रहकामध्ये मदन पुरस्कार जित्ने एक मात्र साहित्यकार हुन् । उनको कथाकृति ‘छापामारको छोरो’ले ०६३ सालको मदन पुरस्कार पाएको थियो ।

हालसम्म उनका सात कथासंग्रह प्रकाशित भइसकेका छन् । ०५९ सालमा प्रकाशित ‘सटाहा’ उनको पहिलो कथासंग्रह हो । त्यसपछि सिपाहीकी स्वास्नी, अफ्रिकन अमिगो, छापामारको छोरो, काठमाडौँमा कामरेड र ज्याक्सन हाइट कथाकृति प्रकाशित भए । ०७४ चैतमा प्रकाशित ‘भुइँखाट’ उनको पछिल्लो कथाकृति हो ।

उनको पहिलो कथा भने ०३६ सालमा प्रकाशित भएको थियो । कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने साप्ताहिक वार्तामा प्रकाशित ‘आमा’ नै उनको छापिएको पहिलो कथा हो । ‘तर, मेरो सक्रिय लेखनचाहिँ ०४३ सालदेखि हो,’ शाह भन्छन् ।

उनी ०४६ सालमा प्रहरी सेवामा प्रवेश गरे । उनको साहित्यमा त्यसको पनि प्रभाव छ । किनभने प्रहरीमा भएपछि नै उनले समाज बुझ्ने मौका पाए । उनी भन्छन्, ‘म प्रहरीमा लागेर घुम्ने, गाउँ–ठाउँ देख्ने, मान्छे भेट्ने अवसर पाएको छु, यो ठूलो अवसर हो, सबै साहित्यकारलाई यो अवसर प्राप्त हुँदैन, जस्तो सशस्त्र द्वन्द्वमा म रोल्पा नबसेको भए छापामारको छोरो जन्मिने थिएन ।’

उनका अनुसार छापामारको छोरो सशस्त्र द्वन्द्व, त्यसले पारेको असर र पीडाको प्रस्तुति हो । सबै कथामा सशस्त्र द्वन्द्वका विभिन्न पक्ष समेटिएका छन् । ‘द्वन्द्वका तीनै पक्ष राज्य, विद्रोही र चेपुवामा परेका नागरिकका पीडा लेखेको छु,’ शाहले भने । त्यसो त उनले प्रहरी र प्रहरीका परिवारका पीडा पनि कथामा समेटेका छन् । ‘सिपाहीकी स्वास्नी’ कथा प्रहरीकै श्रीमतीको कथा हो । त्यस्तै ‘सिपाहीको सालिक’ कथामा प्रहरीको दायित्व र पीडालाई मुखरित गरेको उनले बताए ।

पीडितका आवाज सुन्ने पेसा हो प्रहरी । ‘मैले ती मान्छेलाई भेट्ने, तिनका पीडा सुन्ने र कथामा उतार्ने मौका पाएको छु, यो मेरा लागि अवसर हो,’ शाहले भने ।

प्रहरी सेवामा रहेर साहित्य साधना पनि गरिरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) घनबहादुर थापा पनि समाजमा देखेका भेटेका विषयमा नै कथा र कविता लेख्ने गरेको बताउँछन् । उनी प्रहरी प्रधान कार्यालय समाचार कक्षमा कार्यरत छन् । भन्छन्, ‘प्रहरी मात्र नभएर समाजका सदस्य पनि हौँ, समाजको जुन विषयले मन छुन्छ, त्यही विषयमा लेखिन्छ, प्रहरीमा आएका घटना साहित्य बनाउने भन्ने हुँदैन ।’ प्रहरीमा आउने सबै विषयलाई नैतिकताका कारण पनि साहित्यमा उल्लेख गर्न नसकिने उनको मत छ ।

प्रहरी भन्नेबित्तिकै कठोर हृदय भएको भनेर बुझ्ने पनि छन् । बालबालिकालाई डर देखाउनुपर्‍यो भने प्रहरीको नाम लिन्छन् । तर, यी कुरा पुराना भइसकेको थापा बताउँछन् । ‘अहिले त प्रहरी मेरो साथी, जनताको मनमा प्रहरीजस्ता कार्यक्रम चलाएका छौँ, प्रहरीलाई डरलाग्दो रूपमा प्रस्तुत गर्नु गलत हो, हामी पनि समाजकै मान्छे हौँ, समाजकै विषय लेख्छौँ,’ उनले भने ।

थापाको कथासंग्रह ‘पच्चीस पाइला’को भूमिकामा व्याकुल पाठकले लेखेका छन्, ‘साहित्यिक मन भएका प्रहरी र नभएका प्रहरीको भिन्नता हो, यो कृति, साहित्यकार प्रहरी बढी इमानदार हुन्छन् ।’

हो, उनी इमानदारीपूर्वक लेख्छन् । तर, लेख्नैपर्ने बाध्यताले होइन । त्यसो त अन्य प्रहरी सेवाका लेखकलाई जस्तै उनलाई पनि लेख्ने समय मिलाउन हम्मे पर्छ । ‘ड्युटीमा लेख्ने कुरा भएन, कार्यक्षेत्रमा संगठनको नीति–नियम हुन्छ, बिदाको दिनमा लेख्ने गरेको छु,’ इन्स्पेक्टर थापाले भने ।

उनका ‘पच्चीस पाइला’ कथासंग्रह, ‘मौन आक्रोश’ कवितासंग्रह र ‘सुवासको सपना’ बालकथासंग्रह प्रकाशित छन् । यात्रा संस्मरण पनि लेख्ने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमै कार्यरत अर्का कवि हुन्, प्रहरी निरीक्षक, चन्द्र थापा । उनको साहित्यिक नाम वाक्सेली थापा हो । प्रधान कार्यालयको कार्य विभागमा कार्यरत छन् । उनको कवितासंग्रह ‘भस्मासुरको देश’ ०७४ सालमा प्रकाशित छ । संग्रहमा ५१ वटा कविता छन् ।

प्रहरी भएकै कारण कविता लेखनका लागि विविध विषय भेटिएको उनी बताउँछन् । प्रहरीमा आउने घटनाका पृष्ठभूमि र अन्तरवस्तु साहित्यमा ल्याउने गरेका छन् । आफूले प्रायः राति लेख्ने गरेको थापाले बताए ।

प्रहरीमा गीतकारहरू पनि धेरै छन् । गीतकार शैलेन्द्र खनाल सशस्त्र प्रहरी महानिरीक्षक छन् । एसपी टेकबहादुर तामाङ पनि राम्रा गीतकार हुन् ।

प्रहरी सेवामा रहेर सहित्यकारको छवि बनाएका कतिपयले भने अवकाश पाइसकेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाट अवकाश पाएका नवराज सिलवालको साहित्यिक नाम नव सिलवाल हो । उनका ‘आस्थाको पहाड’, ‘शब्दविहीन आवाज’ र ‘थोत्रो छात्रा’ कथासंग्रह प्रकाशित छन् । राजुबाबु श्रेष्ठले पनि प्रहरी सेवाबाट अवकाश पाइसकेका छन् । उनका ‘देश दुखेका वेला’ र ‘मृत्युमेला’लगायत पुस्तक प्रकाशित छन् ।