मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडौं
२०७७ माघ १० शनिबार १०:०१:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

कूटनीतिक पहल नहुँदा ज्यालामा ठगिँदै महिला आप्रवासी श्रमिक

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
२०७७ माघ १० शनिबार १०:०१:००

दोलखा घर भएकी ३४ वर्षीया सुशीला खड्का तीन वर्षअगाडि काठमाडौंस्थित ब्लू स्काई म्यानपावरबाट रोजगारीका लागि कतार पुगेकी थिइन् । म्यानपावर कम्पनीलाई १ लाख ३० हजार बुझाएर गएकी उनी कतारस्थित ददमोर कम्पनीमा काम गर्थिन् । कोरोना संक्रमणअघिसम्म राम्रै काम भइरहेको उनको कम्पनी कोरोनाको महामारीपछि बन्द हुने अवस्थामा पुग्यो । कम्पनी बन्द हुने अवस्थामा पुगेपछि उनको रोजगारी गुम्यो, लामो समय कतारमै बेरोजगार बस्न बाध्य भइन् । सात महिना काम गरेको पारिश्रमिक पनि पाइनन् । कतारमा काम नपाएपछि साथीहरूसँग सहयोग मागेर उनी अहिले नेपाल फर्किएकी छिन् ।  

सिन्धुपाल्चोकी ३५ वर्षीया मनमाया तमाङ पनि कुवेतमा राम्रो कमाइ हुने सुनेर साथीहरूको सल्लाहअनुसार स्थानीय एक दलालको सम्पर्कमा पुगिन् । दलालमार्फत कुवेत जान म्यानपावर गएकी उनी कम्पनीले इजिप्ट राम्रो भएको भनेपछि त्यतै जाने निधो गरिन् । सोहीअनुसार म्यानपावर कम्पनीलाई उनले १ लाख ५० हजार र पासपोर्ट बुझाइन् । पासपोर्ट बुझाएको तीन महिनामा कम्पनीले उनलाई इजिप्टको भिसा पनि दियो ।

साथै, दुबईको भिजिट भिसा पनि हातमा दियो । म्यानपावरको सेटिङमा उनी दुबई हुँदै इजिप्ट पुगिन् । इजिप्ट पुगेपछि चारवटा दलालले उनलाई चार ठाउँ घुमाउँदै एउटा घरमा लगेर राखे । दुई दिनपछि काम गर्ने घरका मानिसले उनलाई लिन आए । उनले त्यो घरमा ६ महिना काम गरिन् । तर, मालिकले अमानवीय व्यवहार गरे । ‘हप्तामा एकपटक मात्रै राम्ररी खान दिन्थे । कसैसँग पनि सम्पर्क गर्न दिएनन् । पारिश्रमिक पनि दिएनन्,’ उनले भनिन् । ६ महिनापछि भने उनले साउदीमा रहेको भाइमार्फत इजिप्टस्थित काउन्सलरको सम्पर्कमा पुगिन् । काउन्सलरको सल्लाहबमोजिम उनले अर्को घरमा काम गर्न थालिन् । त्यो घरमा उनले करिब चार वर्ष काम गरिन् । तर, नेपाल फर्कने वेलामा घरमालिकले विभिन्न बहाना बनाई ६ महिनाको पारिश्रमिक नै दिएनन् । 

शारीरिक रूपमा अशक्त श्रीमान् र आर्थिक संकटले घेरिएकी झापाकी ४० वर्षीया विमला अधिकारी छोरीको टाउकोमा समस्या भएपछि झनै आर्थिक संकटमा परिन् । छोरीको उपचारका लागि घडेरी नै बैंकमा राखेर ३ लाख कर्जा लिएर उपचार गराइन् । तर, बंैकको ब्याज र किस्ता भुक्तानी गर्न नसकेपछि उनले वैदेशिक रोजगारीमा जाने निधो गरिन् । चिनेजानेका प्रकाश सुनुवारले ग्लोबल म्यानपावर कम्पनीमार्फत उनलाई अवैधानिक बाटोबाट कुवेत पुर्‍याए । ‘म्यानपावरले पहिला मलाई दिल्ली लग्यो । दिल्लीमा चार दिन बसँे । त्यसपछि दुबई हुँदै कुवेत लग्यो,’ उनले भनिन् ।  

केही वर्ष काम गरी बैंकको कर्जा तिर्ने सोचमा कुवेत पुगेकी अधिकारी अर्को फन्दामा परिन् । कुवेतमा काम गर्ने परिवारमा ६ महिनाको बच्चासहित ६ जनाको काम उनी एक्लैले गर्नुपथ्र्यो । त्यति काम गर्दा पनि घरमालिकले २४ घन्टामा एक छाक मात्रै खान दिने गरेको उनले सुनाइन् । ‘दिनमा एक छाक खान दिन्थे । दिसापिसाब गर्न पनि उनीहरूसँग अनुमति लिनुपथ्र्यो । केही गल्ती भयो भने हात नै हाल्थे,’ उनले भनिन् । घरमालिकको यस्तो व्यवहार सहन नसकेपछि चार महिनामा उनी भागेर कुवेतस्थित नेपाली दूतावास पुगिन् । दूतावासले आश्रय त दियो, तर नेपाल फर्काउन सकेन ।

दुई महिना दूतावासमा नै बसिन् । त्यति नै वेला उनका घरमालिकले उनलाई घरबाट भागेको मुद्दा लगायो । कुवेत प्रहरीले उनलाई दुईवटा जेलमा ११ दिनसम्म राख्यो । त्यसपछि कुवेत प्रहरीले नै उनलाई नेपाल फर्काइदियो । यति दुःख पाएर पनि अधिकारीले काम गरेको पारिश्रमिक भने पाइनन् । बैंकको कर्जाबाट घर–घडेरी उकास्न कुवेत हिँडेकी अधिकारी रित्तो हात फर्किइन् ।  

माथिका घटना उदाहरण मात्रै हुन् । वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली श्रमिकहरू ज्यालामा ठगिने गरेका छन् । तोकेको समयभन्दा बढी काम गर्नुपर्ने, बढी काम गरे पनि रकम भुक्तानी नहुने, कम्पनीले सम्झौताअनुसारको पारिश्रमिक नदिने, महिनौँसम्म पनि पूरै पारिश्रमिक नदिनेलगायतका समस्या नपाली श्रमिकले व्यहोर्दै आएका छन् । कोरोना संक्रमणपछि नेपाल फर्कने अधिकांश श्रमिकले ६ महिनासम्मको पारिश्रमिक नै नपाएको पीडितहरूले बताए । 

महिला श्रमिक झनै ठगीमा
वैदेशिक रोजगारीमा गएका श्रमिकहरूमा महिलाहरू ज्यालामा बढी ठगिने गरेको पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले बताइन् । नेपाल सरकारले घरेलु श्रमिकलाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध गरेको छ । तर, अवैधानिक बाटो हुँदै घरेलु श्रमका लागि खाडी मुलुक जाने नेपाली महिला उत्तिकै छन् । यस्ता महिला श्रमिक बढी रोजगारदाताबाट ठगिने गरेको गुरुङको अनुभव छ । अवैधानिक रूपमा जाने महिला श्रमिकसँग कानुनी कागजपत्र केही पनि हुँदैन । जसका कारण रोजगारदाताले सहजै ठग्ने गरेको उनले बताइन् । ‘महिलाहरू गैरकानुनी रूपमा जाने हुँदा कानुनी कागजपत्र केही हुँदैन । त्यसैले ठगिँदा पनि न त सम्बन्धित मुलुकमा नै कानुनी उपचार पाउँछन्, न त नेपाल आएपछि नै पाउँछन्,’ उनले भनिन् । 

विभागसम्म उजुरी नै आउँदैन
वैदेशिक रोजगारीमा ठगिएका श्रमिकहरूमध्ये धेरै कमले मात्रै विभागमा उजुरी दिने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । विभिन्न संघ–संस्थाबाट श्रमिकहरूको समस्या सुनिएपछि औपचारिक माध्यमबाट श्रमिकहरूले विभागमा उजुरी नदिने गरेको उनले बताए । ‘श्रमिक ठगिएका हुन् भने उनीहरूले कानुनी उपचार पाउनुपर्छ । यसका लागि उजुरी दिनुहोस् भनेर हामीले बारम्बार आह्वान गरिरहेका छाँै । बाहिर समस्या जति छ, त्यति विभागमा उजुरी आउँदैन,’ उनले भने । 

कूटनीतिक पहलको कमी
वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली श्रमिकहरू कुनै न कुनै तरिकाले ज्यालामा ठगिने गरेको पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले बताइन् । तर, यस विषयमा छलफल कम हुँदा के–कति समस्या परेका छन् भन्ने यकिन तथ्यांक नभएको उनको भनाइ छ । ‘हाम्रो संस्थासम्म आइपुग्ने अधिकांश वैदेशिक रोजगारीका समस्या ज्यालासँग जोडिएका छन् । कतिले महिनौँसम्मको ज्याला नै नपाई फर्किएका छन् । कतिले तोकेभन्दा कम ज्याला पाएका छन्,’ उनले भनिन् । यसलाई मात्रै नमुना मान्ने हो भने धेरै नेपाली श्रमिक विदेशमा ज्यालामा ठगिने गरेको उनको दाबी छ । 

ज्यालाको समस्यालाई सम्बोधन गर्न सरकारले नै कूटनीतिक पहल गर्नुपर्ने उनले सुझाइन् । ‘ज्याला पाउने श्रमिकको न्यूनतम अधिकार हो । यसलाई कार्यान्वयन गराउन सरकारले श्रम कूटनीतिक पहल गर्नुपर्छ । विदेशी मुलुकसँग श्रम सम्झौता गर्दा पनि यस विषयलाई महत्वका साथ राखिनुपर्छ,’ उनले भनिन् ।