१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ १० शनिबार ०९:२२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नयाँ प्रशिक्षक वाटमोरसामु  थोरै अवसर धेरै चुनौती

Read Time : > 2 मिनेट
२०७७ माघ १० शनिबार ०९:२२:००

डेभ वाटमोरले नेपाली राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी सम्हाल्न सुरु गरिसकेका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको थियो । उनको कार्यकाल भने गत १ जनवरीबाटै सुरु भइसकेको छ ।

केही दिनअघि नेपाल आइपुगेका उनी क्वारेन्टाइन बसाइमा थिए । पिसिआर परीक्षणको नतिजा ‘नेगेटिभ’ आएपछि मात्रै उनी पत्रकारमाझ उपस्थित भए । श्रीलंकालाई सन् १९९६ मा क्रिकेट विश्वकपको उपाधि दिलाएका यी ‘हाई प्रोफाइनल’ प्रशिक्षकको आगमनमा नेपाली क्रिकेटले खुसी मनाएको छ । उनको आगमनपछि हाल एकदिवसीय टोलीको मान्यताप्राप्त नेपाली टोलीले ठूला सफलता प्राप्त गर्ने अपेक्षा गरिएको छ । त्यसमा अर्काे ‘साइकल’मा पनि एकदिवसीय टोलीको मान्यतालाई निरन्तरता दिनु मुख्य हुनेछ । 

नेपालले झन्डै तीन वर्षअघि (सन् २०१८ मा) जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय टोलीको मान्यता सुरक्षित गरेको थियो । यो मान्यता आगामी दुई वर्षसम्म रहनेछ ।यस्तै, सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाली टोलीले फेरि त्यो इतिहासलाई दोहोर्‍याउन सकेको छैन । बरु नेपाली टोलीले छनोट प्रतियोगिताहरूमै कमजोर प्रदर्शन गर्न थालेको छ । पछिल्लोपटक त नेपालले टी–२० विश्वकपको एसियाली छनोट नै पार गर्न सकेन । 

त्यससँगै नेपालले आइसिसी क्रिकेट विश्वकपको पनि सपना देखेको छ । नेपाली क्रिकेट समर्थकहरूले वाटमोरको नेतृत्वमा यी नै उपलब्धिको अपेक्षा गरेका छन् । यद्यपि, ती अपेक्षाअघि उनीसँग धेरै चुनौती छन् । यही तथ्यलाई बुझेका वाटमोरले बिहीबारको पत्रकार सम्मेलनमा पनि नेपाल यात्रा आफ्ना लागि चुनौतीपूर्ण रहेको बताए । 

नेपाली टोलीलाई जित्न सिकाउने र अर्काे ‘साइकल’मा पनि नेपालको एकदिवसीय मान्यतालाई निरन्तर राख्नेतर्फ काम गर्ने बताए । योभन्दा ठूलो योजना उनले सार्वजनिक गरेका छैनन् । यही योजना पनि नेपाली क्रिकेटको धेरै अभाव र समस्याबीच उनले कसरी पूरा गर्लान ? भविष्यले बताउने छ । 

थोरै प्रतियोगिता, थोरै अवसर
खेलाडी प्रतियोगिताबाटै जन्मिने हो । प्रतिस्पर्धात्मक प्रतियोगितामा गरेको प्रदर्शनकै आधारमा खेलाडी बन्द प्रशिक्षण हुँदै राष्ट्रिय टोलीसम्म पुग्ने गर्छन् । तर, नेपालमा प्रतियोगिता नै कम हुने गर्दछ ।

नेपालमा विशेष गरी लामो ‘भर्सन’को प्रतियोगिता नै हुँदैन । ५० ओभरको एउटै मात्र प्रतियोगिता प्रधानमन्त्री कप आयोजना हुने गर्दछ । अघिल्ला तीन संस्करण निजी कम्पनीले आयोजना गरेको यो प्रतियोगिता यो वर्षबाट भने क्यान आफैँले गर्न थालेको छ । 

एकदिवसीय मान्यताप्राप्त टोली नेपालले नियमित रूपमा बहुदिवसीय प्रतियोगिता खेल्नुपर्ने अवस्थामा ५० ओभरको एकदिवसीय प्रतियोगिता नै पर्याप्त हुँदैन । यो अवस्थाले नेपाललाई अर्काे ‘साइकल‘मा पनि एकदिवसीय टोलीको मान्यता दिलाउने प्रशिक्षक वाटमोरको योजना नै संकटमा पर्न सक्छ । 

प्रतियोगिता नै नहुँदा अहिले भइरहेका खेलाडीले नै पर्याप्त अभ्यास गर्न पाइरहेका छैनन् । अर्काेतर्फ प्रतिभा देखाएर राष्ट्रिय टोलीमा पुग्ने योजना बनाएका युवा र पुनरागमन गर्न चाहने खेलाडीले पनि त्यो अवसर पाउँदैनन् । यो समस्या नेपाली क्रिकेटको विडम्बना नै हो । 

सन्दीप लामिछानेजस्ता प्रतिभा संयोगले तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको नजरमा परेपछि सीधै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका थिए । प्रतियोगिता खेल्ने अवसर नपाएका र त्यसरी प्रशिक्षकको नजरमा पनि नपरेका अरू धेरै प्रतिभाहरू यत्तिकै होलान् । 

पृथुु बास्कोटा प्रतियोगिताको अभावमा पुनरागमन गर्न नपाएको खेलाडीको उदाहरण हुन सक्छन् । उमेर समूहमा नेपाली टोलीको कप्तानी गरेका र सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका उनी चोट र अरू केहीकारणले पछि छुटे । नियमित प्रतियोगिता भएको भए, सायद उनी यसअघि नै राष्ट्रिय टोलीमा फर्कन्थे होला । कोरोना महामारीपछि सुरु भएको प्रधानमन्त्री कपमा उनले निरन्तर उत्कृष्ट प्रदर्शन दिइरहेका छन् । शुक्रबारसम्म खेलेको तीनमध्ये पहिलो खेलमा उनी नेपाल पुलिसविरुद्ध ४८ रनमा अविजित रहे । दोस्रो खेलमा सुदूरपश्चिविरुद्ध उनले ८४ रन जोडे । तेस्रो खेलमा शुक्रबार प्रदेश नम्बर दुईविरुद्ध ५३ रन जोडेर अविजित रहे । 

त्यसैले प्रतियोगिता नै कम हुँदा प्रशिक्षक वाटमोरलाई आफ्नो खेलाडीको ‘फम’ फर्काउन मात्रै होइन, नयाँ प्रतिभा भेट्टाउन पनि समस्या हुन सक्नेछ । यसले फेरि पनि थोरै अवसरमा टोलीको नेतृत्व गर्नुपर्ने बाध्यता उनीसामु हुनेछ । यो अवस्थाबाट ठूलो सफलताको अपेक्षा गर्न मुस्किल छ ।

सहयोगी टोली
नेपाली टोलीको सफलतासँग उनी एक्लै जोडिने छैनन् । उनीसँगै उनको सहयोगी टोली पनि हुनेछ । त्यो सहयोगी टोली क्यानले जुटाइदिने हो । सहायक प्रशिक्षक, फिजिकल ट्रेनर, फिजियोदेखि आवश्यकताअनुसार ब्याटिङ वा बलिङ प्रशिक्षक पनि हुन सक्छन् ।

उनले कस्तो सहयोगी टोली पाउँछन् ? यसले पनि उनको सफलताको ग्राफ निर्धारण गर्नेछ । उनको योजनाअनुसार सहयोग गर्न सक्ने सहायक प्रशिक्षक हुन सक्छन् । शरीरिक रूपमा प्रशिक्षण दिने फिजिकल ट्रेनर वा खेलाडीलाई चोटबाट टाढा राख्न मद्दत गर्ने, चोट लागेको अवस्थामा चाँडो निको बनाउन सहयोग गर्न सक्ने फिजियोले नै टोलीको सफलतामा योगदान पु¥याउन सक्दछ । क्यानले अहिले फिजिकल ट्रेनर र फिजियो मात्रै नियुक्त गरेको छ । बाँकी सहयोगी पछि नियुक्त हुनेछ, सायद ।

त्यससँगै जोडिनेछ, राष्ट्रिय टिम छनोट समिति । खेलाडी छनोटमा मुख्य प्रशिक्षकको पनि भूमिका हुन सक्छ । यद्यपि, बढी मात्रामा यो जिम्मेवारी टिम छनोट समितिको हुनेछ । क्यानले अहिले पूर्वकप्तान उत्तम कर्माचार्यको नेतृत्वमा टिम छनोट समिति बनाएको छ । समितिमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अरुण अर्याल सदस्य छन् । दुई सदस्यीय यो समितिले अझै पूर्णता पाउन बाँकी छ । यी सहयोगी टोलीको भूमिकाले पनि प्रशिक्षक वाटमोरको सफलता र असफलतालाई निर्धारण गर्नेछन् ।