१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
लन्डन
२०७७ माघ १० शनिबार ०७:५४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

Read Time : > 2 मिनेट
लन्डन
२०७७ माघ १० शनिबार ०७:५४:००

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बुधबार नेपोलीविरुद्ध दुई गोल गर्दै विश्व फुटबल इतिहासमा सर्वाधिक ७ सय ६० गोलको विश्व कीर्तिमान राख्न सफल भए । उनले चेक रिपब्लिकनका जोसेफ विकानको रेकर्ड तोडेका हुन् । रोनाल्डोले स्थापित गरेको रेकर्डको २४ घन्टा नबित्दै विवाद उत्पन्न भएको छ । रोनाल्डोले विकानको रेकर्ड तोड्न अझै ६२ गोल गर्नुपर्ने चेक रिपब्लिकन फुटबल संघले दाबी प्रस्तुत गरेको छ । संघका अनुसार विकानका ६२ आधिकारिक गोल अझै लुकेको छ । त्यो संख्या जोड्दा विकानले करिअरमा ८ सय २१ गोल गरेको देखिन्छन् । यही डाटा अगाडि सार्दै चेक फुटबल संघले रोनाल्डोको कीर्तिमान आफूहरूले नमान्ने र विकानकै गोल संख्या विश्व कीर्तिमानकै रूपमा रहेको जनाएको छ । 

विश्व फुटबलमा रहेको डाटाअनुसार विकानको नाममा ७ सय ५९ गोल मात्र छ । विकानले एक सिजनमा २६ खेलबाट ५३ गोल गरेका थिए । तर, त्यो डाटा आधिकारिक रूपमा अहिलेसम्म समावेश नगरिएको चेक फुटबल संघको भनाइ छ । चेक फुटबल संघले फुटबल इतिहासमा धेरै व्यक्तिगत गोल गर्ने को भनी प्रश्न उठाएको छ । ‘विश्वकै उत्कृष्ट गोलस्कोरर र गोलकर्ता को हुन् ?’ फुटबल संघले ट्विटर गरी प्रश्न उठाएको छ । फुटबल संघले विकानले करिअरमा ८ सय २१ गोल गरेको घोषणासमेत गरेको छ । 

‘इतिहास र डाटा हेर्ने हो भने अलटाइम गोलस्कोरर महान् खेलाडी जोसेफ विकान नै हो, हामी यो घोषणा गर्छौँ कि उनले ८ सय २१ गोल गरेका थिए, उनी नै हाम्रो र विश्वको नजरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा पर्छन्,’ चेक फुटबल संघका अधिकारी जारोस्लाम कोलारले भने । अल टाइम गोल स्कोररको लिस्टको पहिलो स्थानमा पुगेपछि रोनाल्डोले केही पनि प्रतिक्रिया दिएका छैनन् । तर, चेक फुटबल संघका अधिकारी कोलारले विश्व फुटबलमा उत्कृष्ट गोलस्कोरर को भनी प्रश्न उठाउँदै यसमा छलफल हुनुपर्ने धारणा राखेका छन् । 

उनले यो निर्णय विवादस्पद हुनेसमेत औँल्याएका छन् । भन्छन्, ‘जोसेफ विकान र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट अल टाइम गोलस्कोरर हुन्, यसको उत्तर विवादास्पद हुन सक्छ ।’ फुटबल संघले सुरुदेखि नै विकानको गोल डाटा समावेश गरेको जनाएको छ । डाटा संकलन गर्ने नियमनकारी संस्थासँग समन्वयन गर्न नसक्दा यस्तो समस्या आएको कोलारले बताए । 

चेक रिपब्लिकन फुटबल संघले जोसेफ विकानले आधिकारिक रूपमा ८ सय २१ गोल गरेको दाबी गरेको छ, रोनाल्डोले उनको कीर्तिमान तोड्न थप ६२ गोल गर्नुपर्ने भनाइ संघको छ 
 

‘चेक फुटबल संघ र सम्बन्धित डाटा संकलन गर्ने संस्थाबीच राम्रो तालमेल हुन सकेन, यसै कारण अहिले यो विवाद आएको हो,’ उनले भने, ‘हामीले यसबारेमा धेरै अध्ययन तथा अनुसन्धान गरेका छौँ, सन् १९५२ सम्म ८ सय ५ गोल गरेको डाटा समावेश छ ।’ विकासनले दोस्रो डिभिजनको क्लब राडेक क्रलोभबाट खेल्दा गरेको गोल संख्या समावेश नभएको उनले दाबी गरेको छन् । ‘दोस्रो डिभिजनाबाट खेल्दा कुनै पनि गोल डाटामा समावेश भएको छैन, अझ २६ खेलमा गरेको ५३ गोल संख्या अझै मिसिङ भइरहेको छ,’ कोलार भन्छन्, ‘हामीलाई अझै शंका छ, विकानले घरेलु लिग, कप तथा अन्तर्राष्ट्रिय फुटबलमा गरेका गोल डाटा नै अपूरो छ जस्तो लाग्छ ।’ 

चेक रिपब्लिकन फुटबलअन्तर्गत डाटा संघ कमिटीले निकालेको गोल संख्याको आधारमा विकान नै अल टाइम गोल स्कोरर भएको उनको भनाइ छ । भन्छन्, ‘हामी जोसेफ विकानले करिअरमा आधिकारिक रूपमा ८ सय २१ गोल गरेको मान्छौँ, यसको अर्थ हो, रोनाल्डो अझै पनि सर्वकालीन गोलस्कोरर होइनन, अझै उनले विकानको रेकर्ड तोड्न थप मिहिनेत गर्नुपर्छ ।’ विकानले सन् १९३० देखि १९५४ सम्म फुटबल खेलेका थिए । यसबीचमा उनले १९३८ देखि १९४८ स्लाभिया प्रागुएका लागि फुटबल खेल्दा धेरै गोल गरेका थिए । करिअरमा उनले ती दुई राष्ट्रका जर्सी लगाए । सन् १९३३ र १९३६ मा अस्ट्रिया र १९३८ र १९४९ मा चेकोस्लाकियाका  राष्ट्रिय टोलीबाट खेले । 

सन् १९३४ मा विकानकै उत्कृष्ट प्रदर्शनमा अस्ट्रिय विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । त्यस समयमा उनले २ सय ७४ खेलमा ५ सय ३४ गोल संख्या पुर्‍याइसकेका थिए । उनले नौ वर्ष स्लाभिया प्रागुएबाट खेले । विश्व फुटबलमा एक खेलाडीले करिअरमा आधिकारिक कति गोल गरे भन्ने सधैँ विवादित नै बनेको छ । 

ब्राजिलका पेले तथा रोमारियाले आफूहरूद्वारा हजार गोल गरेको बताउँछन् । एमेच्योर, अनअफिसियल तथा मैत्रीपूर्ण खेलमा गरी हजारभन्दा बढी गोल गरेको पेले र रोमारियोले दाबी गर्दै आइरहेका छन् । आधिकारिक डाटाअनुसार विश्व कीर्तिमान बनाएका रोनाल्डोले युभेन्ट्सबाट ८५, स्पोटिङ लिस्बोनबाट ५, म्यानचेस्टर युनाइेटडबाट ११८, रियल म्याड्रिडबाट ४ सय ५० तथा पोर्चुगलको राष्ट्रिय टोलीबाट १ सय २ गोल गरेका छन् । 

एजेन्सीहरूको सहयोगमा