मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ १० शनिबार १०:१५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

झापामा तीन दिनमा पनि पाइँदैन नागरिकता, प्रशासन कार्यालयमा नागरिकता लिनेको भिड

Read Time : > 1 मिनेट
२०७७ माघ १० शनिबार १०:१५:००

बुद्धशान्ति–३ की गोमा कटुवाल छोराको नागरिकता बनाउन तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय झापामा धाइरहेकी छिन् । तर, उनका छोराले नागरिकता पाएका छैनन् । दिनभर लाइन बस्दा बल्लतल्ल पालो आउँछ । तर, कर्मचारीले केही नभनी समय लाग्छ भन्दै फर्काउँछन् । 

गोमाका श्रीमान्को नागरिकता पाँचथरबाट बनेको छ । उनीहरू झापा बसाइँ सरेर आएको १५ वर्ष भयो । यसअघि एउटी छोरी र छोराको नागरिकता जिल्ला प्रशासन कार्यालय झापाबाटै बन्यो । तर, कान्छा छोराको बनाउने वेलामा उनले सास्ती व्यहोर्नुपरेको छ । ‘कर्मचारीले के भएको हो पनि भन्दैनन् । समय लाग्छ भन्छन् । यत्रो लाइन छिचोलेर गयो कामै हुँदैन,’ उनी भन्छिन्, ‘अनावश्यक दुःख पाइरहेका छौँ । नहुने भए यो कारण हुँदैन भनिदिनु नि !’ 

बिर्तामोड– ५ का दाताराम बाँस्कोटा पनि छोरा चन्द्रप्रसादको नागरिकता बनाउन चार दिनदेखि जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् । नसाका बिरामी उनी धेरैबेर उभिन सक्दैनन् । तर, जसोतसो लाइलनमा बसेर पालो त आउँछ, तर काम हुँदैन । ‘हुन्छ, हुन्छ भन्छन्, तर काम नै गरिदिँदैनन्,’ उनी भन्छन्, ‘नसाको बिरामी छु, धेरैबेर उभिन हुँदैन । अशक्तलाई त प्राथमिकता दिए पनि हुने नि !’ 

प्रतिलिपि लिन १५ दिन 

नयाँ नागरिकता त तीन–चार दिनमा बन्छ । तर, हराएको नागरिकताको प्रतिलिपि भने १५ दिनमा पनि नपाइने नागरिकको गुनासो छ । झापा हल्दिबारी–१ का कुमार लिम्बूको नागरिकता हराएपछि प्रतिलिपिका लागि १९ पुसमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए । कार्यालयले प्रतिलिपि लिन २१ पुसमा बोलायो । तर, उनले अहिलेसम्म प्रतिलिपि पाएका छैनन् । ‘२१ गतेदेखि दिन बिराएर बारम्बार आएको छु । तर, कहिल्यै बन्यो भन्दैनन्,’ उनी भन्छन्, ‘आफ्नो साधन छैन । अर्काको बाइकमा तेल हालेर ल्याउन लगाइरहेको छु । यसरी कहिलेसम्म धाउनू ?’ 

कर्मचारीको ढिलासुस्तीका कारण काम समयमा हुन नसकेको सेवाग्राहीको आरोप छ । ‘कार्यालय खुलेपछि एकछिन काम गर्छन् । त्यो वेला पालो आयो भने भयो, नभए त काम हुँदैन,’ भद्रपुर– २ का कर्णबहादुर तामाङ भन्छन्, ‘त्यसपछि चिया–खाजा खान गएर आउँदा रात पर्छ । २२ गते प्रतिलिपिका लागि निवेदन दिएको अहिलेसम्म नागरिकता पाइनँ ।’

राष्ट्रिय परिचयपत्र वितरणले भिड बढ्यो : प्रशासन

जिल्ला प्रशासन कार्यालय झापामा अहिले नागरिकता र प्रतिलिपि लिन आउनेको भिड लागेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार दिनमा सयजनाले नागरिकताको प्रतिलिपि लिने गरेका छन् । यस्तै, दैनिक ९० जनाको हाराहारीमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिने गरेको उनले बताए । 

नागरिकताको प्रतिलिपि र नागरिकता लिनेको संख्या इलाका प्रशासन कार्यालय दमक र गौरीगन्जमा पनि उस्तै भिड रहेको उनले बताए । ‘राष्ट्रिय परिचयपत्र वितरण भइरहेका कारण प्रतिलिपि लिनेको संख्या बढेको छ । सबैको अभिलेख हेरेर मात्र प्रतिलिपि दिन्छौँ । त्यसकारण पनि ढिला भएको छ,’ उनले भने, ‘ढड्डा हेर्ने दुईजना कर्मचारी बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काम गरिरहनुभएको छ । नयाँमा समस्या छैन । नयाँले आउनेबित्तिकै पाउँछन् ।’